ad ad

राजनीति


गैरआवासीय नेपालीले राष्ट्रपति पौडेलसँग उठाए नागरिकताको विषय

गैरआवासीय नेपालीले राष्ट्रपति पौडेलसँग उठाए नागरिकताको विषय

राष्ट्रपति पौडेलसँग भेट्दै गैरआवासीय नेपाली। तस्बिर : गैरआवासीय नेपाली संघ


नेपालखबर
चैत ३, २०७९ शुक्रबार १४:३६, काठमाडौँ

गैरआवासीय नेपालीहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर नागरिकताको विषयबारे ध्यानाकर्षण गराएका छन्।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापा र अध्यक्ष कुल आचार्यसहितले शुक्रबार पौडेलसँग भेटेर आफूहरुले लामो समयदेखि उठाउँदै आएको नागरिकताको विषय समाधानका लागि पहल गरिदिन भनेका हुन्।

भेटमा संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताको प्रावधानसमेत समेटिएको नागरिकता विधेयकलाई यथाशक्य पूर्णता दिने पहलका लागि आग्रह गरे।

कार्यकारी अध्यक्ष थापाले पनि लामो समयदेखि उठाउँदै आएको नागरिकताको विषय सम्बोधन गर्न राष्ट्रपतिसमक्ष आग्रह गरे।

अध्यक्ष आचार्यले  गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिमाथिको अधिकारबारे स्पष्ट कानुनी व्याख्या नहुँदा समस्या भोग्नुपरेको भन्दै यसको सम्बोधनका लागि पनि आग्रह गरे।

नेपालमा लगानीको वातावरण स्थापित गर्न अझै कयौँ कानूनी व्यवधान रहेको भन्दै अध्यक्ष आचार्यले पूँजी पलायन रोक्न र लगानी भित्र्याउने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताए।

कार्यक्रममा संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाली जहाँ रहे पनि समृद्ध नेपाल निर्माणका लागि उत्साही र इच्छुक रहेको बताए।

गैरआवासीय नेपालीहरुले समृद्ध मुलुक निर्माणका लागि आफ्नो तर्फबाट अभियान थालिसकेको भन्दै डा. महतोले उक्त अभियानको कुशल अभिभावकत्वका लागि राष्ट्रपति पौडेललाई अनुरोध गरे।

गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले आफू गैरआवासीय नेपालीका गतिविधि र अभियानबारे जानकार रहेको भन्दै संघले उठाएका मुद्दा सम्बोधनमा सकारात्मक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

गैरआवासीय नेपाली नागरिकताको विषय नागरिकता विधेयकमै समावेश भएको र त्यसमा कुनै समस्या नरहेकोले त्यो विषय पनि केही समयभित्रै सम्बोधन हुने राष्टपति पौडेलको भनाइ थियो ।

राष्ट्रपति पौडेलले समग्र मुलुकको विकासका लागि हातेमालो गर्न गैरआवासीय नेपालीलाई आह्वान गर्दै आफ्नो तर्फबाट गर्नुपर्ने सहकार्यका लागि तयार रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .