ad ad

राजनीति


एमालेको उपेक्षामा परेर माओवादी बनेकी अर्याल राष्ट्रियसभा उपाध्यक्ष

एमालेको उपेक्षामा परेर माओवादी बनेकी अर्याल राष्ट्रियसभा उपाध्यक्ष

राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिएकी उर्मिला अर्याल। तस्बिर : नेपालखबर


सागर न्यौपाने
माघ २२, २०७९ आइतबार १५:४२, काठमाडौँ

नेपाली कांग्रेसले उम्मेदवारी नदिएपछि नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्ष हुने पक्का भएको छ।

आइतवार दिउँसो संसद सचिवालयमा राष्ट्रिय सभा उपाध्यक्षका लागि उनको मात्रै उम्मेदवारी परेको छ।

नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको आइतवार बसेको बैठकले उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेसँगै अर्याल संवैधानिक पदमा पुग्ने पक्का भएको हो। 

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको थियो।

पुस १० सम्म सहयात्रामा रहेको माओवादीलाई फकाउने प्रयासस्वरुप कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिएको हो।

एमालेले उठाएका ठाउँमा उसलाई घेर्नेगरी उम्मेदवारी दिइरहेको कांग्रेस माओवादीप्रति भने नरम बनिरहेको छ। फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा साथ पाउने विश्वाससहित कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा पनि माओवादीलाई 'वाक ओभर' दिएको हो। 

अर्यालको राजनीतिक यात्रा
१० वर्षअघि (२०६९ फागुन) एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ)को अध्यक्ष बन्न नरोकेको भए पोलिटब्युरो सदस्य उर्मिला अर्याल पार्टीको कुनै जिम्मेवारीमा हुन्थिन्।

तर, संघकी तत्कालीन अध्यक्ष विद्यादेवी भण्डारीले रोकेको उनको गुनासो थियो। 

यतिसम्मकी पोखरामा भएको अनेमसंघको सम्मेलनमा अर्याललाई भण्डारीले उम्मेदवारी दर्ता गर्नै नदिएको बताउँदै ‘अनेमसंघ विद्या भण्डारी प्राइभेट लिमिटेड’ भएको आरोप लगाइन्।

त्यसबेला हलमा अर्याललाई प्रवेशमै रोक लगाइएको चर्चा थियो।

अनेमसंघको अध्यक्ष उम्मेदवारी दिनै नपाएपछि अर्याल कार्यक्रम छाडेर काठमाडौं फर्किन्। त्यसको तीन महिनापछि ४ जेठ २०७० मा अर्याल एमाओवादी प्रवेश गरिन्।

९ वर्षपछि माओवादी केन्द्रले उनै अर्याललाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाएको छ। एकल उम्मेदवारी परेपछि उनी राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध पक्का भइसकेको छ। 

अहिले उनी नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य, अनेमसंघ क्रान्तिकारीकी फ्याक्सन इन्चार्ज छिन्। 

सोमबार (२३ माघ) हुने चुनावमा उपाध्यक्षका लागि उनको मात्रै दर्त भएको छ। 

किनकी नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको छ। सत्ता साझेदार दलको तर्फबाट अर्याल नै उम्मेदवार बनेकी छन्। 

संयोग नै मान्नुपर्छ, एमालेमा अनेमसंघको अध्यक्ष बन्न नपाएकी अर्याल एमालेको समेत मत पाएर संघीय संसदको उपाध्यक्ष निर्वाचित हुँदैछिन्।

अर्यालका आरोह–अवरोह
नेकपा मसाल पृष्ठभूमिकी अर्याल २०४७ सालसम्म महिला विकास अधिकृतका रुपमा जागिरे थिइन्। 

०४८ सालमा महिला विकास अधिकृतबाट राजीनामा दिएर उनी एमाले प्रवेश गरिन्।

त्यसपछि गृहजिल्ला पर्साबाट ०४८ र ०५१ को संसदीय निर्वाचन उठिन तर, हारिन्। ०५६ को चुनाव भने जित्न उनी सफल भइन्।

एमालेको संगठन निर्माणमा निकै महत्वपूर्ण निर्वाह गरेको बताउने उनी २०६३ मा अन्तरिम सरकारको महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री बनिन्।

बुटवलमा भएको आठौं महाधिवेशन (२०६५) बाट एमाले पोलिट्ब्यूरो सदस्य निर्वाचित भएकी उनी झलनाथ खनाल नेतृत्वको एमाले–एमाओवादी सरकारमा (२०६८) स्थानीय विकास मन्त्री बनिन्। 

त्यसपछि एमालेमै विभिन्न जिम्मेवारी पाइरहेकी उनले अनेमसंघको अध्यक्ष बन्ने चाहना राखिन्। 

तर, पार्टीले उनलाई उम्मेदवार बन्नै दिएन। अनि त्यही आवेगले एमाले परित्याग गरेर एमाओवादी प्रवेश गरेकी थिइन। माओवादीमा पनि खासै अवसर नपाएकी उनलाई प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा मन्त्री बनाउने तयारी थियो।

तर, उनलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने पार्टीले निर्णय लियो, अर्याल पनि तयार भइन्।

उनी २०७० जेठ ४ गते पार्टी परित्याग गरी तत्कालीन एमाओवादीमा प्रवेश गरिन्। एमाओवादीको जग मसाल नै हो। पार्टी प्रवेश गर्दा अर्यालले भनेकी थिइन, ‘म पुरानै घर फर्किएँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .