ad ad

राजनीति


यस्तो छ राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको राजनीतिक जीवन

यस्तो छ राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको राजनीतिक जीवन

फाइल तस्बिर


केशव सावद
फागुन २५, २०७९ बिहिबार १७:६, काठमाडौँ

नेपालको राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्। नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्। 

निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन्। राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो।   

पौडेलले उम्मेदवारी दर्ता गर्दा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,  जनता समाजवादी पार्टी (जसपा) का उपाध्यक्ष अशोक राई र जनमत पार्टीका नेता मो. अब्दुल खान प्रस्तावक बसेका थिए।  

उनको समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी नेता हितराज पाण्डे थिए।  

पौडेललाई सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो। 

आयोगले नवनिर्वाचित राष्ट्रपति पौडेललाई सोमबारको साइत पारेर पद तथा गोपनीयताको शपथ गराइने समेत तयारी गरेको छ। ‘वर्तमान राष्ट्रपतिको कार्यकाल २८ गतेसम्म छ। २६ गते हामी राष्ट्रपतिलाई प्रतिवेदन बुझाउँछौँ,’ आयोग उच्च स्रोतले भने, ‘२९ गते (सोमबार) समय र बार उपयुक्त भएकाले नयाँ राष्ट्रपतिको शपथ हुन्छ।’

नेपालको संविधानले राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था गरेको छ। जसअनुसार बिहीबार चुनिने नयाँ राष्ट्रपतिलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आगामी सोमबार पद तथा गोपनीयताको शपथ गराउने छन्। 

‘राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुुन बमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष र उपराष्ट्रपतिले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ,’ संविधानको धारा ७१ मा भनिएको छ। 

प्रहरीले राष्ट्रपति पौडेललाई तत्कालका लागि आवश्यकता अनुसार सुरक्षा व्यवस्था मिलाउने जनाएको छ। नेपाल प्रहरीका निमित्त केन्द्रीय प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले नयाँ राष्ट्रपतिलाई तत्कालका लागि आवश्यकता अनुसार सुरक्षा व्यवस्था मिलाइने बताए। 

‘आवश्यकताअनुसार तत्कालै सुरक्षा व्यवस्था मिलाउँछौँ,’ उनले नेपालखबरसँग भने, ‘शपथ लिएपछि पाउनु पर्ने सबै कुराहरु पाइहाल्नुहुन्छ।’ 

गएको मंसिर ४ मा सम्पन्न आम निर्वाचनपछि कांग्रेस र माओवादी मिलेर सरकार बनाउनु पर्ने बताउँदै आएका पौडेलले एमाले र माओवादीबीच पुस १० गते गठबन्धन भएपछि ‘प्रचण्डबाट कांग्रेसलाई नभई कांग्रेसले प्रचण्डलाई धोका दिएको’ टिप्पणी गरेका थिए। 

तत्कालीन समयमा उनी प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री दिएर पनि चुनावी गठबन्धन जोगाउनु पर्ने पक्षमा देखिएका थिए। पुस १० मा टुटेको तत्कालीन ५ दलीय गठबन्धन ब्युँताउन पौडेलले राजनीतिक कौशल प्रदर्शन गरेका थिए। 

२०१५ सालदेखि कांग्रेसको राजनीतिमा लागेका पौडेल २०३४ सालमा पहिलो पटक पार्टीको केन्द्रीय सदस्य बनेका थिए। १२ औं महाधिवेशनबाट उपसभापति बनेका पौडेलले कार्यवाहक सभापतिको हैसियतमा २०७२ सालमा पार्टीको १३ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेका थिए। 

पौडेलले राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म अनेक पटक गरी झण्डै १५ वर्ष जेल जीवन बिताएका छन्। उनी पहिलो पटक २०१८ को भरतपुर काण्डको विरोधमा उत्रिँदा गिरफ्तार भएर जेल परेका थिए। 

उनी कीर्तिपुर विश्वविद्यालयमा रमाइलो झोडा काण्डको विरोधमा कार्यक्रम गर्दा गिरफ्तार भएर २०२८ बाट २०३२ सम्म जेल परेका थिए।  

पौडेल २०४७ पछिका आमनिर्वाचनमा ६ पटक (वि.सं २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९) तनहुँबाट प्रतिनिधि सभा तथा संविधान सभा सदस्य निर्वाचित भएका थिए। उनले स्थानीय विकासमन्त्री, कृषि तथा सहकारीमन्त्री, उपप्रधानमन्त्री तथा गृहमन्त्री, सञ्चारमन्त्री, जलस्रोत, शिक्षामन्त्री र उपप्रधान तथा शान्ति पुनःनिर्माणमन्त्री भएर सरकार सञ्चालनको अनुभव बटुलिसकेका छन्। 

प्रतिनिधि सभाका पूर्वसभामुखसमेत रहेका पौडेल मानव अधिकारसम्बन्धी विभिन्न पुरस्कारसहित जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित भइसकेका छन्। 

उनका प्रजातान्त्रिक समाजवाद, आस्थाको यात्रा, कृषि क्रान्ति र समाजवाद, राजनीतिको मार्ग, नेपाली कांग्रेस रूपान्तरणको मार्गलगायत दर्जनबढी पुस्तक र विभिन्न विषयमा नेपालको राष्ट्रिय, साप्ताहिक तथा अनलाइन मिडियाहरूमा समसामयिक लेखहरु प्रकाशित छन्।

तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सधैं मध्यस्थता गरेकाले उनलाई कांगे्रसभित्र मध्यमार्गी नेताका रुपमा चिनिन्छ।

सशस्त्र द्वन्द्वरत तत्कालीन नेकपा माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका पनि उनले खेलेका थिए। उनी १२ बुँदे सहमति र विस्तृत शान्ति सम्झौताका मस्यौदाकारमध्येमा पनि पर्दछन्। 

पौडेल ‘संविधानको रक्षा, प्रतिनिधि सभाको सुरक्षा’ भन्दै कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच गठबन्धन गरी चुनावमा जाने रणनीतिका सूत्रधार पनि मानिन्छन्। 

तर उनी यसअघि पार्टी र सरकार दुवैतर्फ सर्वाेच्च नेतृत्वमा पुग्न भने उनी असफल रहँदै आएका थिए। २०६७ सालमा प्रधानमन्त्रीका लागि उनले १७ पटक प्रतिस्पर्धा गरे। तर, सो पदमा उनी पुग्न सफल भएनन्। 

त्यस्तै पार्टी सभापतिको चुनाव पनि उनले हारे। त्यसैले कतिपयले उनलाई असफल नेताका रुपमा लिने गरेका थिए। तर, राजनीतिक जीवनको उत्तरार्धमा उनी मुलुककै सर्वोच्च पदमा निर्वाचित भएका छन्।

२००१ असोज २९ गते तनहुँको मिलुङ्, बाहुनपोखरा (हालको व्यास नगरपालिका–८) मा आमा ऋषिमाया र बुबा दुर्गाप्रसादको कोखबाट मध्यमवर्गीय किसान परिवारमा जन्म भएको थियो। सविता पौडेलसँग वैवाहिक बन्धनमा बाँधिएका पौडेलका चार छोरी र एक छोरा छन्।  

तनहुँको व्यास नपा–२ अमरापुरी बसोबास भएका नेता पौडेल काठमाडौँको बोहराटारमा बस्दै आएका छन्। उनले नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृतमा शास्त्रीसम्मको अध्ययन गरेका छन्।

राजनीतिक संलग्नता
हिमालयन छात्र संघ स्थापना (पोखरामा), २०१६। पोखरा विन्ध्यवासिनी पाठशालामा अध्ययन गर्दै गर्दा २०१७ साल जेठ/असारमा नेपाल संस्कृत छात्र संघको काठमाडौं अधिवेशनमा प्रतिनिधि।

२०१७ पुस १ गते जननिर्वाचित संसद् भंग गरी प्रधानमन्त्री बीपी कोइराला लगायत नेतालाई जेलमा राखिएको विरोध गर्दै प्रजातान्त्रिक आन्दोलनमा सहभागी। 

नन्दी रात्रि माविबाट एसएलसी परिक्षा उत्तीर्ण। नन्दी रात्रि मावि विद्यार्थी संघको संस्थापक अध्यक्ष। 

रानीपोखरी मावि विद्यार्थी संघको अध्यक्ष। 

जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व।  

२०१९ सालमा नेपाल संस्कृत विद्यार्थी संघको संगठन सचिवको हैसियतमा २०१९/०२० सालमा उपत्यका आन्दोलनमा गिरफ्तार। २०२०/०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा गिरफ्तार। 

गण्डकी छात्र संघको संस्थापक अध्यक्ष, २०२३।

सरस्वती कलेज स्वतन्त्र विद्यार्थी युनियन सभापति निर्वाचित, २०२३।

प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक महासचिव, २०२४।

नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, २०२७ (संघको स्थापनामा मुख्य भूमिका निर्वाह)।

नेपाली कांग्रेस तनहुँको सदस्य (२०३४) र जिल्ला उपसभापति (२०३६)।

जनमत संग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्न गठित नेपाली कांग्रेस तनहुँ समितिको संयोजक २०३७।

नेपाली कांगे्रस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख, २०४०।

नेपाली कांगेस केन्द्रीय केन्द्रीय सदस्य, २०४३।

नेपाली कांगेस केन्द्रीय महामन्त्री, (२०६२–२०६४)।

नेपाली कांगेस केन्द्रीय उपसभापति, (२०६४–२०७२)।

नेपाली कांग्रेस संसदीय दलको नेता, (२०६४–२०७०)।

नेपाली कांगेस केन्द्रीय कार्यवाहक सभापति, २०७२।

नेपाली कांग्रेस केन्दीय सदस्य, हालसम्म।

जेल जीवन
–भरतपुर कब्जा गर्ने नेपाली कांग्रेसको सशस्त्र संघर्षमा संलग्न भएको आरोपमा २०१८ मा काठमाडौंबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासतको सजाय। 

–विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार र एक वर्ष हिरासतमा बन्दी, २०२१

–डीआईजी काण्डमा गिरफ्तार भई नख्खु जेलमा रहँदा पहिलो पटक गिरिजाबाबुसँग भेट, २०२३

–प्रजातान्त्रिक समाजवादी युवा संघको महासचिव भएको आरोपमा पोखरामा गिरफ्तार गरी करिब १५ महिना हिरासतमा राखिएको, २०२४ (पोखरामा ९ महिना र काठमाडौंमा ६ महिना)

–प्रजातान्त्रिक समाजवादी युवा संघको संगठन विस्तारका लागि पश्चिमाञ्चल क्षेत्रमा सक्रिय रहेको आरोपमा गिरफ्तार गरी पुनः एक वर्ष काठमाडौमा जेलमा राखिएको, २०२५/२०२६

–नेपाल विद्यार्थी संघ स्थापनामा नेतृत्व गरेको आरोपमा काठमाडौंमा ३ महिना हिरासत, २०२७

–रमाइलो झोडा काण्डको विरोधमा प्रदर्शन गरेको आरोपमा २०२८ मा गिरफ्तार गरी २०३२ सम्म निरन्तर ४ वर्ष बन्दी। 

–नेपाली कांग्रेसको पटना सम्मेलन (सन् १९७७) मा सक्रिय रहेको भनी २०३४ मा गिरफ्तार, १० महिना हिरासत। यसै सम्मलेलनद्वारा नेपाली कांग्रेसले पञ्चायतको अन्त्य र प्रजातन्त्र पुनस्र्थापनाका लागि सत्याग्रह गर्ने निर्णय गरेको थियो। 

–जनमत संग्रहको सिलसिलामा बहुदलीय व्यवस्थालाई जिताउन सक्रिय रहेकै अवस्थामा २०३६ मा गिरफ्तार, ६ महिना हिरासत। 

–पञ्चायती व्यवस्थाअन्र्तगत २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन नेपाली कांगे्रसको निर्णयअनुसार बहिष्कार अभियानमा सक्रिय रहँदा पक्राउ। ६ महिना हिरासत। 

–पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनस्र्थापनाका लागि कांग्रेसले गरेको सत्याग्रह (२०४२) सफल बनाउन सक्रिय रहेको आरोपमा गिरफ्तार। ९ महिना हिरासत, २०४२ 

–२०४६ सालको जनआन्दोलनमा कांग्रेसका विभिन्न विभाग तथा शाखाहरूबारे पत्रपत्रिकामा प्रकाशन गरी सार्वजनिक गरेको आरोपमा छापाखाना तथा प्रकाशन ऐन उल्लंघन गरेको अभियोगमा ३ महिना हिरासत, २०४५

–बहुदलीय व्यवस्थाको पुनस्र्थापनार्थ धौलागिरि अञ्चलका जिल्लामा पार्टी संगठन विस्तार र आन्दोलनको तयारीको सिलसिलामा  गिरफ्तार गरी बागलुङ जेलमा ५ महिना हिरासत, २०४६

–शाही कदम (२०५९) पछि करिब एक वर्ष नजरबन्द र हिरासत, २०५९

–दोस्रो जनआन्दोलन २०६२/२०६३ का दौरान पटकपटक गिरफ्तार र गृहबन्दीमा राखिएको

–यी लगायत छोटो समयका लागि पटकपटक गिरफ्तार र हिरासतमा राखिएको। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .