राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवनका किसानले सडकमै तरकारी फ्याकेको घटनाबारे बोलेका छन्।
मंसिर ४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट विजयी उनले गत माघ १३ गतेको सर्वोच्च अदालतको आदेशबाट सांसद पद गुमाइसेका छन्।
सांसद गुमाइसकेपछि तनावमा रहेका उनले किसानहरुको समस्या समाधानमा लागिपर्ने बताएका छन्।
रविले प्रतिकेजी ५ रुपैयाँमा पनि नबिकेपछि किसानले सडकमै तरकारी फ्याक्नुपर्ने बाध्यतामा रहेको उल्लेख गरेका छन्।
'प्रतिकेजी ५ रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फाल्नु पर्ने बाध्यतामा छन् देशका किसान', उनले भनेका छन्, 'देशका किसानले उत्पादन गरेको तरकारीको मूल्य छैन, बजार छैन।'
उनले किसानले तरकारी फ्याक्नुपर्ने दर्दनाक अवस्था आफूले सहन नसक्ने बताएका छन्।
'किसानले सुनौलो भविष्यको सपना बुन्दै उत्पादन गरेको तरकारी मूल्यहीन बनेर सडकमा फाल्नु पर्ने यो दर्दनाक अवस्थाको अन्त्य गर्न लागिपर्ने छौँ', उनले अगाडि भनेका छन्, 'समस्या थाहा छ, समाधान खोज्ने छौँ। प्रिय, चितवन, केही दिनमा भेट्न आउँदैछु है।'
भारतीय तरकारीका कारण नेपाली तरकारी बजारबाटै विस्थापित भएको भन्दै चितवनका किसानहरुले शुक्रबार नारायणगढको पुल्चोकमा कयौँ ट्रक तरकारी पोखेका थिए।
किसानहरुले विभिन्न प्लेकार्ड र ब्यानरसहित सरकारको विरोध गरेका छन्। एकजना किसानले बोकेको प्लेकार्डमा लेखिएको थियो, 'बारीमा जाऊ भविष्य छैन, खाडीमा जाऊँ उमेर छैन।'
प्रतिक्रिया