नेकपा माओवादी केन्द्रका एकजना नेताले बैंक र सहकारीहरु जस्तै अब दलहरु पनि मर्ज हुनुपर्ने बताएका छन्।
पेरिस डाँडामा बिहीबार दिउँसो बसेको पार्टी स्थायी समिति बैठकपछि पत्रकारहरुसँग बोल्ने क्रममा उनले यस्तो बताएका हुन्।
'हामी सबै कम्युनिष्ट घटकसँग एकताको पहलमा छौँ। नेपाल समाजवादी पार्टीसँग छिट्टै एकताको टुंगो हुन्छ', बैठकपछि माओवादी सचिव देवेन्द्र पौडेलले भने, 'एकीकृत समाजवादीसँग एकताको कुरा अघि बढिसकेको छैन।'
उनले बैंक र सहकारीहरुको उदाहरण दिँदै दलहरु पनि मिल्नुपर्नेमा जोड दिए।
'एकै खालका विचार र सिद्धान्त भए पनि अलग अलग चुल्हो चौका लगाएर बेग्ला बेग्लै दौडिनुको अर्थ छैन', उनले भने, 'अरुलाई मिल्न उपदेश दिने तर आफू चाहिँ बरालिएर हिँड्नुको अब अर्थ छैन। बैंक र सहकारीहरु त ध्रुवीकरण हुन्छन्, मर्जमा गइरहेका छन् भने पार्टी पनि अब मिल्नुपर्छ। अलग अलग हिँडेर अर्थ छैन।'
प्रतिक्रिया