ad ad

राजनीति


शेखर समूहबाटै २५ बढी सांसद मन्त्रीका आकांक्षी

शेखर समूहबाटै २५ बढी सांसद मन्त्रीका आकांक्षी

फाइल तस्बिर


केशव सावद
चैत १, २०७९ बुधबार १८:४१, काठमाडौँ

नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट मात्रै दुई दर्जन बढी सांसदहरु मन्त्रीका आकांक्षी देखिएका छन्।

इतर समूहमा रहेका ३२ मध्ये २६ जना सांसदहरु मन्त्री बनाइदिन आग्रह गर्दै डा. शेखर कोइरालाको निवास धाइरहेका छन्। कोइरालाले सो समूहको नेतृत्व गरिरहेका छन्।

यद्यपि, कांग्रेसले सरकारमा पठाउने मन्त्रीहरुबारे पार्टीमा औपचारिक रुपमा छलफल नै सुरु गरेको छैन। तर, आकांक्षीहरु मन्त्री बन्न दौडधूप भने गरिरहेका छन्। 

पार्टीका तर्फबाट सरकारमा जान इच्छुक इतर समूहमा रहेका दुई दर्जन बढी सांसदहरुले नेता कोइरालासँग मन्त्री बनाइदिन आग्रह गरेका उनीनिकट स्रोतले जनाएको छ। 

‘हाम्रो समूहमा ३२ जना सांसदहरु छन् भन्छौं। तीमध्ये २५/२६ जनाले मन्त्री बनाइदिन भनेर डाक्टर सापसँग भेटघाट र छलफल गरिसक्नुभएको छ,’ कोइरालाका एक विश्वासपात्रले भने।

उनले इतर समूहका मात्रै नभएर संस्थापन समूहबाट मन्त्री बन्न इच्छुक सांसदहरु पनि भेटघाटका लागि कोइरालानिवास पुग्ने गरेको बताए। 

‘हाम्रो समूहका मात्रै नभएर संस्थापन समूहबाट मन्त्री बन्न इच्छुक नेताहरुको पनि भेटघाट बाक्लै छ,’ उनले भने, ‘भोलिका दिनमा सघाउँछौं। अहिले वातावरण बनाइदिन पर्यो भनेर उहाँहरु आउने गर्नुभएको छ।’ 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नेकपा एमालेले सम्हालेका मन्त्रालयहरु कांग्रेसलाई दिएर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। प्रचण्ड सरकारमा एमालेले आठ वटा मन्त्रालय पाएको थियो।

गत पुस १० गते गठन भएको प्रचण्ड नेतृत्वको सरकारमा एमालेले अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, उद्योग, भूमिसुधार, महिला बालबालिका र कृषि मन्त्रालय सम्हालेको थियो। 

तर, राष्ट्रपतिको निर्वाचनका लागि प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितका सत्तापक्ष र प्रतिपक्षमा रहेका दलहरुसँग नयाँ समीकरण बनाएपछि एमालेले फागुन १५ गते आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएको थियो।

इतर समूहबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारको मन्त्रीमा चर्चा छ। यस्तै दिपक गिरी, सञ्जयकुमार यादव, तेजुलाल चौधरी, राजेन्द्र बजगाईं, डिगबहादुर लिम्बु, सुनील शर्मा, सुरेन्द्रराज आचार्यलगायतका नेताहरु पनि आकांक्षी छन्। 

इतर समूहबाट २५ बढी सांसदहरुले आकांक्षा राखे पनि उपसभापति गुरुङ र सहमहामन्त्रीद्वय पाण्डे र परियारको सम्भावना बलियो रहेको एक केन्द्रीय सदस्य बताउँछन्।

‘यसअघि मन्त्री बनिसक्नुभएकाहरु दोहोर्याउनु भन्दा नभएकाहरुलाई प्राथमिकता दिँदा राम्रो हुन्छ,’ इतर समूहबाट मन्त्रीका आकांक्षी रहेका एक नेता भन्छन्, ‘हामी इच्छा राख्ने थुप्रै छौँ। तर, पदाधिकारीहरुले चाहनुभयो भने सम्भावना बढी हुने नै भयो।’

इतर समूहबाट महामन्त्रीमा निर्वाचित प्रतिनिधि सभा सदस्य गगन थापाले भने केही दिनअघि मात्रै मन्त्री नबन्ने संकेत गरिसकेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार आयोजना गरेको अन्तक्रियामा उनले मन्त्री नबन्ने बताएका थिए।  

‘मैले ५ वर्षका लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो। मैले सबै कामहरु नेपाली कांग्रेसको महामन्त्री भएर काम गर्ने हो। सांसद भएर काम गर्ने हो,’ महामन्त्री थापाले भनेका थिए, ‘न म अहिले मन्त्री बन्ने हो, न बन्न मिल्छ, न म बन्दै छु पनि।’

इतर समूहको नेतृत्व गरिरहेका नेता कोइराला भने पार्टीको नेतृत्व गरेर सरकारमा सहभागी हुन इच्छुक रहेको उनीनिकट नेताहरु बताउँछन्। कांग्रेस सरकारमा जाँदा कोइरालाको नेतृत्वमा जानु पर्ने इतर समूहका नेताहरुको चाहना देखिन्छ। 

तर, उनका स्वकीय सचिव दिनेश थपलिया भने नेता कोइरालाको सरकारमा जानेबारे कुनै सोच नभएको बताउँछन्।

‘सरकार गठनका बारेमा छलफल नै भएको छैन। योबारे न नेताहरुका बीचमा न पार्टीमा कुरो भएको छ,’ उनी भन्छन्, ‘सरकारमा जाने, सरकारको नेतृत्व गर्ने न कतै बोल्नु भएको छ, न सोच्नु नै भएको छ।’

नेता कोइराला भने सरकारमा पार्टीको नेतृत्व गरेर जाने विषयमा खुलेर बोल्दैनन्। बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि तपाईंको नेतृत्वमा सरकारमा जाने भन्ने चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘तपाईंले सुन्नुभएको रहेछ, धन्यवाद।’

कांग्रेस सरकारमा सहभागी हुन्दा कम्तीमा आठ मन्त्रालय पाउने लगभग निश्चित छ। जसमध्ये कम्तीमा तीन मन्त्रालय आफूहरुले पाउनु पर्ने इतर समूहका नेताहरु बताउँछन्। 

‘मन्त्रालयमा पनि ६०–४० को भागबण्डा हुनुपर्छ,’ इतर समूहमा रहेका केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ भन्छन्, ‘आठ मन्त्रालय कांग्रेसले पाउँदा तीन हामीले पाउनु पर्छ।’  

प्रधानमन्त्रीले उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेपछि विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले उपराष्ट्रपतिको चुनावपछि विश्वासको मत लिने तयारी भएको बताए।

‘प्रधानमन्त्रीले चैत ६ या ७ गते विश्वासको मत लिनु हुन्छ,’ गजुरेलले नेपालखबरसँग भने, ‘त्यसका लागि सरकारलाई समर्थन गर्ने दलहरुसँग छलफल भइरहेको छ।’

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि सरकार विस्तार हुने बताए। 

‘अहिले यो विषय छलफलमा प्रवेश गरेको छैन,’ कांग्रेस सरकारमा सहभागी हुनेबारे उनी भन्छन्, ‘विश्वासको मत लिइसकेपछि सबै कुराहरु अगाडि बढ्छ।’ 

कांग्रेस नेता कोइराला पनि प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि मन्त्रिपरिषद् विस्तार प्रक्रिया अगाडि बढ्ने बताउँछन्।

कांग्रेस सरकारमा सहभागी हुनेबारे पत्रकारको जिज्ञासामा बुधबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि उनले भने, ‘हामीहरु विश्वासको मत लिएपछि मात्रै सरकारमा जान्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .