ad ad

राजनीति


गगन भन्छन् : राष्ट्रपति कांग्रेसबाटै हुन्छ, एकीकृत समाजवादीसहित ५ दलबीच समझदारी भइसक्यो

‘पुस १० मा एमालेले झुक्यायो, फागुन १० मा झुक्किदैनौँ’
गगन भन्छन् : राष्ट्रपति कांग्रेसबाटै हुन्छ, एकीकृत समाजवादीसहित ५ दलबीच समझदारी भइसक्यो

केशव सावद
फागुन ९, २०७९ मंगलबार १४:१२, काठमाडौँ

पुस १० अघिको पाँच दलीय गठबन्धनका दलहरुबीच राष्ट्रपति निर्वाचनान नेपाली कांग्रेसले अगाडि सार्ने उम्मेदवारको पक्षमा मतदान गर्ने समझदारी बनेको कांग्रेस महामन्त्री गगन थापाले बताएका छन्। गत पुस १० गते भत्किएको गठबन्धनबीच राष्ट्रपति निर्वाचनमा एकजुट भएर जाने समझदारी बनेको थापाको दाबी छ।

कांग्रेस महामन्त्री गगन थापाले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले कांग्रेसले अघि सार्ने राष्ट्रपतिको उम्मेदवारलाई सघाउने समझदारी भइसकेको जानकारी दिए।  

उनले फागुन २५ गतेका लागि निर्धारित राष्ट्रपति निर्वाचनका लागि पाँच दलहरुबीच भएको सहमतिलाई औपचारिकता दिन मात्रै बाँकी रहेको पनि बताए।

‘नेपाली कांग्रेसले राष्ट्रपतिमा उठाउने उम्मेदवारलाई ५ दलीय गठबन्धनले सबैका तर्फबाट मत हाल्ने गरी समझदारी बनिसकेको छ,’ महामन्त्री थापाले नेपालखबरसँग भने, ‘खाली औपचारिकता दिन मात्रै बाँकी हो। केही दिनमै औपचारिकता दिन्छौं।’

राष्ट्रपति निर्वाचनका लागि पार्टीको पक्षमा वातावरण निर्माण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर संवादमा रहेका महामन्त्री थापाले कांग्रेस तत्कालीन पाँच दलीय गठबन्धनमा रहेका अन्य दलहरुसँग पनि सम्पर्कमै रहेको बताए। 

उनले राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमालेले अघि सार्न खोजेको र त्यसमा कांग्रेसको समर्थन रहन सक्ने विषयमा पछिल्लो समय भइरहेको चर्चामा कुनै सत्यता नभएको समेत जिकिर गरे। 

‘हल्ला, चर्चा जेजस्तो भइरहेको छ, त्यसले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच संवाद नभएको जस्तो देखिन्छ,’ नेकपा एमालेले राष्ट्रपतिका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गरेको भनिएको प्रस्तावबारे थापाले भने, ‘तर, त्यो होइन। कांग्रेस र एकीकृत समाजवादी निरन्तर संवादमा छौं। हामी राष्ट्रपतिको विषयमा प्रष्ट छौं।’ 

राष्ट्रपति निर्वाचनका लागि पाँच दलीय गठबन्धनबीच बनेको समझदारी भत्काउन एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई फरक–फरक ढंगको आश्वासन बाँड्न थालेको उनको भनाइ छ। 

‘प्रधानमन्त्री प्रचण्डलाई पाँचै वर्ष तपाईं नै चलाउनुस् भनिरहनुभएको छ। माधवकुमार नेपाललाई तपाईं राष्ट्रपति बन्नुस् भनिरहनुभएको छ,’ महामन्त्री थापाले भने, ‘हामीलाई कांग्रेस र एमाले मिलेर सरकार चलाऔं भनेर विभिन्न माध्यममार्फत् खबर पठाइरहनुभएको छ।’

उनले अन्तिम समयमा आएर एमालेले खेल्ने सम्भावित राजनीतिक कार्डका बारेमा आफूहरु सचेत रहेको जिकिर गरे। 

‘अन्तिम क्षणमा आइसकेपछि एमालेले सबै खालका चकचक गर्छ भनेर हामी सबै सचेत छौं,’ महामन्त्री थापाले भने। 

उनले गत पुस १० गते एमालेले झुक्याएको टिप्पणी गर्दै फागुन १० गते आफूहरु नझुक्किने पनि बताए। 

‘पुस १० गते एमालेले जे गरेको हो अहिले त्यही दोहोर्याइरहेको छ,’ महामन्त्री थापा भन्छन्, ‘पुस १० मा झुक्किए पनि फागुन १० मा हामी झुक्किँदैनौँ। हामी सचेत छौं।’ 

एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले पनि आफूहरु एमालेसँग मिलेर अगाडि बढ्ने कुनै सम्भावना नरहेको प्रतिक्रिया दिएका छन्। 

‘अहिले केही सम्भावना छैन,’ उनले नेपालखबरसँग भने, ‘त्यस ढंगले कुरा भएको पनि छैन।’

कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति निर्वाचनका लागि पार्टीले माओवादी केन्द्रका नेताहरुसँग घनिभूत छलफल गरिरहेको बताए। निर्वाचनमा माओवादी केन्द्रको मुख्य भूमिका रहने पनि कोइरालाले बताए।  

‘राष्ट्रपतिको निर्वाचनमा नेकपा माओवादी केन्द्रको प्रमुख भूमिका रहन्छ। हामीले माओवादीका नेताहरूसँग सल्लाह र घनिभूत छलफल गरिरहेका छौँ,’ नेपाल प्रेस युनियन सिन्धुलीले मंगलबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले भने, ‘नेपाली कांग्रेसले उक्त पदमा उम्मेदवार दिन्छ र त्यो उम्मेदवारले जित्छ, तपाईंहरु ढुक्क हुनुस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .