ad ad

राजनीति


गुमेको सत्ता प्राप्तिका लागि कांग्रेस एकजुट, मतभेद ‍मत्थर

गुमेको सत्ता प्राप्तिका लागि कांग्रेस एकजुट, मतभेद ‍मत्थर

केशव सावद
फागुन ११, २०७९ बिहिबार १३:५४, काठमाडौँ

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुग्दा बिथोलिएको नेपाली कांग्रेस पछिल्लो समय एकजुट देखिएको छ। राष्ट्रपतिमा ‘अर्जुनदृष्टि’ लगाएको कांग्रेस गुमेको सत्ता प्राप्तिका लागि आन्तरिक तिक्तता थाँती राखेर पछिल्लो समय एकजुट देखिएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनुअघि र मत दिने निर्णय गर्दा कांग्रेसमा देखिएको मतभिन्नता अहिले मत्थर भइसकेको छ। निर्वाचन आयोगले फागुन २५ का लागि निर्धारण गरेको राष्ट्रपति निर्वाचनका कारण पार्टीको आन्तरिक मतभेद साँघुरिँदै गएको इतर समूहमा रहेका पदाधिकारी बताउँछन्।

प्रचण्डलाई विश्वासको मत दिने विषयमा इतर समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला सभापति शेरबहादुर देउवाको ‘लाइन’ मा सहमत देखिए पनि इतर समूहबाट निर्वाचित महामन्त्री गगन थापा र केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले फरक मत दर्ज गराएका थिए।

तर, उनै महामन्त्री थापा पछिल्लो समय राष्ट्रपति निर्वाचनका लागि पार्टीको पक्षमा वातावरण निर्माण गर्न अन्य दलहरुसँगको छलफलमा सक्रिय छन्। उनी प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न गत आइतबार बेलुकी सभापति देउवासहितका नेताका साथ बालुवाटार पुगेका थिए। त्यसअघि पनि उनले दुई पटक एक्लाएक्लै प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरिसकेका थिए।    

कांग्रेसमा सभापति देउवासहित संस्थापन पक्षको निर्णयलाई इतर समूहले नमान्ने भयमा रहेका प्रचण्डलाई आश्वस्त पार्न महामन्त्री थापासहितका इतर पक्षीय नेताहरू नै लागेका छन्। पार्टीभित्रको आन्तरिक विवाद बाहिर आउन नदिन गुटगत मात्रै नभएर केन्द्रीय कार्यसमितिको बैठकसमेत स्थगित गरेर कांग्रेस नेताहरू वार्ता र संवादमा एकजुट भएर लागेका छन्। 

‘बैठकमा मंसिर ४ को चुनाव र तत्कालीन सत्ता गठबन्धनको निर्मम समीक्षा गर्ने भनेका छौँ। बैठकमा बाहिर–भित्रका कुरा उठ्लान्। त्यसले माहौल बिग्रन सक्छ,’ इतर समूहनिकट एक पदाधिकारी भन्छन्, ‘हाम्रो मुख्य ध्यान राष्ट्रपति नगुमाऊँं भन्नेमा छ। अन्य दलहरूलाई विश्वासमा लिएर एकजुट भएर अघि बढ्ने प्रयासमा छौँ।’

राष्ट्रपतिका लागि पार्टीको पक्षमा वातावरण बनाउन सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला एकसाथ अन्य दलका नेताहरुसँगको संवादमा सहभागी हुँदै आएका छन्। 

उनीहरु पाँचै जनाले गत आइतबार बेलुकी बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति निर्वाचनमा कांग्रेसले अघि सार्ने उम्मेदवारलाई सघाउन औपचारिक रुपमै प्रस्ताव गरेका थिए। प्रचण्डले उनीहरुलाई पार्टीमा छलफल गरेर जवाफ दिने आश्वासन दिएका थिए।   

कांग्रेसले एकजुट भएर सत्ता प्राप्तिका लागि गरिरहेको प्रयास पनि सार्थक हुने सम्भावना बढ्दै गएको छ। सत्ता गठबन्धनमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच राष्ट्रपति चयनको विषयमा सहमति नहुँदा पुरानो ५ दलीय गठबन्धन ब्युँतिने सम्भावना बढेको छ। 

मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनअघि सरकार सञ्चालन गरेको र निर्वाचनमा गठबन्धन गरेका दलहरुबीच प्रधानमन्त्री चयनको विषयमा सहमति नजुट्दा गत पुस १० गते उक्त गठबन्धन भत्किएको थियो। 

राष्ट्रपति निर्वाचन नजिकिएसँगै एकजुट भएको कांग्रेसमा माघ पहिलो सातासम्म भने सत्ताबाट बाहिरिनु परेका कारण व्यापक असन्तुष्टि थियो। सभापति देउवाले तत्कालीन गठबन्धनमा रहेका दलहरुलाई मिलाएर लैजान नसकेको, प्रतिपक्षमा बसेर सरकारलाई समर्थन दिएको भन्दै इतर समूहले आलोचना गरिरहेको थियो। 

संस्थापन इतर समूहको माघ ८ गते बत्तिसपुतलीमा बसेको बैठकमा नेता  कोइरालाले सरकारलाई विश्वासको मत दिएर गल्ती गरिएको अभिव्यक्ति दिएको समाचार बाहिरिएको थियो। तर, माघ ९ गते धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा उनले विश्वासको मतबारे आफूले बोल्दै नबोलेको कुरा बाहिर आएको प्रष्टीकरण दिएका थिए।

समूहको बैठकमा भएको छलफलबारे सञ्चारमाध्यममा त्यस्तो समाचार आएपछि इतर समूहले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकको भोलिपल्ट अर्थात् माघ १० का लागि तय गरिएको बैठक अन्तिम समयमा आएर स्थगित गर्यो। सभापति देउवाको आग्रहमा नेता कोइरालाले बैठक स्थगित गरेको बताइन्छ।

सरकारबाट बाहिरिएपछि कांग्रेसले पहिलो पटक गत पुस २२ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो। 

‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९’ को समीक्षा, समसामयिक राजनीतिक सन्दर्भ र विविध गरी तीन एजेन्डा तय गरेर कांग्रेसले पुस २२ का लागि केन्द्रीय कार्यसमिति बैठक डाकेको थियो। 

तर, उक्त बैठक पुस २२, पुस २८ र माघ १५ गरी ३ पटक स्थगित भएको छ। नेतृत्वले प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि पहिलो पल्क बस्न लागेको केन्द्रीय कार्यसमिति बैठक पटक–पटक स्थगित हुँदा पनि कांग्रेसको इतर समूहले कुनै असन्तुष्टि जनाएको छैन।  

त्यसअघि पार्टी सरकारबाट अकल्पनिय ढंगले बाहिरिएपछि निर्वाचनमा गठबन्धन गर्नुको कारण र गठबन्धन गरिसकेपछि सरकारबाट बाहिरिनु पर्ने अवस्था सिर्जना हुनुको कारण बारे निर्मम ढंगले छलफल गर्नुपर्ने आवाज इतर समूहबाट उठ्दै आएको थियो।   
 
सभापति शेरबहादुर देउवाले गत पुस १० गते गठबन्धन तोडेको नेकपा माओवादी केन्द्रका विषयमा घोचपेच हुँदा राष्ट्रपति निर्वाचनको वातावरण बिग्रिने डरले केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको बताइन्छ। देउवाको उक्त कदमलाई इतर समूहको नेतृत्व गर्दै आएका नेता कोइरालाले मौन सहमति जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .