राजनीति


देउवा सभापतिमा दोहोरिए कांग्रेसमा दुर्घटना हुन्छः प्रकाशमान (अन्तर्वार्ता)

देउवा सभापतिमा दोहोरिए कांग्रेसमा दुर्घटना हुन्छः प्रकाशमान (अन्तर्वार्ता)

नेपालखबर
पुस १६, २०७६ बुधबार ९:४४,

नेपाली कांग्रेसको आन्तरिक राजनीति अहिले सतहमा देखिएको छ। यो विवाद किन? पहिला भित्र भित्रै यस्तो भएको हुन्थ्यो र मिलाइन्थ्यो। अहिले किन सतहमै आएको हो?

नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो। लोकतान्त्रिक पार्टी भित्र लोकतान्त्रिक अभ्यासलाई रोक्न थालेपछि सतहमा यस्ता कुरा आउँछन्। अहिले भएको के हो भने केन्द्रीय कार्यसमितिले गरेको निर्णयहरु सबैको सहमतिले गर्नुपर्नेमा एउटा गुटको मात्रै उपस्थितिमा जवरजस्तबाट भएको छ। नेपाली कांग्रेसको परम्परालाई तोड्दै भएको छ। यसअघिका महाधिवेशनको तिथि मिति तोक्दा सहमतिबाटै हुने गरेको थियो यसपटक त्यसो गरीएन।

त्यसमा खासगरेर कार्यसमितिको बैठक हुँदा नै नौं बुँदे प्रस्ताव हामीले राखेका थियौं त्यसमा पनि समय छँदै केही गतिविधि नगर्ने, विधानले निर्देशित गरेका कामहरु पनि पार्टी सभापतिले कार्यान्वयन गर्न प्रयास नगर्ने र चार वर्षमा अधिवेशन हुन्छ भनेर थाहा पाउँदा पनि चार वर्ष पुग्न केही महिना बाँकी रहँदा पनि सामायोजना गर्नुपर्ने कमहरुदेखि लिएर राज्य पुर्नसंरचनापछि समायोजन गर्नुपर्ने कामहरु अत्यन्तै ढिलो रुपमा जुन कि नेतृत्व वर्गले त्यसलाई अलि जोड दिएर प्राथमिकतामा राखेर राज्य पुर्नसंरचना गर्नको लागि समायोजनाका गतिवधिहरु र कृयाशिलका कामहरुमा विवाद भइराखेको छ।

यी सबै कुराहरु टुंग्याउन सक्नुपर्नेमा केही नगरीकन त्यसै बसिरहेको कारणले गर्दा हामीलाई के लाग्यो भने अब त धेरै ढिला हुन लाग्यो। त्यसकारण १४ औं महाधिवशनको तिथि मिति तोक्नका लागि पनि कार्यतालिका बनाउनु प¥यो र कार्यतालिक के हो भन्दा पनि फागुनमा त महाधिवेशन नहुने भयो र सकेसम्म पनि मंसिरसम्म महाधिवेशन गर्ने भन्ने हाम्रो भनाई रह्यो र वार्ताको क्रममा पनि कार्यतालिका बनाएर प्रस्तुत पनि गरेका थियौं। त्यसमा चार्ही मंसिरसम्मको नेपाली कांग्रेसको विधानले निर्देशित गरेको अनुसार क्यालेन्डर बनाएर हामीले मंसिरमा महाधिवेशन गर्ने भनेका थियौं। तर मसिंरमा किन गर्न लागेको भन्दा कथम्कदाचित केही गरी मंसिरमा गरिएन भन्दा फागुन सम्म २/३ महिना समय रहन्थ्यो नी।

तर उहाँहरुले एक वर्ष थप गरी फागुनमा महाधिवेशन गर्ने घोषणा गर्नुभयो। केही गरी फागुनमा महाधिवेशन हुन सकेन भने अर्को छ महिना समय थप गरी धकेल्ने प्रयास गर्नुभएको छ र यो सम्भावना पनि बढेको छ। किन भने महाधिवेशनका लागि तयारी नै राम्रो छैन। अहिले कृयाशिल सदस्यताको लागि विवादहरु जिल्ला जिल्लामा भइराखेको, गाउँपालिका, नगरपालिकामा भइरहेको छ। त्यसलाई चाँडो भन्दा चाँडो संयन्त्र बनाएर अथवा विशेष छानविन समिति बनाएर तुरुन्तै समय छदै गर्नुप¥यो भन्ने हाम्रो भनाई हो।

भातृसंगठनदेखि लिएर विभागहरुको समस्या समाधान गर्नुपर्ने हो। विभागहरुको १३ औं महाधिवेशन सकिएको दुई महिना भित्रमा विधानले निर्देशित गरेको सबै विभागहरु गठन गर्नुपर्छ भन्ने थियो। तर अहिले उहाँहरुले के गर्नुभयो भने पार्टीको संशोधित विधानले पनि २८ वटा विभाग भर्खरै स्थापित गर्नुपर्छ भनेर भनेको छ। भर्खरै महासमितिबाट र केन्द्रीय कार्यसमितिबाट बनेको विधानबाट २८ वटा दुई महिना भित्र बनाउनु पर्ने भन्ने छ उहाँहरुले सक्नु भएको छैन अव ४७ मा पु-याइदिनुभएको छ। कारण के हो भने १४ औं महाधिवेशनलाई प्रभावित गर्नको लागि कसैलाई लाभ पु-याएर आफ्नो पक्षमा ल्याउनको लागि गरेको स्पस्ट हुन्छ।

१४ औं महाधिवेशन निश्पक्ष, स्वच्छ ढंगले विवादरहित तरिकाले गर्नुपर्नेमा विभागहरु पनि बनाउनुपर्ने बेलामा नबनाउने, महाधिवेशन हुने बेलामा निर्माण गर्ने र प्रजातान्त्रिक पार्टीमा जे गरेपनि हुने जस्तो गरि धाराहरु निलम्बन गरेर आगाडी बढ्नु भयो। यसबाट के भयो भने उहाँहरुलाई चाहेको जसलाई पनि दिन सक्ने र मतदान गर्ने अधिकार पनि तुरुन्त दिने अवस्था आयो। अब अस्तिको बैठकबाट भएका निर्णयहरुमा सच्याइएन भने हामीले सहभागी हुँदैनौं भनेर स्पस्टसँग भनिसकेका छौं।

राष्ट्रिय सभाको लागि भनेर फेरि बिहीबार कार्यसमिति र पदाधिकारीहरुको बैठक बोलाउनुभएको छ। यसमा हामीले के भनेका छौं भने प्रजातान्त्रिक पार्टी भित्र अलोकतान्त्रिक तरिकाले निर्णय हुँदासम्म हामी कार्यसमिति बैठकमा जाने भन्ने हुँदैन। वार्ताको क्रम जारी रहँदै र सहमतिको नजिक पुग्न लागेको बेलामा एकतर्फी ढंगले निर्णय गर्नुभयो त्यो प्राजातान्त्रिक पार्टी भित्र नहुने निर्णय भएको छ र त्यसलाई सच्याउन दवाव दिनका लागि हामीले पार्टी भित्र अभियान चलाउने भएका छौं।

तपाईहरुबीचमा कतिपय अवस्थामा अन्तरंग सम्बन्ध, व्यक्तिगत सम्बन्धहरु पनि छन्। तर पछिल्लो समय विवाद निकै बढ्यो। पार्टीमा देखिएको सभापतिको भूमिकालाई हेर्दा कुनै तत्वले प्रभाव पारेको हो? प्रजातान्त्रिक पार्टी भित्रकै अभ्यासलाई फरक ढंगले अगाडी बढाइएको हो? तपाइलाई के लाग्छ?

अब यस्तो छ। तेह्रौं महाधिवेशनमा भनौं न लोकतान्त्रिक पार्टी हो, महाधिवेशन भयो त्यसपछि मतदान भयो उहाँले जित्नुभयो। त्यसपछि उहाँ नेपाली कांग्रेसको सभापति हो नी त। तर कस्तो भयो भने म नेपाली कांग्रेसको होइन की एउटा गुटको मात्रै सभापति भएको जस्तो गरी गतिविधि गर्नुभयो। त्यसले गर्दा अहिलेको समस्या देखिएको हो। अहिलेको समस्या समाधान गर्नको लागि पार्टी सभापतिले पार्टीको सभापतिको हैसियतले सबैलाई मिलाएर अगाडि बढाउनु पर्ने र वर्तमान राष्ट्रिय राजनीतिमा देखिएका चुनौतिहरुलाई सशक्त रुपमा सामना गर्नका लागि नेपाली कांग्रेसलाई एकढिक्का बनाएर लौजान सक्नुप-यो।

अब त कसरी सम्भव छ? खासगरी समानान्तर भेलाहरु, समानान्तर बैठकहरु बोलाइसकेको अवस्थामा कसरी सम्भव छ एक ढिक्का भएर अगाडि बढ्न?

एउटा कुरा के हो भने जब नेपाली कांग्रेस अलोकतान्त्रिक बाटोमा हिंडिरहेको अवस्थामा यो ठिक भएन यसलाई सच्याउनका लागि हामीले आवाज उठाइरहेका छौं। बेथितिमा गइरहेको र पार्टी अलोकतान्त्रिक बाटोमा अगाडि बढिरहेको छ भने यसलाई सच्याउने काम पनि कांग्रेसहरुले नै गर्ने हो। फरक फरक हुनको लागि नभई भएको कमि कमजोरीलाई हटाएर सुधार गरेर पार्टीको विधान अनुसार संस्थागत रुपमा पार्टीलाई अगाडि बढाउन हामीले आवाज मात्र उठाउने नभइ सुधार गर्नका लागि दावाव दिइरहेका हौं।

पार्टी भित्र भएका कमजोरीहरुलाई प्रजातान्त्रिक प्रचलन अनुसार पार्टीको परिधि भित्र बसेर बेथितिमा गएको पार्टीलाई थितिमा ल्याउने र बाटो भुल्न लागेको पार्टीलाई सहि मार्गमा ल्याउने काम गर्नको लागि आवाज उठाउँदैमा पार्टीलाई नै विभाजनमा ल्याउन लागेको भन्ने चाहिं ठिक भएन। हामीले नाजायज तवरले कुरा उठाएको भए पार्टीको प्रवृति फुटाउने तिर हुन्थ्यो होला तर हामीले भएको पार्टी नेपाली कांग्रेसलाई सुधार गरेर संस्थागत रुपमा विधिसम्बत नियमसम्मत अनुशासित तवरले यो पार्टी अगाडि बढाउनुपर्छ भन्ने हो।

त्यसो भए जिल्ला सभापतिहरुको भेला बोलाउनुको औचित्य के हो?

त्यसमा के हो भन्दा अब अस्तिको केन्द्रीय कार्यसमिति जुन एकलौटी तवरले पार्टीको परम्परालाई र प्रजातान्त्रिक पार्टी भित्र निर्णय गर्दाखेरी जुन अपनाउनुपर्ने, पुरा गर्नुपर्ने कुराहरुलाई वेवास्ता गरेर जवरजस्त गरेपछी त्यसलाई सच्याउन के गर्नुपर्छ भनेर परामर्श गर्नका लागि पार्टी जिल्ला सभापतिहरुको भेला बोलाएका छौं।

निर्वाचन भइसकेपछि अहिलेसम्म आउँदा पार्टी सभापतिले गरेका एकलौटी निर्णयहरु दर्जनौं पुसिकेका होलान्। अब अति भयो भन्न लागेको हो तपाइहरुलाई? विभिन्न सञ्चारमाध्यमहरु हेर्दा लोकतान्त्रिक बाटोमा जानको लागि पार्टी सभापति हटाउ अभियान आन्तरिक रुपमा चलाइएको भन्ने छ। के यो साँचो हो? यसमा तपाईको टिप्पणी के छ?

अब चौधौं महाधिवेशन आउँदै छ। महाधिवेशन त नेतृत्व परिवर्तको पनि ठुलो अवसर हो। एउटा प्रजातान्त्रिक पार्टीभित्र तेह्रौं महाधिवशनले निर्वाचित गरेको नेतृत्वले पार्टीको विधान अनुसार निर्देशित गरेका कामहरु गर्न नसक्ने, समयमा पार्टीलाई व्यवस्थित रुपमा चलाउन पनि नसक्ने र अवसर पाएर पनि नेतृत्व प्रदान गर्न नसक्ने भएपछि त केही काम नै गर्न नसक्ने विधानले निर्देशित गरेका कामकुराहरु पनि गराउन नसक्ने कार्यान्वयन गराउन नसक्ने त्यही नेतालाई फेरि दोहो-याउने भनेको त पार्टीभित्र दुर्घटनामा जाने हो।

त्यही कारणले गर्दा प्रजातान्त्रिक तरिका बाट अब चाहीँ नयाँ नेतृत्वको आवश्यकता कांग्रेसलाई छ। त्यसमा हामीले गृहकार्य गरिरहेका छौं। मलाई पूर्ण विश्वास छ की वर्तमान नेतृत्व असफल भएको कारणले गर्दा नेपाली कांग्रेसको राष्ट्रिय राजनीतिमा जुन पुरानो प्रभाव थियो अहिले नहुनुको कारण नेतृत्वको कमजोरीको कारणले भएकोले गर्दा प्रजातान्त्रिक पार्टीमा प्रजातान्त्रिक तरिकाबाट नयाँ नेतृत्वको आवस्यकता परेको छ। समयको माग बमोजिक हामी अगाडि बढेका छौं।

अन्तिममा बुधबार बेलुका पदाधिकारीहरुको अनौपचारीक भेला छ। बिहीबार केन्द्रीय कार्यसमितिको बैठक छ। पार्टी तपाइहरुकै हो त्यसैले अब तपाइहरुको उपस्थिति कसरी हुन्छ?

हाम्रो उपस्थिति त गएको केन्द्रीय कार्यसमितिको निर्णय नसच्याए सम्म हुँदैन्। त्यसमा हामी अलग्गै बस्छौं। तर पार्टीलाई सही बाटोमा ल्याउनको लागि पार्टी भित्र दवाव सिर्जना गरेर बाध्य बनाउनको लागि प्रयास गर्छौं।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad