राजनीति


भारतीय सेनाका ५ पूर्वप्रमुख शुक्रबार नेपाल आउँदै

भारतीय सेनाका ५ पूर्वप्रमुख शुक्रबार नेपाल आउँदै

नेपालखबर
फागुन ३, २०७९ बुधबार १५:३१, काठमाडौँ

भारतीय स्थल सेनाका ५ जना पूर्वप्रमुख नेपाल आउने भएका छन्। नेपाली सेनाको विशेष निमन्त्रणमा पूर्वप्रमुखहरु एकसाथ नेपाल आउन लागेका हुन्। 

पूर्वसेनाप्रमुख  विश्वनाथ शर्मा, जोगिन्द्र जसवान्त सिंह, दीपक कपुर र मनोज मुकुन्द नरवाणे नेपाल आउन लागेका हुन्। यी मध्ये ४ जना आगामी शुक्रबार नेपाल आइपुग्ने भएका छन्। एक जना पूर्वप्रमुख भने शनिबार विहान मात्रै नेपाल आइपुग्नेछन्। 

नेपाली सेनाले आफ्नो २६० औं स्थापना दिवशको अवसरमा भारतीय सेनाका स्थल सेनाका प्रमुख मनोज पाण्डेसहित ११ पूर्व प्रमुखहरुलाई पनि निमन्त्रणा गरेको थियो। तर ती मध्ये ५ जना नेपाल आउने निश्चित भएको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। 

नेपाली सेनाले १० वर्षपछि विशेष कार्यक्रमकाबीच आफ्नो स्थापना दिवस मनाउन लागेको हो। यसअघि २५० औं स्थापना दिवश पनि विशेष कार्यक्रमकाबीच मनाएको थियो।

नेपाली सेना र भारतीय सेनाबीच एकअर्काका प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन छ। नेपाली सेनाका प्रमुखलाई पनि भारतमा मानार्थ महारथीको सम्मान दिइँदै आएको छ। 

भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे गत भदौ १९ गते ५ दिने नेपाल भ्रमणमा आएका थिए। नेपाली सेनाले त्यतिबेला उनलाई पनि मानार्थ महारथीको सम्मान दिएको थियो। 

नेपाली सेनाका ५ वटा कम्पनी स्थापना भएको २६० वर्ष पूरा भएको छ। १८१९ मा पृथ्वीनारायण शाहले ५ वटा कम्पनी स्थापना गरेका थिए। 

श्रीनाथ, कालीबक्स, सबुज, गोरख र बर्दबाणी नामका कम्पनी पहिलो पटक स्थापना भएका थिए। यी गणको स्थापना भएको २६० वर्ष पुगेको अवसरमा सेनाले स्थापना दिवश मनाइरहेको छ। 

सेना दिवसको अवसरमा फागुन ५ गते वीर स्मारक छाउनीमा श्रद्धाञ्जली अर्पणको कार्यक्रम हुनेछ। फागुन ६ गते सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम गर्ने सेनाको तयारी छ। 

सो अवसरमा ५५५ वटा मादल एकसाथ बजाउँदै विशेष प्रस्तुति गरिनेछ। भारतीय सेना र बेलायती सेनाले पनि विशेष ब्यान्डसहितको प्रस्तुति दिनेछन्। सैनिक मञ्च र छाउनीको स्मारकमा वीरगति प्राप्त सैनिकको सम्झनामा अखण्ड बत्ती बालिनेछ। 

फागुन ७ गते जंगी अड्डामा परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुने तय भएको छ। ७ गते नै नेपाली सेनाको मुखपत्र सिपाही विमोचन गरिनेछ। यस्तै सैनिक इतिहाससम्बन्धी पुस्तक पनि विमोचन गरिने सेनाले जनाएको छ। 

नेपाली सेनाले स्थापना दिवसकै अवसरमा यसअघि विभिन्न कार्यक्रम गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .