ad ad

राजनीति


एमालेले सम्हालेका ८ मन्त्रालय कांग्रेसलाई, परराष्ट्रमा आरजुको चर्चा

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार
एमालेले सम्हालेका ८ मन्त्रालय कांग्रेसलाई, परराष्ट्रमा आरजुको चर्चा

फाइल तस्बिर


केशव सावद
फागुन २९, २०७९ सोमबार १८:१९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नेकपा एमालेले सम्हालेका मन्त्रालयहरु नेपाली कांग्रेसलाई दिएर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। प्रचण्ड सरकारमा एमालेले आठवटा मन्त्रालय पाएको थियो।

गत पुस १० गते गठन भएको प्रचण्ड नेतृत्वको सरकारमा एमालेले अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, उद्योग, भूमिसुधार, महिला बालबालिका र कृषि मन्त्रालयहरु सम्हालेको थियो। 

तर, राष्ट्रपतिको निर्वाचनका लागि प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितका सत्तापक्ष र प्रतिपक्षमा रहेका दलहरुसँग नयाँ समीकरण बनाएपछि एमालेले फागुन १५ गते आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएका थियो।

राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धन बनेपछि राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि फागुन १३ गते आफ्ना मन्त्रीहरु फिर्ता बोलाएको थियो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सरकारबाट बाहिरिएको थियो। 

राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्री तथा रास्वपाका २ मन्त्री र १ राज्यमन्त्री थिए। सरकार गठनको सुरुवातमा रास्वपाले गृह मन्त्रालय पनि पाएको थियो। तर, गृहमन्त्री रवि लामिछानेले नागरिकता सम्बन्धी मुद्दामा सर्वाेच्च अदालतको फैसलापछि राजीनामा दिएका थिए। 

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएसँगै खाली भएका १३ र आफूले त्यसअघि नै हेर्दै आएका ३ मन्त्रालय (गृह, वन तथा वातारण र युवा तथा खेलकुद) सहि १६ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्।

उनले रास्वपाका अध्यक्ष लामिछानेले सम्हालेको गृह माओवादी केन्द्रसँग राखेर एमालेले सम्हालेका ८ मन्त्रालय कांग्रेसलाई दिने र बाँकी रहेका मन्त्रालयहरु अन्य दललाई दिने तयारी गरेका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवानिकट एक नेताले प्रधानमन्त्री मातहत रहेका १६ मन्त्रालयमध्ये ८ कांग्रेसले र १ माओवादीले राखेर बाँकी रहेका मन्त्रालयहरु अन्य दललाई दिने तयारी भइरहेको जानकारी दिए। 

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले फागुन २५ मा सम्पन्न राष्ट्रपति निर्वाचनका लागि एक ठाउँमा उभिएका १० वटै दललाई सरकारमा सहभागी गराउन खोजेका छन्। 

राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी एक ठाउँमा उभिएका थिए। रास्वपाले भने अघोषित रुपमा ७ दलीय गठबन्धनका उम्मेदवारलाई सघाएको थियो।

‘कांग्रेसलाई एमालेले राजीनामा दिएका आठ मन्त्रालय दिएर माओवादीले ५ मन्त्रालय लिने र बाँकी रहेका मन्त्रालयहरु अरु दलहरुलाई दिने तयारी भइरहेको छ,’ ती नेताले भने। अहिले माओवादीले प्रधानमन्त्रीबाहेक ४ मन्त्रालय सम्हालिरहेको छ। 

माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री, रेखा शर्मा सूचना प्रविधि तथा सञ्चारमन्त्री, सुदन किराँती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा समान्य प्रशासनमन्त्री र सुशीला श्रीपाली ठकुरी पर्यटन राज्यमन्त्री छन्। 

पूर्णबहादुर र प्रकाशमानमध्ये एकले नेतृत्व गर्ने
प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य प्रकाशमान सिंहमध्ये एक जनाले पार्टीको नेतृत्व गर्ने सम्भावना छ। सभापति देउवानिकट नेताहरु उपसभापति खड्काले चाहना राखेको अवस्थामा उनले नै सरकारमा पार्टीको नेतृत्व गर्ने बताउँछन्। 

‘सिनियर उपसभापति भएका कारण पूर्ण दाइ स्वाभाविक दाबेदार हुनुहुन्छ। तर, उहाँले सुर्खेत पुगेर मन्त्री नबन्ने अभिव्यक्ति दिनुभयो,’ एक नेता भन्छन्, ‘उहाँ इच्छुक नभएको अवस्थामा सभापतिले पठाए नेतृत्व गरेर जान त अरुअरु पनि तयार हुनुहुन्छ।’ 

ती नेताको संकेत केन्द्रीय सदस्यहरु विलेन्द्र निधि र प्रकाशमान सिंहतर्फ थियो। 

निधिले पनि पार्टीका तर्फबाट सरकारको नेतृत्व लिन खोजिरहेका छन्। पार्टीको नेतृत्व गरेर जाने अवस्था नदेखिए पूर्वउपसभापतिसमेत रहेका निधि मन्त्री भने नबन्ने उनी निकट ती नेताको भनाइ छ। 

‘बाहिर कहीँ कतै कुरा गर्नुभएको त छैन। सभापतिले पठाउँदा नाइँ भन्ने कुरा हुन्न,’ ती नेता भन्छन्, ‘तर, अरुको नेतृत्वमा उहाँ मन्त्री बन्नुहुन्न।’ 

उपसभापति र महामन्त्रीको दायित्व निर्वाह गरिसकेका नेता प्रकाशमान सिंहको नेतृत्वमा पनि कांग्रेस सरकारमा सहभागी हुने सम्भावना रहेको नेताहरु बताउँछन्।

उनीहरु सिंहलाई उपप्रधानमन्त्री बनाएर १४ औं महाधिवेशनमा लगाएको गुन तिर्न सभापति देउवालाई सल्लाह दिइरहेका छन्। सिंहले दोस्रो चरणमा समर्थन गरेपछि देउवालाई सभापतिमा निर्वाचित हुन मद्दत पुगेको थियो। 

सिंहलाई भूमिका दिँदा काठमाडौंको राजनीतिमा संस्थापन पक्ष थप सुदृढ हुन सक्ने आकलनका बारेमा पनि देउवालाई बुझाइएको एक नेता बताउँछन्। तर, चाक्सीबारीनिकट स्रोत भने पार्टीको नेतृत्व गरेर सरकारमा जानेबारे कुनै छलफल नभएको बताउँछ।

‘मन्त्रालय र मन्त्री को–को बन्ने भन्नेबारे छलफल भएको छैन,’ उनले नेपालखबरसँग भने, ‘यसबारे सभापतिले छलफल सुरु गर्नु भयो भने उहाँ (सिंह) ले आफ्नो कुरा राख्नु होला।’ 

कांग्रेस सरकारमा जाँदा केन्द्रीय सदस्य डा. शेखर कोइरालाको नेतृत्वमा जानु पर्ने इतर समूहका नेताहरुको चाहना देखिन्छ। उनीहरु सभापति देउवाले कोइरालालाई नेतृत्व दिएर सरकारमा पठाउनु पर्ने बताउँदै आएका छन्।   

तर, उनका स्वकीय सचिव दिनेश थपलियाले भने नेता कोइरालाको सरकारमा जानेबारे कुनै सोच नभएको प्रतिक्रिया दिए।

‘सरकार गठनका बारेमा छलफल नै भएको छैन। यो बारे न नेताहरुका बीचमा न पार्टीमा कुरो भएको छ,’ उनले नेपालखबरसँग भने, ‘सरकारमा जाने, सरकारको नेतृत्व गर्ने न कतै बोल्नु भएको छ, न सोच्नु नै भएको छ।’

परराष्ट्रमा आरजुको चर्चा
कांग्रेसका नेताहरु पार्टीका तर्फबाट प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने अनुहारका बारेमा छलफल नै सुरु नभएको बताउँछन्। उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि मात्रै यसबारे छलफल सुरु हुने उनीहरुको भनाइ छ। 

‘कांग्रेस सरकारमा जान्छ, को–को मन्त्री पठाउने भन्ने चरणमा हामी पुगेकै छैनौँ, छलफल हुनै बाँकी छ,’ कांग्रेस उपसभापति पूर्णबहादुर खड्का भन्छन्, ‘उपराष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री विश्वासको मत लिनुहुन्छ। त्यसपछि सरकारका बारेमा छलफल हुन्छ।’ 

नेताहरुले औपचारिक रुपमा सरकारमा सहभागी हुने अनुहारका बारेमा छलफल सुरु नभएको बताए पनि कांग्रेसमा सम्भावित मन्त्रीहरुको चर्चा भने सुरु भइसकेको छ। कांग्रेसका एक शीर्ष नेताका विश्वासपात्र आन्तरिक रुपमा मन्त्रीहरुका बारेमा छलफल जारी रहेको बताउँछन्।

ती विश्वासपात्रले परराष्ट्रमन्त्रीमा प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाको सम्भावना प्रबल रहेको समेत दाबी गरे। उनले कञ्चनपुर–२ बाट निर्वाचित एनपी साउद, तेह्रथुमबाट निर्वाचित सीता गुरुङको पनि मन्त्री बन्ने सूचीमा नाम रहेको बताए। कांग्रेसबाट मन्त्री बन्नेमा प्रवक्ता डा. प्रकाशशरण महत र मोहनबहादुर बस्नेतको नाम पनि चर्चामा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .