ad ad

राजनीति


शेरबहादुर देउवा : वचनका पक्का, गुन तिर्न खप्पिस

शेरबहादुर देउवा : वचनका पक्का, गुन तिर्न खप्पिस

फाइल तस्बिर


केशव सावद
फागुन २०, २०७९ शनिबार ८:२२, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाली राजनीतिका समकालीन नेताहरुमध्ये विषयवस्तुप्रति गहनता नभएका, वैचारिक र तार्किक क्षमता कमजोर भएका र दम्भी स्वभावका नेताका रूपमा चित्रित गरेर विभिन्न टिकाटिप्पणी हुँदै आएको छ। 

उनलाई सतही रुपमा बुझेकाहरु र फरक दलका नेता–कार्यकर्ताको धारणा र तर्कमा समर्थन गर्दै कांग्रेसभित्रकै एक समूहले सभापति देउवाका कमी–कमजोरीहरु देखाइ पनि रहन्छन्। सञ्चारमाध्यममा पनि उनीप्रति नकारात्मक भाव बढाउने लेखहरु बेलाबखत प्रकाशित पनि भइरहन्छन्। 

देउवाले आफूविरुद्ध सञ्चारमाध्यम, सामाजिक सञ्जाल र सार्वजनिक स्थलमा हुने टिका–टिप्पणीलाई देखिने गरी वास्ता गरेको विरलै देखिने गरेको छ। राजनीतिक रुपमा हुने आफूमाथिको प्रहारलाई बेलाबखत भाषणका क्रममा प्रष्टयाए पनि सञ्चारमाध्यमविरुद्ध भने उनी प्रायः रुखो सुनिँदैनन्। 

सभापति देउवालाई नजिकबाट चिनेका राजनीतिकर्मीहरु भने नेतृत्वका लागि क्षमतावान्, व्यवस्थापकीय कुशलतायुक्त, पढे–लेखेका र वचन दिएपछि पछाडि नहट्ने नेताका रुपमा उनलाई चित्रित गर्छन्।

‘संगत नहुँदासम्म मस्तिष्कमा बनेको चित्र संगत गरेपछि परिवर्तन हुन्छ नि हैन?’ उनीविरुद्ध डडेल्धुरामा निर्वाचन लड्दै आएका नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट भन्छन्, ‘शेरबहादुर देउवा र उहाँबारे हुने टिप्पणी एकआपसमा मेल खाँदैनन्।’

उनी आफ्ना प्रतिस्पर्धी देउवालाई नेता–कार्यकर्ता र जनताका कुरा सहजतापूर्वक सुन्ने, सहज खालको, स्वाभाव र व्यवहारमा असल र असाधारण क्षमता भएको नेताका रुपमा लिन्छन्। 

‘कतिपय कुराहरु मिल्दैनन्। वैचारिक र राजनीतिक भिन्नताका  कुरा फरक हुन्,’ सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका नेता भट्ट भन्छन्, ‘कार्यकर्ताका कुरा सहजतापूर्वक सुन्ने, जनताका कुरा सहजतापूर्वक सुन्ने, सहजखालको, स्वभाव र व्यवहारमा असल र असाधारण क्षमता भएको नेताका रुपमा मैले महसुस गरेको छु।’

यद्यपि, कांग्रेसकै इतर समूह भने उनलाई विधान र पद्धतिको वास्ता नगर्ने, गुटलाई प्रश्रय दिने, स्वार्थका लागि जोडिएकालाई काखी च्याप्ने र विचारले जोडिएकाहरुलाई बेवास्ता गर्ने नेताका रुपमा लिन्छन्। समूह परिवर्तन गरेर नेतालाई उच्च प्राथमिकता दिँदै आएका सभापति देउवा पार्टीभित्रको आन्तरिक जोडघटाउलाई कुशल रुपमा व्यवस्थापन गर्दछन्।  

उनी निरंकुश पञ्चायती शासनव्यवस्थादेखि गणतान्त्रिक शासन व्यवस्थासम्म आइपुग्दा आफूलाई असहज परिस्थितिमा सहयोग गरेका नेताहरुको व्यवस्थापन गरेर ‘गुन’ तिर्न पनि माहिर मानिन्छन्। सभापति देउवा वचन दिएपछि पछाडि हट्दैनन् भन्ने उनीनिकट नेताहरुको दाबीमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएबाट बल पुगेको छ। 

२०७८ मंसिर २४ गते पार्टीको १४ औं महाधिवेशनमा ‘आफ्नो सिद्धान्त र आदर्श विपरीत अस्वस्थ प्रतिस्पर्धा’ हुने देखेर पौडेलले महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको घोषणा गरेका थिए। तर, त्यसको भोलिपल्ट राति ९ बजे बोहराटार (पौडेल निवास) पुगेर तत्कालीन प्रधानमन्त्री देउवाले पौडेललाई भनेका थिए, ‘राष्ट्रका लागि तपाईंको आवश्यकता छ। राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् र स्वास्थ्य राम्रो राखेर बस्नुस्।’

देउवा भेट्न गएपछि वरिष्ठ नेता पौडेल महाधिवेशनमा सहभागी त भएनन् तर उनले खुलेर इतर समूहलाई पनि सघाएनन्। जसको प्रत्यक्ष लाभ देउवालाई हुन पुग्यो। महाधिवेशनमा लगाएको गुनको पैँचो उनले अहिले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएर तिरेका छन्। 

सभापति देउवा वचनबाट पछि हट्दैनन् भन्ने अर्को उदाहरण हुन् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह। १४ औं महाधिवेशनमा कैलाली कांग्रेसको नेतृत्व चयनमा सघाएका शाहलाई उनले प्रदेश सभा निर्वाचन जिते दलको नेता बनाउने वचन दिएका थिए। 

उनले निर्वाचन पनि जिते। दलको नेता चयनका क्रममा संविधान सभा सदस्य रहिसकेका बहादुरसिंह थापादेखि देउवाकै भतिजा प्रकाशबहादुर देउवा दलको नेताका आकांक्षीका रुपमा देखिए। तर, सभापति देउवाले आकांक्षीहरुलाई कन्भिन्स गरे– ‘मैले कमललाई वचन दिइसकेको छु। तिमीहरुलाई कतै गरौंला।’ आकांक्षीहरु प्रस्तावक र समर्थक बसेर शाहलाई दलको नेता सर्वसम्मत चयन गरे।   

यसअघि देउवाले २०७८ साउनमा राष्ट्रिय राजनीतिको चर्चामै नरहेका पृथ्वीमान गुरुङलाई गण्डकी प्रदेश प्रमुख बनाएका थिए। कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दा उनी देउवालाई सघाउने नेतामध्ये पर्दछन्। कांग्रेस विभाजित भएर देउवाले कांग्रेस प्रजातान्त्रिक गठन गर्दा गुरुङ चितवन जिल्लाको सभापति बनेका थिए। 

पार्टी एकीकरणपछि उनी चितवन कांग्रेसको सहसभापति भएका थिए। २०४८ सालमै चितवनमा कांग्रेसबाट संसदीय निर्वाचनमा उम्मेदवार बनेका गुरुङ सभापति देउवाले प्रदेश प्रमुख बन्नुअघि कुनै पनि लाभको पदमा पुगेका थिएनन्। केही समय पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापन गरेका गुरुङ २०३४ सालमा कांग्रेसमा लागेको भनेर जागिर खोसिएपछि राजनीतिमा सक्रिय भएका थिए।

कांग्रेस प्रजातान्त्रिक नामक नयाँ दल गठन गर्दा बनाउँदा साथ दिएका सबैजसो नेता देउवाकै समूहमा छन्। पार्टी विभाजन गर्दाको सकसपूर्ण राजनीतिक अवस्थामा आफूलाई सघाएका विमलेन्द्र निधि र विजयकुमार गच्छदारलाई उनले १३ औं महाधिवेशनमा उपसभापतिमा मनोनीत गरेका थिए। 

अघिल्लो प्रतिनिधि सभा संसदीय दलमा समेत सभापति देउवाले आफूलाई सघाएका नेताहरुको व्यवस्थापनमा महत्व दिएका थिए। तत्कालीन संसदीय दलको उपनेता गच्छदारलाई बनाएका देउवाले खाणलाई प्रमुख सचेतक बनाएका थिए। 

जेलमा रहेको अवस्थामा कांग्रेस प्रजातान्त्रिकको सभापति बनाएको गुन उनले गोपालमान श्रेष्ठलाई आफ्नो सभापतिको पहिलो कार्यकालमा संगठन विभागको जिम्मेवारी दिएर तिरेका थिए। कांग्रेसमा संगठन विभागलाई प्रमुख विभागका रुपमा लिइन्छ। 

१३ औं महाधिवेशनमा आफ्नो पक्षमा खुलेका विश्वप्रकाश शर्मालाई उनले प्रवक्ता बनाएका थिए। उनको समूहबाट डिना उपाध्याय केन्द्रीय सदस्यमा पराजित भएकी थिइन्। तर, सभापति देउवाले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। केन्द्रीय सदस्यमा हारेका मोरङका अमृत अर्याल पनि केन्द्रीय सदस्यमा मनोनीत भएका थिए। 

पार्टी विभाजन हुँदा सुदूरपश्चिममा उनलाई सघाएका नेताहरुलाई पनि सभापति देउवाले कुनै न कुनै रुपमा अघि सारेका छन्। बैतडीका नेता नरबहादुर चन्दलाई राज्यमन्त्री बनाएका देउवाले आफ्नै सचिवालयमा काम गरेका कञ्चनपुरका बलदेव बोहरालाई सभासद बन्ने अवसर दिइसकेका छन्। 

२०७४ को निर्वाचनपछि कञ्चनपुरबाट देउवाले राष्ट्रिय सभामा तारादेवी भट्टलाई ल्याएका थिए। भट्टका पति अन्तराम लामो समयदेखि देउवासँगै छन्। उनले हरेक मोडमा अन्तरामबाट पाएको साथको गुन उनकी पत्नी तारादेवीलाई राष्ट्रिय सभा सदस्य बनाएर तिरिदिए।

कञ्चनपुरकै बहादुरसिंह थापालाई सभापति देउवाले २०७० को संविधान सभा निर्वाचनमा उम्मेदवार बनाएका थिए। कांग्रेस प्रजातान्त्रिकको सभापतिको हैसियतमा कञ्चनपुरमा कांग्रेस हाँकिसकेका थापा उक्त निर्वाचनमा विजयी भएका थिए। 

कैलालीका कांग्रेस नेता दीर्घराज भाटको राजनीति झण्डै–झण्डै समाप्त भएको अवस्था थियो। कैलाली–५ बाट दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएका उनलाई देउवाले राज्यमन्त्री बनाएका थिए।

सिनियरलाई सम्झिन्छन् देउवा
कांग्रेस सभापति देउवा आफूलाई गाह्रो–अप्ठ्यारो पर्दा सहयोग गराउने नेताहरुको व्यवस्थापनमा मात्रै माहिर नभएर कांग्रेसका पुराना नेताहरुलाई पनि सम्झिने नेतामा पर्दछन्। अघिल्लो कार्यकालमा गण्डकी प्रदेश संसदीय दलको नेता बनेका कृष्णचन्द्र नेपालीलाई देउवाकै जोडबलमा टिकट उपलब्ध भएको थियो। 

बाग्लुङका पुराना नेता मणिभद्र शर्मा कँडेललाई पनि देउवाले गण्डकी प्रदेशको सांसद बनाइसकेका छन्। बीपी कोइरालाको पालादेखि कांग्रेसको राजनीतिमा सक्रिय बलदेव शर्मा पोखरेललाई उनले लुम्बिनी प्रदेश (तत्कालीन प्रदेश ५) को सांसद बनाएका थिए। प्रदेश संसदीयको नेतासमेत रहेका पोखरेलको २०७६ माघमा ८२ वर्षको उमेरमा निधन भएको थियो। 

कांग्रेस विभाजन हुँदा कास्कीमा सबैभन्दा अघि बढेर आफूलाई साथ दिएका नेता खेमराज पौडेललाई देउवाले उपनिर्वाचनमा कास्की–२ बाट उम्मेदवार बनाएका थिए। क्षेत्रीय कार्यसमितिले सिफारिस गरेका १६ नाममध्ये पौडेल रोजेर उनले पुरानो गुन फर्काएका थिए। अघिल्लो राष्ट्रपति निर्वाचनमा सभापति देउवाले भोजपुरका पुराना कांग्रेस नेता देवानसिंह राईकी छोरी कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .