राजनीति


मिडिया मालिक र सम्पादकहरुसँग रविको आक्रोश : राहदानीमा फसाउन मिलिसके छन्

मौका मिले फेरि गृहमन्त्रालयमा फर्किन तयार रहेको भनाइ
मिडिया मालिक र सम्पादकहरुसँग रविको आक्रोश : राहदानीमा फसाउन मिलिसके छन्

पत्रकार सम्मेलनका क्रममा रवि लामिछाने। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ २२, २०७९ आइतबार १७:४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई राहदानीको मुद्दामा फसाउन मिडिया मालिक र सम्पादकहरु एक ठाउँमा जुटिसकेको बताएका छन्। 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णयपछि पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन्। 

'राहदानीमा फसाउन सकिन्छ कि भनेर १२ भाइ मिलिसकेका छन्। १२ भाइलाई पासपोर्टको कुरा छ। म जेल परे पनि, मरे पनि, बहुलाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी अघि बढ्छ', उनले भने, 'जनता वाक्क दिक्क छन्। हामीले यस पटक मन्त्री गृहमन्त्री लियौँ। तर अर्को चुनावमा हामी प्रधानमन्त्री हुने गरी तयारीमा लाग्छौँ।'

उनले नेपालका केही सम्पादक र मालिकहरुको नामै लिएर आक्रोश पोखे। 'आज नेपाली जनतालाई दु:ख पर्‍यो भने युवराज कँडेल र रमेश प्रसाईहरुलाई खोज्छन्। अरुलाई खोज्दैनन्। पत्रिका तपाईंहरुले चलाउने हो भने मैले देश चलाउने हो', उनले भने, 'चितवनमा चुनाव लड्ने हो भने आउनुस्। चुनौती स्वीकार्न म तयार छु।'

उनले पासपोर्टमा फसाउन सकिन्छ भन्नेहरुलाई यो मुद्दा आफैं लडेर देखाउने पनि बताए। 'पासपोर्टमा फसाउन सकिन्छ भनेर लाग्नेहरुलाई म भन्छु म आफ्नो मुद्दा आफैं लड्छु', उनले भने, 'अलरेडी बाहिर आएको कुरामा म केही पनि गर्न सक्दिनँ। नागरिकताका कारण केही नहोला भन्ने आशा त थियो नि तर सबै गएको छ। चित्त त दुखेको छ। त अब चुप लागेर बसेर हुँदैन।'

उनले आफूले गृहमन्त्रालयमा रहँदा १२, १३ वर्षमा नभएको काम १२ मिनेटमा गरेको दाबी गरे।

'फेरि बोलाए भने गृहमन्त्रालयमा जान तयार छु', उनले भने, 'प्रहरीको सरुवा र बढुवा, सीडीओ सरुवामा खान पल्केका थिए। तर त्यो कुरालाई हामीले रोकेका थियौँ।'

उनले केही मिडिया मालिकहरुको नामै लिएर सरुवा बढुवामा चासो लिएको पनि बताएका छन्। आजको पत्रकर सम्मेलनमा रविले आफूविरुद्ध लागेको भन्दै मिडिया मालिकहरु र सम्पादकहरुमाथि लगातार आक्रमण गरिरहे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .