ad ad

राजनीति


प्रचण्ड–ओलीका लागि राष्ट्रपति निर्वाचनको ‘खड्गो’ टार्ने दुई उपाय

प्रचण्ड–ओलीका लागि राष्ट्रपति निर्वाचनको ‘खड्गो’ टार्ने दुई उपाय

सीताराम बराल
माघ १८, २०७९ बुधबार १०:१३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको नेपाली कांग्रेसलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य कुनै उदेश्य राखेर ‘ढोक्सा नथाप्न’ चेतावनी दिएका थिए, २६ पुसमा। ओलीको यो चेतावनी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षा गरेको माओवादी केन्द्रको साथप्रति लक्षित थियो। 

निर्वाचन आयोगले २५ फागुनका लागि राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। जसअनुसार १३ फागुनमा राष्ट्रपतिका उम्मेदवारहरुले मनोनयन पत्र दाखिला गर्नेछन्। र, २५ फागुनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय संसद् र प्रदेश सभाका सदस्यहरुबाट मतदान हुनेछ।  

राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा प्रचण्डसँगका भेटवार्ताहरुमा ओलीले राष्ट्रपति निर्वाचनका विषयमा घनिभूत छलफल गर्ने गरेका छन्। तर, छलफलका बाबजुद राष्ट्रपति कसलाई बनाउने भन्ने निर्णयमा ओली पुग्न सकेका छैनन्। प्रचण्डले पनि ‘अनुकूल’ ठान्ने उम्मेदवार चयन गर्नु ओलीका लागि यतिबेला मुख्य चुनौती बनेको छ। 

तर, राष्ट्रपति निर्वाचनका कारण माओवादी केन्द्रसहितको वर्तमान गठबन्धन टुट्ने हो कि भन्ने विषयले एमालेका कतिपय नेताहरु भयभीत र चिन्ताग्रस्त देखिन्छन्। सभामुख पाएको एमालेलाई राष्ट्रपति पनि दिनु हुँदैन भन्ने मत माओवादीभित्र बलियो बन्दै गएपछि एमाले नेताहरुमा राष्ट्रपति निर्वाचनका कारण गठबन्धन टुट्ने र पार्टी फेरि प्रतिपक्षमा पुग्ने हो कि भन्ने भय बढ्दै गएको हो। 

प्रचण्डको डर
एमाले अध्यक्ष ओलीले जुराइदिएको बहुमतका आधारमा प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भए। तर, ओलीले खुसीका साथ प्रचण्डलाई प्रधानमन्त्री दिएका थिएनन्। आफूविरुद्ध निर्माण गरिएको तत्कालीन सत्ता गठबन्धन तोड्नुपर्ने चुनौती ओलीसामु थियो। र, त्यही चुनौतिबाट पार पाउन ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएका हुन्। 

प्रचलित भाषामा भन्दा प्रचण्डलाई ओलीले रहरले होइन, बाध्यताले प्रधानमन्त्री बनाएका हुन्। प्रचण्डलाई प्रधानमन्त्री बनाएर अहिले सभामुख र राष्ट्रपति, अनि साढे दुई वर्षपछि प्रधानमन्त्री पनि आफ्नो ढोक्सामा पार्न खोजेको हुन्। 

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा, राष्ट्रिय जनमोर्चा सहितको गठबन्धन कायम रहेको भए यी पद एमालेले पाउने सम्भावना हुँदैनथ्यो। किनभने, प्रतिनिधि सभामा यो गठबन्धनको १ सय ३६ सदस्य छँदै थिए। जनता समाजवादी पार्टी (जसपा) पनि मिसिँदा ओलीको ढोक्सामा केही पनि नपर्ने पक्का थियो। 

त्यसैले, प्रचण्डले पाएको प्रधानमन्त्री पद तत्कालीन सत्ता गठबन्धन तोड्ने अस्त्र थियो, जसमा ओली सफल भए। प्रचण्डले नगदमा प्रधानमन्त्री पाए, सभामुख र राष्ट्रपति पदचाहिँ ओलीले एमालेका लागि पक्का गरे। एमाले नेता देवराज घिमिरे सभामुखमा निर्वाचित भइसकेका छन्। अब राष्ट्रपतिमा एमाले उम्मेदवारलाई जिताउने ओलीको योजना छ।  

यहाँनिर बुझ्नुपर्ने कुरा के हो भने कार्यकारी अधिकार भएकाले राष्ट्रपति र सभामुखको तुलनामा प्रधानमन्त्री पद शक्तिशाली भए पनि प्रतिनिधि सभाको साधारण बहुमत गुम्नासाथ प्रधानमन्त्रीले पद छाड्नुपर्ने परिस्थिति सिर्जना हुन्छ। राष्ट्रपति र सभामुखलाई हटाउनु पर्यो भने चाहिँ दुई तिहाइ बहुमत नै आवश्यक पर्छ। 

यतिबेला माओवादीको शीर्ष नेतृत्वपंक्तिमा के भय देखिन्छ भने, गठबन्धनको सबैभन्दा ठूलो दल एमाले भए पनि (सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेस निरपेक्ष बसेको स्थितिमा) रास्वपा र राप्रपाले मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिए भने सरकार ढल्ने स्थिति सिर्जना हुन्छ। यस्तो स्थिति जुनसुकै बेला पनि आउन सक्छ। 

राष्ट्रपति निर्वाचनलगत्तै यस्तो स्थिति सिर्जना भयो भने राष्ट्रपति र सभामुख भने एमालेकै कायम रहिरहन्छन्। माओवादी मतबाट एमालेले राष्ट्रपति निर्वाचन जित्ने, तर राष्ट्रपति निर्वाचनपछि आफैँ सडकमा पुग्ने स्थिति आउनसक्छ। राष्ट्रपतिमा माओवादीको साथ नपाएको कांग्रेसले पनि प्रचण्डलाई साथ दिने स्थिति रहँदैन। 

राष्ट्रपति र सभामुखको निर्वाचनलगत्तै ओलीले आफू प्रधानमन्त्री बन्नेगरी खेल सुरु गर्न सक्छन् भन्ने भय प्रचण्ड र माओवादी पंक्तिमा निकै नै देखिन्छ। 

यही कारण प्रचण्डले त्यस्तो नेता राष्ट्रपति भइदेओस् भन्ने चाहेका छन्, जसले भोलि आफूलाई अप्ठेरो सिर्जना नगरुन्, असमयमै पदबाट हट्ने स्थिति सिर्जना नहोस्। यही कारण ओलीलाई मनमौजी तवरले राष्ट्रपति उम्मेदवार तय गर्न दिने पक्षमा उनी छैनन्। 

प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने कुरा यही कारणले उठाएका हुन्।

एमालेको आशा 
राष्ट्रपति निर्वाचनमा माओवादी मत यताउति हुने हो कि भन्ने भय एमालेमा भए पनि प्रचण्डको ‘राष्ट्रिय सहमति’ को खोजीलाई ओलीले पनि अन्यथा ठानेका छैनन्। प्रचण्डले कांग्रेसको समेत विश्वासको मत प्राप्त गरेकाले ‘कर्टसी’ का लागि प्रचण्डले ‘राष्ट्रिय सहमति’ खोजेको ओलीको बुझाइ देखिन्छ। जानकार स्रोतका भनाइमा राष्ट्रपतिको उम्मेदवार तय भएपछि प्रचण्डले ‘यताउति नगर्ने’ मा ओली विश्वस्त छन्। 

प्रचण्डप्रति ओली विश्वस्त हुनुको कारण दुई वटा छन्। एक, कांग्रेस सभापति शेरबहादुर देउवाले चर्चामा ल्याएका उम्मेदवारको भू–राजनीतिक झुकाव। दुई, त्यहीकारण कांग्रेस उम्मेदवार विजयी भए प्रधानमन्त्री प्रचण्डलाई पर्न सक्ने अझ धेरै अप्ठेरो। 

१० माघमा पार्टीको पदाधिकारी बैठकमा देउवाले राष्ट्रपतिमा कांग्रेसका सम्भावित उम्मेदवारका रुपमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अघि सारेका थिए। हुनसक्छ, माओवादीसँग कुरा मिलेमा पौडेल र नमिलेमा सिटौला उम्मेदवार बन्नेछन्। माओवादीसँग औपचारिक गठबन्धन नभए पनि सिटौलाले माओवादीको मत समेत प्राप्त गर्न सक्ने धेरैको अनुमान छ।  

प्रधानमन्त्री छँदा ओलीले दुईदुई पटक संसद विघटन गरेपछि कांग्रेस–माओवादी सहितको गठबन्धन निर्माणमा पौडेलले महत्वपूर्ण भूमिका खेलेका थिए। सिटौलाको भूमिका चाहिँ प्रचण्डसँग निकट रहेर शान्ति प्रक्रियालाई अघि बढाउन महत्वपूर्ण थियो। देउवाले राष्ट्रपतिका सम्भावित उम्मेदवारका रुपमा यी दुई नेताको नाम अघि सार्नुको कारण यही हो। 

तर, प्रचण्डले पौडेल वा सिटौलाको भन्दा आफ्नो हित हेर्ने भएकाले कांग्रेसको हिसाब फेल खाने बुझाइ एमालेको छ।  

‘अमेरिका र भारत दुवै शक्ति प्रचण्डलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउन चाहन्छन्। २ पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन वचन दिएका देउवाले पछि वचन पालन नगर्नुको एउटा कारण भूराजनीतिक खेल पनि थियो,’ एमाले स्रोतले विश्लेषण सुनायो, ‘राष्ट्रपति निर्वाचनपछि आफूलाई असमयमै हटाउने खेल हुन्छ भन्ने भय प्रचण्डमा छ भने त्यस्तो सम्भावना कांग्रेसबाट राष्ट्रपति बनेपछि बढी हुन्छ। यो कुरा प्रचण्डले पनि नबुझेका छैनन्। ओली–प्रचण्डको भेटमा भू–राजनीतिक खेलका विषयमा पनि कुराकानी हुने गरेको छ।’ 

एउटा तथ्य के पनि छ भने जब आमनिर्वाचन–२०७९ को परिणाम आउँदै गर्दा नेपाली कांग्रेसले राष्ट्रपति आफूले लिने निर्णय मात्र गरेन, सरकारको नेतृत्व आफैँले गर्ने अडान पनि सार्वजनिक गर्यो। यसैअनुसार प्रधानमन्त्रीका लागि दाबी गर्ने दिन (१० पुस) को मध्यान्हसम्म देउवाले प्रधानमन्त्री दाबी गरिरहे। कांग्रेस–माओवादीसहितको गठबन्धन टुट्नुको जग कांग्रेसको त्यही निर्णयले बसालेको थियो। 

प्रधानमन्त्री बनेपछि प्रचण्डले २६ पुसमा कांग्रेसबाट पनि विश्वासको मत पाए। तर, कांग्रेसबाट पाएको त्यो ‘धोका’ प्रचण्डले बिर्सेका छैनन्। कांग्रेसबाट राष्ट्रपति बन्नासाथ देउवालाई प्रधानमन्त्री बन्ने–बनाउने खेल भइहाल्छ भन्ने प्रचण्डले नबुझेका छैनन्। यो कारणले पनि राष्ट्रपति निर्वाचनको परिणाम सकारात्मक हुने आशामा एमाले नेताहरु देखिन्छन्। 

‘१० पुसमा भएको सहमति अनुसार साढे दुई वर्षपछि प्रचण्ड प्रधानमन्त्रीबाट हट्लान् तर सँगसँगै सभामुख माओवादीले पाउँछ,’ नाम बताउन नचाहने एमालेका एक पदाधिकारीले भने, ‘तर, कांग्रेसका नेता राष्ट्रपति बने भने प्रचण्डको प्रधानमन्त्री पद त सुरक्षित हुँदैन नै, माओवादीले सभामुख पनि पाउँदैन। अनि किन प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्छन्?’

सतर्क ओली 
२०७४ मा जस्तै मनमौजी तवरले राष्ट्रपतिको उम्मेदवार चयन गर्ने पक्षमा अहिले ओली पनि छैनन्। एमालेका ती नेताको भनाइमा ओलीले जसलाई राष्ट्रपतिको उम्मेदवार बनाउँछन्, प्रचण्डको समेत समर्थन प्राप्त गरेर मात्र ती नेतालाई उम्मेदवारका रुपमा अघि सार्नेछन्। 

संविधान जारी भएपछिको राष्ट्रपति निर्वाचनका लागि भने ओलीले विद्यादेवी भण्डारीको नाम पार्टी बैठकमा प्रस्ताव गरेका थिए। राष्ट्रपतिमा झलनाथ खनाल, सुवास नेम्वाङ लगायतका नेताहरु पनि आकांक्षी थिए। तर, भण्डारीलाई राष्ट्रपति बनाउने ओलीको चाहना बुझेपछि ओलीको प्रस्तावमा कसैले विमति राखेनन्। २०७४ मा पनि त्यस्तै भयो।

एमालेभित्रै त ओलीको प्रस्तावप्रति कसैले प्रश्न गर्न सक्दैनथे भने भागबण्डामा एमालेले पाएको राष्ट्रपति ‘फलानालाई बनाऊ’ भन्नसक्ने स्थितिमा प्रचण्ड पनि थिएनन्। राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादीले लिने पूर्वसहमति नै थियो। अर्काेतिर राष्ट्रपति भण्डारी त्यो बेला विवादमा परिसकेकी पनि थिइनन्। 

तर, अहिले त्यस्तो स्थिति छैन। राष्ट्रपति भण्डारी पटक–पटक विवादमा परिसकेकी छन्। यो नजिरका आधारमा ‘अलि विवादित नहुने खालको पात्रलाई राष्ट्रपति बनाऊँ है!’ भन्न प्रचण्डलाई सहज छ। एमाले उम्मेदवार निर्वाचित हुन माओवादी मतभार निर्णायक हुने भएकाले पनि प्रचण्डलाई यति भन्नसक्ने ‘अधिकार’ छ। कि प्रचण्डको सुझाव मान्नुपर्यो, कि राष्ट्रपति गुमाउन तयार हुनुपर्यो। ओलीका अगाडि अर्काे विकल्प छैन।

माओवादीलाई विश्वासमा नलिँदा परिणाम प्रतिकूल हुनसक्ने भएकाले यसपटक ओली ‘आवेग’ भन्दा ‘विवेक’ का आधारमा चल्न खोजिरहेका देखिन्छन्। 

‘प्रचण्ड प्रधानमन्त्री भएयता दुई नेताबीच दर्जनभन्दा बढी पटक भेट भइसक्यो, ती भेटमा राष्ट्रपति उम्मेदवारका विषयमा छलफल भएका छन्,’ एमालेका अर्का एक केन्द्रीय सदस्यले भने, ‘यसको मतलब के हो भने, प्रचण्डलाई चित्त बुझाउन सके मात्र सफलता प्राप्त गर्न सकिन्छ भन्ने ओलीको सोचाइ देखिन्छ।

त्यहीकारण उहाँले यस विषयमा आफ्नो स्वभाव विपरीत प्रचण्डसँग निरन्तर संवाद गरिरहनु भएको छ। माओवादी बिच्किएर राष्ट्रपति पद नगुमोस् भन्नेमा ओली निकै सतर्क देखिनुहुन्छ।’

एमाले–माओवादीसहितको वर्तमान सत्ता गठबन्धनका लागि सबैभन्दा ठूलो ‘खड्गो’ राष्ट्रपति निर्वाचन हो। यो खड्गो टार्ने दुई उपाय छन्। एक, एमालेले माओवादीले पनि भर गर्नसक्नेलाई प्रतिस्पर्धामा उतार्ने। दुई, माओवादीले पनि आफ्ना सबै मत एमाले उम्मेदवारलाई दिने। यति हुँदा एमाले–माओवादीबीच थप विश्वासको वातावरण निर्माण हुन्छ। र, प्रचण्डको तोकिएको साढे दुई वर्षे प्रधानमन्त्रीको कार्यकाल ओलीले सुरक्षित गरिदिन सक्छन्। 

‘स्थिति यसैतर्फ उन्मुख छ,’ एमालेका ती पदाधिकारीले भने, ‘त्यसैले, राष्ट्रपति निर्वाचनले एमाले–माओवादीबीच दरार पैदा हुने स्थिति तत्कालका लागि छैन।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .