राजनीति


सुदूरपश्चिम : विश्वासको मत लिने अन्तिम दिन, नाउपाका सांसद काठमाडौंमै

सुदूरपश्चिम : विश्वासको मत लिने अन्तिम दिन, नाउपाका सांसद काठमाडौंमै

फाइल तस्बिर।


गोकुल जोशी
माघ २६, २०७९ बिहिबार ९:२९, कञ्चनपुर

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बिहीबार बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन्। २७ पुसमा मुख्यमन्त्री नियुक्त रावलले विश्वासको मत लिइसक्नु पर्ने अन्तिम दिन आज हो। 

उनले विश्वासको मत जुटाउँन नसकेमा स्वतः पदमुक्त हुनेछन् र संविधानको धारा १८३ (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री बन्ने छन्।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) रेशम चौधरीको रिहाइलाई ‘बटम लाइन’ बनाएर विश्वासको मतमा अडान थापिरहेको छ। 

बिहीबार दिउँसो १ बजे विश्वासको मत लिने प्रयोजन सहित प्रदेश सभा बैठक डाकिएको छ। बुधबार दिउँसो १ बजे नै बस्ने भनिएको प्रदेशसभा बैठक विश्वासको मत नपाउने देखेपछि मुख्यमन्त्री रावलको आग्रह स्थगित भएको थियो। 

नागरिक उन्मुक्तिका ७ जना प्रदेश सांसद संघीय राजधानी काठमाडौंमा छन्। मंगलबार धनगढीबाट गएकाउनीहरू अहिलेसम्म धनगढी फर्किएका छैनन्। 

विश्वासको मत नदिने निर्णय गरेर सत्ता गठबन्धनबाट माग सम्बोधनका लागि दबाब बढाइरहेका उनीहरू धनगढी फर्किने निश्चित छैन। विश्वासको मत दिनु परेमा मात्रै धनगढी आउने तयारीमा उनीहरु छन्। 

यद्यपी, अहिलेसम्म विश्वासको मत दिने/नदिने निष्कर्षमा नागरिक उन्मुक्ति पुग्न सकेको छैन। 

नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार साँझ लामो वार्ता भएको थियो। 

सो वार्ता सकरात्मक रहेको सत्तारुढ एमालेका नेताहरुको दाबी छ। तर विश्वासको मत दिने भनेर नागरिक उन्मुक्तिले नभनेकाले ढुक्क भइहाल्ने स्थिती पनि नरहेको उनीहरुको भनाइ छ।

‘उहाँहरुले रेशम चौधरीको रिहाइकै माग प्रमुख रुपमा उठाउनुभयो, माग सम्बोधनमा आफूहरू सकारात्मक रहेको तर केही समय लाग्न हामीहरुले भनेका छौँ,’ ती नेताले भने, ‘उन्मुक्तिका साथीहरूले अझै विश्वासको मत दिने/नदिने भनेर केही भनेका छैनन्।’

मंगलबार डिल्लीबजार कारागारमा रेशम चौधरीलाई भेटेपछि नेपालखबरसँग कुराकानी गर्दै अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरुको माग सम्बोधन नभएकाले विश्वासको मत नदिने निर्णय गरेको बताएकी थिइन्।

काठमाडौंमा रहेका नागरिक उन्मुक्तिका साँसद अझै धनगढी फर्किने सुरसार नगरेकाले दिउँसो १ बजेको प्रदेश सभा बैठकमा सारेर अन्तिमसम्म उन्मुक्तिको पर्खाइमा रहने एमालेको रणनीति छ।

बिहीबार उच्च स्तरीय संयन्त्रको बैठक बस्ने भएकाले सो बैठकले रेशमका बारेमा छलफल गर्ने बताइएको छ। त्यसपछि पार्टीको स्थिती स्पष्ट बनाएर नागरिक उन्मुक्तिका सांसद धनगढी फर्किने/नफर्किने निर्णय लिने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .