ad ad

राजनीति


उपेन्द्र यादव : चार महिना, चार दौड

उपराष्ट्रपति जसरी पनि जसपाको भागमा किन पार्न चाहन्छन् यादव?
उपेन्द्र यादव : चार महिना, चार दौड

सीताराम बराल
माघ ७, २०७९ शनिबार १८:५७, काठमाडौँ

सभामुख पदका लागि बिहीबार (५ माघ) भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) ले कसको पक्षमा मतदान गर्ला, निर्वाचनका लागि प्रतिनिधि सभाको बैठक बस्नु अघिसम्म अनुमान गर्न सकिने स्थिति थिएन। 

जसपा अध्यक्ष उपेन्द्र यादवले १० पुसमा प्रधानमन्त्रीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा पार्टीको तर्फबाट अन्तिम समयमा हस्ताक्षर गरेका थिए। यसै आधारमा ३ माघमा विस्तारित मन्त्रिमण्डलमा जसपा सहभागी हुने अपेक्षा गरिएको थियो।    

तर, मन्त्रिमण्डलमा सत्ता–साझेदार सबैजसो दलको प्रतिनिधित्व हुँदा जसपा सहभागी भएन। अपेक्षा गरेअनुसारका मन्त्रालय नपाएको जनाउँदै यादव आफ्नो दललाई तत्काल सरकारमा सहभागी नगराउने निर्णयमा पुगे।  

असन्तुष्ट यादव त्यसको भोलिपल्ट (४ माघ) कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगे। सभामुख उम्मेदवारको छलफलका लागि उनी देउवा निवास पुगेका थिए। देउवा–यादव भेटसँगै जसपा सत्ता–गठबन्धन त्यागेर फेरि कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा फर्कने सन्देश प्रवाह भयो। 

तर फेरि अचम्म के भयो भने अघिल्लो दिन (४ माघ) देउवालाई भेटेर सभामुख निर्वाचनमा कांग्रेसलाई सघाउने सन्देश प्रवाह गरेका यादवले ५ माघमा भने एमाले उम्मेदवार देवराज घिमिरेकै पक्षमा मतदान गर्न जसपाका सांसदहरुलाई अह्राए।

चार महिना, चार दौड 
जसपा अध्यक्ष यादव पछिल्लो समय राजनीतिक रुपमा कति अस्थिर हुँदै गएका छन्, यो बुझ्न ३ माघ (मन्त्रिमण्डलमा सहभागी हुन अस्वीकार), ४ माघ (सभामुखका विषयमा देउवासँग छलफल) र ५ माघ (एमाले उम्मेदवारका पक्षमा मतदान) का घटना काफी छन्। 

तीन दिनभित्रका उनका फरक–फरक निर्णयले अध्यक्ष यादवको रोजाइमा कतिबेला कुन गठबन्धन पर्छ, अनुमान गर्न कठिन हुन थालेको छ। गठबन्धन रोजाइका सन्दर्भमा पछिल्ला चार महिनायता यादवले लगातार यस्तै अस्थिर प्रवृत्ति दोहोर्याउँदै आएका छन्।  

असोज (२०७९) मध्यताकासम्म यादव नेतृत्वको जसपा कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादी सहितको तत्कालीन सत्ता गठबन्धनमा थियो। ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन–२०७९ मा पनि जसपाले त्यही गठबन्धनमा सामेल भएर प्रतिस्पर्धा गरेको थियो। 

तर, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका सन्दर्भमा असन्तुष्टि जनाउँदै १५ असोजमा यादवले सत्ता गठबन्धनबाहेकका अन्य दलसँग पनि तालमेल गर्न सकिने निर्णय गरे। यही निर्णयको टेको लिएर २२ असोजमा उनले एमालेसँग चुनावी गठबन्धन गर्ने निर्णय गरे। त्यसैदिन एमाले–जसपाबीच सिट बाँडफाँटका साथ आमनिर्वाचन–२०७९ मा गठबन्धन गरेर जाने लिखित सहमति भएपछि जसपा तत्कालीन सत्ता गठबन्धनबाट औपचारिक रुपमा अलग भयो। 

एमालेसँगको गठबन्धन पनि अध्यक्ष यादवले दुई महिनाभन्दा बढी लम्ब्याउन चाहेनन्। जसै प्रत्यक्षतर्फको निर्वाचनको अन्तिम मतगणना परिणाम सार्वजनिक भयो, काठमाडौँ फर्कने क्रममा १८ मंसिरमा विराटनगरबाटै अध्यक्ष यादवले एमालेसँगको सहकार्य (गठबन्धन) तोडिएको एकपक्षीय घोषणा गरिदिए। 

अब उनको सामीप्य कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादीसहितको पुरानै गठबन्धनतर्फ बढ्न थाल्यो। प्रधानमन्त्रीको उम्मेदवार चयनका लागि बालुवाटारमा हुने तत्कालीन सत्ता गठबन्धनको बैठकमा यादव पनि सहभागी हुन थाले।

पहिलो चरणमा प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सहमति हुन नसक्दा १० पुसमा कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धन पनि तोडियो। एमाले नेतृत्वमा–माओवादी केन्द्र लगायतका दलहरुको नयाँ गठबन्धन निर्माण भयो। र, यो नयाँ गठबन्धनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्यो। 

यो नयाँ परिस्थिति निर्माणसँगै यादव फेरि एमाले–माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा सामेल हुन पुगे। जबकि १० पुस बिहानसम्म उनी पनि देउवा–प्रचण्डसँगै बालुवाटार बैठकमा सहभागी थिए।  

प्रचण्ड प्रधानमन्त्री बनेयता उनी एमाले–माओवादी केन्द्रसहित सत्ता–साझेदार दलहरुको बैठकमा सहभागी हुने गरेका छन्। तर, असोजयता ‘कहिले यता’ र ‘कहिले उता’ गरिरहेका यादवको अस्थिर चरित्र हेर्दा लाग्छ, जुनकुनै बेला वर्तमान सत्ता गठबन्धन त्याग गरेर कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा सामेल हुन पनि सक्छन्।

जहाँ फाइदा, त्यहाँ उपेन्द्र 
अध्यक्ष यादवले लाभ–हानिका आधारमा गठबन्धन छाड्ने–रोज्ने निर्णय गरेका हुन् भन्न हिच्किचाउनु पर्दैन। राजनीतिक परिस्थिति अनुसार गठबन्धनमा जोडिने र निस्कने उनको निर्णयले यही देखाउँछ।  

यादव नेतृत्वको संघीय समाजवादी फोरमले आम निर्वाचन–२०७४ मा राष्ट्रिय जनता पार्टी (राजपा) सँग गठबन्धन गरेर चुनाव लडेको थियो। तर, निर्वाचनमा जसै वाम गठबन्धनले बहुमत हासिल गर्यो, यादव वाम गठबन्धनसँग नजिकिए। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारमा सामेल भए। 

त्यसअघि दुई पटक उपप्रधानमन्त्री भइसकेका थिए यादव। तर, उनी ओली नेतृत्वको सरकारमा सुरुमा मन्त्री (स्वास्थ्य) का रुपमा मात्र सहभागी भए। एमाले नेता ईश्वर पोखरेल उपप्रधानमन्त्री सहित मन्त्रिमण्डलमा सहभागी हुने भएपछि मात्र यादवले उपप्रधानमन्त्री बन्ने अवसर पाएका हुन्।  

तर, ओलीले यादवलाई लामो समय सरकारमा राख्न चाहेनन्। यादवलाई उनले अपमानजनक रुपमा कानुन मन्त्रालयमा सरुवा गरिदिए। यो अपमानका बाबजुद यादव केही समय सोही मन्त्रालयमै रहे। केही दिनपछि उनले राजीनामा दिए। 

नेकपा विभाजनसँगै नयाँ राजनीतिक परिस्थिति सिर्जना भएपछि यादव कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धनमा सामेल भए। गत निर्वाचनमा सिट बाँडफाँटमा चित्त नबुझेपछि उनले फेरि कांग्रेस–माओवादी–एकीकृत समाजवादीसहितको गठबन्धन त्यागे र एमालेसँग गठबन्धन गर्न पुगे। 

निर्वाचन परिणाम आउन थाल्दै गर्दा तत्कालीन सत्ता गठबन्धन बहुमतको नजिक पुग्ने देखिएपछि एमालेसँगको गठबन्धन तोड्ने घोषणा गर्न उनले ढिलाइ गरेनन्। त्यसपछि उनी कांग्रेस–माओवादी केन्द्रसहितको सत्ता गठबन्धनका नेताहरुसँगै बालुवाटार बैठकहरुमा देखिन थाले। 

खासमा निर्वाचनपछि कांग्रेस–माओवादीसहितको सरकार बन्ने ठहर र नयाँ सरकारमा सहभागी हुने योजनाका साथ यादवले आफ्नो दल एमाले गठबन्धनमा नरहेको घोषणा गरेका थिए। 

तर, प्रधानमन्त्रीमा सहमति हुन नसक्दा कांग्रेस–माओवादीसहितको गठबन्धन अकस्मात टुट्यो। अकस्मात एमाले–माओवादी केन्द्रसहितको नयाँ गठबन्धन निर्माण भयो। त्यसपछि उनी फेरि एमाले–माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा सामेल हुन पुगे। 

यो निर्णयको उदेश्य पनि आकर्षक मन्त्रालयसहित सरकारमा जाने नै हो। त्यहीकारण ३ माघ अघिसम्म उनी गठबन्धनका बैठकहरुमा सहभागी भइरहे।  

तर, जसपालाई आकर्षक मन्त्रालय दिन ओली र प्रचण्ड तयार देखिएनन्। जसपाका लागि दुई मन्त्रालय मात्र छुट्ट्याइएको छ, त्यो पनि वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुदजस्ता कम प्राथमिकताका। त्यही कारण यो गठबन्धनमा रहने वा परित्याग गर्ने भन्ने दोधार यादवमा बढेको छ। 

सभामुखको उम्मेदवारीअघि ४ माघ यादवको धुम्बाराही दौड तर मतदानका दिन एमाले उम्मेदवार देवराज घिमिरेकै पक्षमा जसपा सांसदहरुको मतदान त्यसैको उपज हो।  

उपराष्ट्रपतिमा अर्जुनदृष्टि
जानकारहरुका भनाइमा संवैधानिक पदहरुको भागबण्डामा जसपा पर्ने सम्भावना कम देखिनु यादवको दोधार र बेचैनीको दोस्रो कारण हो। 

कांग्रेस–माओवादी केन्द्रसहितको तत्कालीन सत्ता गठबन्धन पहिलो चरणमा देउवा कि प्रचण्ड प्रधानमन्त्री बन्ने भन्ने विवादका बीच टुटेको थियो। कांग्रेसको भागमा राष्ट्रपति पक्का थियो। उपराष्ट्रपतिको विषयमा भने गठबन्धनमा आबद्ध दलबीच छलफल सुरु भइसकेको थिएन। 

यादव भने उपराष्ट्रपतिको उम्मेदवार जसपाबाट हुनेमा आशावादी थिए। किनभने माओवादीलाई सभामुख र प्रचण्डलाई दोस्रो चरणमा प्रधानमन्त्री दिन कांग्रेस राजी थियो। यस्तोमा बाँकी रहेको उपराष्ट्रपति जसपाले प्राप्त गर्ने सम्भावना थियो। तर, प्रचण्डले पहिलो चरणको प्रधानमन्त्री नपाएपछि गठबन्धन टुट्यो। 

प्रचण्डलाई प्रधानमन्त्री बनाउनुअघि नयाँ गठबन्धनसँग सबै प्रमुख पदहरुको निक्र्याेल गर्ने समय अभाव थियो। त्यसैले, १० पुसमा एमालेलाई राष्ट्रपति र पहिलो आधा कार्यकाल सभामुख दिने, प्रचण्ड पहिलो चरणमा प्रधानमन्त्री र दोस्रो चरणमा सभामुख माओवादीबाट बन्ने सहमतिका साथ नयाँ गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालयतर्फ दौडे। उपराष्ट्रपति कुन दलले प्राप्त गर्ने भन्ने निर्णय १० पुसको बालकोट बैठकले गर्नै भ्याएन।  

समय अभावका कारण त्यसदिन (१० पुस) उपराष्ट्रपतिबारे निर्णय नभए पनि यो जिम्मेवारी जसपाले पाउनेमा यादव आशावादी थिए। त्यसो हुँदा महासचिव रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने र त्यसपछि खाली हुने प्रतिनिधि सभाको बारा–२ सिटमा हुने उपनिर्वाचनबाट निर्वाचित हुने उनको योजना हो। 

तर, प्रचण्ड प्रधानमन्त्री बनेपछि एकातिर सत्ता गठबन्धनभित्र मन्त्रालयहरुको बाँडफाँट पेचिलो बन्यो। अर्काेतिर एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाबीचको गठबन्धन ‘इन्ट्याक्ट’ रहँदासम्म सरकारलाई बहुमत जुटाउन कठिनाइ हुने नदेखिएपछि ओली–प्रचण्डले जसपालाई भाउ दिन छाडे। उपरोक्त चारबाहेकका अन्य दललाई ‘प्रमुख’ होइन, ‘सहयोगी दल’ मा सीमित राख्दा फाइदा हुने उनीहरुले देखे।   

यादव नेतृत्वको जसपा र सीके राउत नेतृत्वको जनमत पार्टीले चाहेका मन्त्रालय नपाउनुको कारण यही हो। यस्तोमा रोजेको एउटा राम्रो मन्त्रालय त नदिनेले उपराष्ट्रपति जस्तो महत्वपूर्ण जिम्मेवारी देलान् भन्नेमा यादव विश्वस्त नहुनु स्वाभाविकै हो। 

त्यसबाहेक पछिल्लो समय माओवादीले पनि उपराष्ट्रपतिमा आँखा लगाउन थालेको बुझिन्छ। यसले गर्दा यादवमा बेचैनी बढ्नु स्वाभाविक हो। 

जानकारहरुका भनाइमा उपराष्ट्रपति जसपाको भागमा पर्ने स्थिति देखियो भने जसपाले प्राप्त गर्ने मन्त्रालयका सन्दर्भमा यादव ‘लचक’ हुन सक्नेछन्, वर्तमान सत्ता गठबन्धनमा जसपाको निरन्तरता जारी रहनेछ। तर, उपराष्ट्रपति जसपाको भागमा नपर्ने भयो भने यादवले फेरि गठबन्धन परिवर्तन गर्ने सम्भावना रहनेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .