कुनै कार्यक्रममा सहभागिताका लागि तपाईं र तपाईंको परिवारले सुहाउँदो पोसाक लगाउनु हुन्छ। प्रविधिको उपयोग गर्दै आफ्नो नयाँ ‘गेटअप’ को तस्बिर लिएर त्यसलाई तत्काल फेसबुकबाट सार्वजनिक गर्न पनि सक्नुहुन्छ।
अरुलाई असर नगर्ने गरी सामाजिक सञ्जालको प्रयोग तपाईंको निजी स्वतन्त्रताको कुरा हो।
तर, तपाईं राष्ट्रको प्रतिनिधित्व गर्ने स्थानमा हुनुहुन्छ भने सामाजिक सञ्जालमा कसरी प्रस्तुत हुने भन्ने कुरा तपाईंले ख्याल गर्नैपर्छ। किनकि, तपाईंको गतिविधिसँग राष्ट्रको प्रतिष्ठा जोडिएको हुन्छ।
यदि कुनै कार्यक्रममा जान तयार भएपछिको तस्बिर ‘फलानो कार्यक्रममा जान लागेको अवस्था’ भन्दै सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुहुन्छ भने त्यसले तपाईंलाई हल्का देखाउँछ। तपाईंले मुलुकको प्रतिनिधित्व गर्ने भएकाले तपाईंको हल्कापनले तपाईंको मुलुकको ओज पनि घटाउँछ।
३१ जनवरी (१७ माघ २०७९) का दिन ‘मिश्र बासु’ नामको फेसबुक आईडीबाट ‘भारतको गणतन्त्र दिवसमा जान ठिक्क अवस्थामा लिएको फोटो’ भन्दै एउटा दम्पतीको तस्बिर सार्वजनिक भयो। २६ जनवरी (१२ माघ २०७९) मा मनाइएको भारतीय गणतन्त्र दिवस समारोहमा जानुअघि लिइएको तस्बिर ५ दिनपछि मिश्रले फेसबुकबाट सार्वजनिक गरेका थिए।
‘मिश्र बासु’ खासमा श्रीलङ्काका लागि नेपाली राजदूत वासुदेव मिश्र हुन्। गत भदौदेखि श्रीलङ्काका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाल्न थालेका मिश्रले १७ माघमा पोस्ट गरेको तस्बिरले मात्रै छवि हल्का देखाएको हो। तर, त्यसअघि र पछिका उनका फेसबुक पोस्टहरु त नेपाली कूटनीतिक क्षेत्रको शिर निहुर्याउनै बाध्य पार्ने खालका छन्।
जिम्मेवारी कूटनीतिक, चासो राजनीतिक
राष्ट्रिय हितको संरक्षण र प्रबर्द्धनका लागि कुनै मुलुकले कूटनीतिक सम्बन्ध रहेको अर्काे मुलुकमा राजदूत बनाएर पठाउने हो। तर, देश विशेषको राजदूतावासले आयोजना गर्ने कार्यक्रममा भाग लिन जानुअघि श्रीमतीसहित आफ्नो ‘सुटेड–बुटेड’ तस्बिर फेसबुकबाट सार्वजनिक गर्ने राजदूत मिश्रले १ भदौ (२०७९) मा श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिंगेसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि नेपालको राष्ट्रिय हितको संरक्षण र प्रबर्द्धनका लागि के–के काम गरे, त्यो उनको फेसबुकबाट जानकारी पाउन सकिन्न।
बरु सामाजिक सञ्जालमार्फत् व्यक्त उनका टिप्पणी हेर्ने हो भने राजदूतजस्तो शीर्ष कूटनीतिक प्रतिनिधित्वका लागि हाम्रो राज्यले कस्ता कमसल व्यक्तिलाई पठाएको रहेछ भन्ने कुराको झल्को मिल्छ। उनको स्तर बुझ्न सोमबार (६ चैत) अपरान्हको फेसबुक पोस्ट हेरौँ।
‘नेपालका प्रा. डा. भनाउँदा विश्लेषकहरूले राष्ट्रपतिको चुनावको भोलिपल्ट कांग्रेसले माओवादीलाई नाकको सिंगान फालेजस्तै गरी फालिदिन्छ भन्ने गरेका थिए त, खोइ त्यस्तो त भएको देखिएन नि!’ मिश्रले लेखेका छन्, ‘अब त्यस्ता फत्तुरहरूको कुरामा कत्तिको सत्यता हुँदो रहेछ भन्ने छर्लङ्ग भयो होला नि!’
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबार (६ चैत) प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका थिए। प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए।
तर, राष्ट्रपति उम्मेदवारका विषयमा खटपट सिर्जना भएसँगै एमालेले प्रचण्डलाई दिएको समर्थन फिर्ता लियो। त्यसपछि आफूप्रति प्रतिनिधि सभाको विश्वास कायमै छ भन्ने पुष्टि गर्न उनले प्रतिनिधि सभाबाट विश्वासको मत लिने निर्णय गरे। नेपाली कांग्रेसले उनलाई विश्वासको मत प्रदान गरेपछि उनी प्रधानमन्त्रीमा निरन्तर रहन सके।
यसैक्रममा राजदूत मिश्रले विद्यावारिधि प्राप्त गरेका प्राध्यापकहरुले राष्ट्रपति निर्वाचनपछि कांग्रेसले प्रचण्डलाई साथ नदिने बताएको दाबी गर्दै उनीहरुको विश्लेषण फत्तुर सावित भएको टिप्पणी गरेका हुन्।
राजदूतको पदीय मर्यादासँग मेल नखाने यस्तै टिप्पणी मिश्रले १८ माघमा पनि गरेका थिए। त्यो बेला उनको तारो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने बनेका थिए।
दोहोरो नागरिकता मुद्दामा सर्वाेच्च अदालतको फैसलाका कारण लामिछानेले १३ माघमा प्रतिनिधि सभा सदस्य पद गुमाएका थिए। त्यससँगै उनको उपप्रधान तथा गृहमन्त्री पनि गुम्यो। भोलिपल्टै काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएपछि अध्यक्ष लामिछानेले आफूलाई उपप्रधान तथा गृहमन्त्री पदमा फर्काउन प्रधानमन्त्री प्रचण्डसमक्ष जोड गर्न थाले। लामिछानेलाई पुरानै पदमा बहाल गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका थिए।
यो श्रीलङ्कामा राजदूतको जिम्मेवारी सम्हाल्न गएका मिश्रको सरोकारको विषय हुनु नपर्ने हो। तर, विद्यावारिधिप्राप्त प्राध्यापकहरुलाई फत्तुरको ठाडो आरोप लगाएका मिश्र यस विषयमा पनि मौन रहन सकेनन्। लामिछानेलाई ‘जुठे दाइ’ र ‘हली’ एवं उनी फर्कन चाहेको उपप्रधानमन्त्री पदलाई ‘उपप्रधान’ भन्ने शब्दावलीका साथ ‘बिठ्याइँ’ को आरोप लगाउँदै राजदूत मिश्रले फेसबुकमा पोस्ट ठोकिहाले।
‘हाम्रो गाउँका जुठे दाइलाई उपप्रधान बन्न मन लागेर मुखिया बा (एमाले अध्यक्ष केपी शर्मा ओली) लाई दैनिक रोइलो गर्या गरेइ छन् रे,’ उनले सो दिन (१८ माघ) को फेसबुक पोस्टमा लेखेका छन्, ‘मुखिया बाले चाहिँ प्रधान (प्रधानमन्त्री प्रचण्डकहाँ) जीकहाँ गएर दैनिक उनको रोइलो सुनाउँदा रहेछन्।’
‘प्रधानजीले मुखिया बालाई ‘मुखिया बा, तपाईंका हली गाउँ छोडेर गएको, भर्खर फक्र्याछन्। गाउँमा अरु के–के बिठ्याइँ गर्याछन्, खोज्न बाँकी छ। किन फर्केर आए, बुझ्न बाँकी छ।’ मिश्र थप लेख्छन्, ‘सबै बुझेर गरौँला नि भन्दा मुखिया बा मानेनन् रे। किनकि जुठे रिसाउँछ रे। के प्रधानजीले गलत भने त?’
मिश्रलाई राज्यले उच्चस्तरको कूटनीतिक (राजदूत) जिम्मेवारी दिएर कोलम्बो पठाएको हो। तर, आफ्नो जिम्मेवारीमा केन्द्रित हुनुभन्दा नेपालका खुद्रा–मसिना राजनीतिक घटनामा केन्द्रित भएर अर्काे पक्षविरुद्ध अमर्यादित ढंगले खनिने काम गरिरहेका राजदूत मिश्रले राष्ट्रपति निर्वाचनका दिन (२५ फागुन) पनि यस्तै टिप्पणी फेसबुकमार्फत् सार्वजनिक गरेका थिए।
त्यो दिन उनले लेखेका थिए, ‘राष्ट्रपति चुनावले एमालेको मात्र होइन, अर्काे एक दलको पनि नियतमाथि प्रश्न उठाउने अवसर प्रदान गरेको छ नि! त्यो कुन दल हो, आफैँ खुट्याउनु होला है मित्रहरु!’
अशिष्ट टिप्पणी, सुझावलाई दुत्कार
राजदूतजस्तो प्रतिष्ठित जिम्मेवारीमा भएपनि उनको चासो र टिप्पणी नेपालका गाउँ–घरका तपसिलका विषयमा हुँदो रहेछ भन्ने कुरा बुझ्न उनको फागु पूर्णिमाका सन्दर्भमा २२ फागुनको अर्काे फेसबुक पोस्ट र पोस्टमाथि उनले गरेका प्रति–टिप्पणीहरुले देखाउँछन्।
राजदूत मिश्रको जन्मस्थान लमजुङको सुन्दरबजार नगरपालिकाका हो। २२ फागुनको पोस्ट सुन्दरबजारको सीमावर्ती गाउँ तनहुँको पुतलीबजारमा लाग्ने मेलाको सन्दर्भमा हो।
सो पोस्टमा उनी लेख्छन्, ‘उहिले पुतली बजारमा शिवरात्री र फाउपूर्णेमा जात्रा लाग्ने गथ्यो। ‘अहिले श्रीमती बोक्ने जात्रा लाग्छ रे। हैट!’
पुतली बजारमा आजकल ‘श्रीमती बोक्ने जात्रा’ लाग्ने गरेकोमा ‘घृणापूर्ण आश्चर्य’ व्यक्त गरेका राजदूत मिश्रले आफ्नो पोस्टमाथि गरिएको टिप्पणी उपरको प्रतिटिप्पणीमा भने त्यो जात्रामा आफू सहभागी हुन नपाएकोमा थकथक मानेका छन्।
गोविन्द श्रेष्ठ नामका स्थानीयले मिश्रको सो पोस्टमाथि टिप्पणी गर्दै लेखेका छन्, ‘सिठी, फ्याटप्याटे, बन्नुक किनेर मुन्छेका मुखेन्जी पड्काउँदै हिँडेको, ठिटाठिटीहरु नाचगान गरेको, फागु दलेको त याद छ। तर, केटी बोक्ने खेल अहिले आयो होला। देख्ने अवसर मिल्या नाई।’
‘केटी बोक्ने खेल नदेखेको’ भन्ने श्रेष्ठलाई जवाफ दिँदै राजदूत मिश्र भन्छन्, ‘(केटी बोक्ने अवसर) हाम्लाई पो काँ मिल्या छ र? बीरु काजीले भनेको पोर परारतिर।’
फेसबुकमा विवादास्पद स्टाटस लेख्दै आएका राजदूत मिश्रलाई कतिपय साथीहरुले आफ्नो पदीय मर्यादा ख्याल गर्न सुझाव नदिएका होइनन्।
माघ अन्तिम हप्ता गायिका एलिना चौहानले रास्वपा अध्यक्ष लामिछानेलाई आफूले नचिन्ने अभिव्यक्ति दिएकी थिइन्। ‘म रवि लामिछानेलाई चिन्दिनँ’ भन्ने अभिव्यक्तिपछि लामिछाने समर्थकहरु चौहानमाथि खनिएका थिए।
यो विषय कोलम्बोमा रहेका राजदूतका लागि सरोकारै नहुनुपर्ने हो। तर मिश्र थामिन सकेनन्।
‘कस्तो जमाना आयो? ती गायिकाले नचिनेको व्यक्तिलाई म पनि चिन्दिनँ,’ १ फागुनको स्टाटसमा उनले लेखिहाले, ‘अब के ममाथि पनि खनिने हो त?’
राजदूत मिश्रको यस्तो स्टाटस उनको पदीय हैसियत अनुकूल नभएको बताउँदै उनका एक शुभेच्छुक भुवनेश्वर ढकालले देशका लागि लाभदायक हुने विषयमा केन्द्रित हुन सुझाव दिए।
ढकालले राजदूत मिश्रलाई सुझाव दिँदै कमेन्ट बक्समा लेखेका छन्, ‘राजदूत जस्तो व्यक्तित्वले सामाजिक सञ्जालमा आउने यस्ता सानोतिनो कुरामा समय बिताउनुभन्दा श्रीलङ्काको विकासमा सफल देखिएका पाठ, व्यावसायिक प्रणाली र अन्य विषयवस्तुमा केन्द्रित भए हामीजस्ता तपाईंको पोस्टको पाठकलाई अझ ज्ञानबर्धक हुने थियो कि!’
आतिथेय मुलुक (श्रीलङ्का) मा राजदूतको जिम्मेवारी सम्हालेको व्यक्तिबाट श्रीलङ्काका राम्रा अनुभवहरुको अपेक्षा ढकालले गर्नु स्वाभाविक थियो। तर, ढकाललाई मिश्रले तीतो एवं व्यङ्ग्यपूर्ण जवाफ फर्काएका छन्।
‘तपाईंको विचारमा एक नवोदित प्रतिभा राम्रोसँग फक्रिन नपाई भिलिफाइड (अपमानित) हुनु सामान्य कुरा होला,’ ढकाललाई जवाफ फर्काउँदै मिश्रले लेखेका छन्, ‘तर, यस्तो सामाजिक व्यवहारले ‘सयौँ फूलहरुलाई फुल्न दिनुपर्छ’ भन्ने प्रख्यात उक्तिमाथि प्रहार भएको ठम्याइ मेरो छ।’
पदीय मर्यादा प्रतिकूल हुने गरी अशिष्ट र अमर्यादित रुपमा फेसबुकमा प्रस्तुत हुँदै आएका राजदूत मिश्र माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालका बहिनी–ज्वाइँ हुन्। उनी माओवादी केन्द्रको कोटामा राजदूत नियुक्त भएका हुन्।
नेपालीमा लेखिएका राजदूत मिश्रका उपरोक्त पोस्टहरुले उनको व्यक्तित्वको ‘स्तर’ मूल्याङ्कन गर्न सघाउ पुर्याउँछ। अंग्रेजीमा लेखिएको २२ डिसेम्बर २०२२ को एउटा फेसबुक पोस्टले कूटनीतिक सेवामा जरुरी मानिने राम्रो अंग्रेजी भाषामा कति दखल राख्दा रहेछन् भन्ने पनि जानकारी पाइन्छ।
सो पोस्टमा राखिएको तस्बिरमा राजदूत मिश्र श्रीलङ्काली परराष्ट्रमन्त्री ए.यु.एम. अली साब्री र श्रीलङ्काका लागि रुसी राजदूत लेभन एस. जागार्यानको बीचमा उभिएका छन्। तर, तस्बिरसँगैको पोस्टमा ‘श्रीलङ्कन’ र ‘एम्ब्यासडर’ को अंग्रेजी हिज्जे नै उनले गलत लेखेका छन्।
उनको त्यो पोस्टमा प्रयुक्त अंग्रेजी मसिनो गरी श्रीलङ्काली परराष्ट्रमन्त्री र श्रीलंकाका लागि रुसी राजदूतले हेरे भने नेपाली राजदूतको भाषिक स्तरबारे के सोच्दा हुन्!
प्रतिक्रिया