ad ad

राजनीति


रवि लामिछानेको पासपोर्ट मुद्दा पनि पुग्न सक्छ सर्वोच्च

रवि लामिछानेको पासपोर्ट मुद्दा पनि पुग्न सक्छ सर्वोच्च

नेपालखबर
चैत ६, २०७९ सोमबार २२:२२, काठमाडौँ

प्रहरी र वकिल कार्यालयले दर्ता गर्न अस्वीकार गरेको रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा पनि सर्वोच्च अदालत पुग्ने भएको छ। यसअघि नागरिकता सम्बन्धी रिट दायर गरेका सिन्धुलीका युवराज सफलले नै राहदानी दुरुपयोग लगायतको कसुरमा सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेका हुन्। 

सोमबार मात्रै महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले रवि लामिछानेविरुद्ध राहदानी सम्बन्धी कसुरमा मुद्दा नचलाउने निर्णय गरेका थिए। त्यसअघि प्रहरीले अनुसन्धानका क्रममा मुद्दा चलाउनु पर्ने नदेखिएको ठहरसहित जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। प्रहरी प्रतिवेदनकै आधारमा तीन तहका वकिल कार्यालयले पनि निर्णय गर्दै रविलाई क्लिन चिट दिएका हुन्। 

तर यही विषयमा सर्वोच्च जाने बाटो खुला छ। 

‘सर्वोच्च अदालतको फैसलाले नै राहदानी ऐन अनुसार निरुपण गर्नु भनेको देखिन्छ। यथेष्ठ प्रमाण हुँदाहुँदै वकिल र प्रहरीले उन्मुक्ति दिएका छन्,’ युवराजले नेपालखबरसँग भने। 

उनले उन्मुक्ति दिने कार्यमा संलग्न काठमाडौं प्रहरी, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, उच्च सरकारी वकिल कार्यालय पाटन र महान्यायाधिवक्ता कार्यालय समेतका संलग्न अधिकारीहरुलाई समेत विपक्षी बनाउने भएका छन्। 

उनीहरुले अख्तियारीको दुरुपयोग गरेको र कसुरदारलाई उन्मुक्ति दिन मतियार बनेको युवराजले प्रतिक्रिया दिए। 

‘रवि लामिछानेलाई पनि मुद्दा दर्ता गरी हदैसम्मको कारबाही माग गर्छु’, उनले भने। यसअघि नागरिकता मुद्दा पनि सर्वोच्च अदालतबाटै किनारा लागेको थियो। 

रविले निर्वाचनमा उम्मेदवारी दिएपछि चितवनस्थित निर्वाचन कार्यालयमा सुरुमा उजुरी परेको थियो। निर्वाचन कार्यालयले यसबारे निर्णय गर्न आयोगको केन्द्रीय कार्यालयमै पठायो। तर निर्वाचनअघि नै परेको उजुरीबारे कुनै निर्णय नगरी आयोगले लामिछानेलाई विजयी घोषणा गरेको थियो। आयोगले कुनै कारबाही नगरेपछि नागरिकता बारेको मुद्दा सर्वोच्चमा दर्ता भएको थियो। 

सर्वोच्चले उनको नागरिकता लिने प्रक्रिया पूरा नभएको भन्दै सांसद पद नै खारेज गरेको थियो। गृह न्त्री रहेका उनी त्यसबाट पनि हटेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पनि हटेका उनी पुनः नागरिकता लिएर सभापतिमा भने फर्किसकेका छन्। 

चितवनमा पुनः निर्वाचन लड्ने तयारी गरिरहँदा पासपोर्टको मुद्दा बल्झिने देखिएको हो। रविले पुनः नागरिकता लिइसकेका छन् भने पुरानो पासपोर्ट पनि राहदानी विभागमा पुगेर बुझाइसकेका छन्। 

यसलाई आधार मान्दै र दुरुपयोग पनि नगरेको भन्दै प्रहरीले मुद्दा चलाउन नपर्ने राय दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .