ad ad

राजनीति


नयाँ–पुराना अनुहार मिलाएर सरकारमा पठाउन देउवामाथि दबाब

नयाँ–पुराना अनुहार मिलाएर सरकारमा पठाउन देउवामाथि दबाब

केशव सावद
चैत ९, २०७९ बिहिबार २०:२५, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि नयाँ–पुराना अनुहार मिलाएर सरकारमा पठाउन दबाब बढेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ र पुराना अनुहारलाई मन्त्री बनाउँदा देउवालाई यस्तो दबाब बढेको हो।

प्रधानमन्त्री प्रचण्डले नेकपा माओवादी पार्टीको भागमा परेका ४ मन्त्रलायमा दुई जना पुराना र दुई जना नयाँ अनुहारलाई जिम्मेवारी दिएका छन्। माओवादीबाट उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका नारायणकाजी श्रेष्ठ र सूचना प्रविधि तथा सञ्चारमन्त्री रहेका रेखा शर्मा पुरानै अनुहार हुन्। 

सुदन किराती (संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री) र अमनलाल मोदी (संघीय मामिला तथा समान्य प्रशासनमन्त्री) नयाँ अनुहार हुन्। पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरी पनि नयाँ अनुहारमा पर्छिन्। 

प्रचण्डले फागुन १५ गतेबाट प्रधानमन्त्रीसहित १६ मन्त्रालय सम्हालिरहेका छन्। तीमध्ये ८ मन्त्रालय तत्कालीन सत्ता साझेदार नेकपा एमालेले सम्हालेको थियो। तिनै ८ मन्त्रालय दिएर उनले प्रतिनिधि सभाको ठूलो दल कांग्रेसलाई सरकारमा सहभागी गराउने मनस्थिति बनाएका छन्।

जसअनुसार कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, उद्योग, भूमिसुधार, महिला बालबालिका र कृषि मन्त्रालय पाउने देखिन्छ। ती मन्त्रालयहरुमा यसअघि मन्त्री बनिसकेका नेताहरुसँगै पहिलो पटक मन्त्रालय सम्हाल्न लागेका नेताहरुलाई अवसर दिनुपर्ने कांग्रेसमा आवाज उठ्न लागेको छ। 

केही नेताहरुले सभापति देउवालाई भेटेर सरकारमा सहभागी हुँदा नयाँ अनुहारलाई अवसर दिन आग्रह गरिसकेका छन्। केही नेताहरुले मन्त्री पठाउँदा एक–एक वर्षमा फिर्ता बोलाउने गरी मापदण्ड बनाउनसमेत सभापति देउवालाई सुझाव दिएका छन्। 

‘सरकारमा पठाउँदा नयाँ–पुराना अनुहार मिलाएर पठाउन आग्रह गरेका छौं,’ सभापति देउवासँग भेट गरेर मन्त्री बनाउनेबारे सल्लाह दिन गएको टोलीमा सहभागी एक नेता भन्छन्, ‘हामीले त एक–एक वर्षमा चेन्ज गर्ने गरी पनि पठाउन सकिन्छ भनेका छौं।’

काठमाडौं–५ बाट निर्वाचित युवा नेता प्रदीप पौडेल सरकारमा कांग्रेसको उपस्थिति नयाँ ढंगबाट हुन जरुरी रहेको बताउँछन्। सरकारमा सहभागी भएर पार्टीका पक्षमा जनमत सिर्जना गर्न सक्ने व्यक्तिलाई अवसर दिनुपर्ने उनको भनाइ छ। 

‘गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति अलिकति नयाँ ढंगबाट हुन जरुरी छ। केही गरेर देखाउनु पर्छ,’ पौडेल भन्छन्, ‘५ वर्षैसम्म हामी सरकारमा हुन सक्छौँ। तर, सरकारमा भइरहने कुराले हामीलाई अर्काे पटक निर्वाचन हामीलाई जिताउने हुनुपर्छ।’

प्रतिनिधि सभा सदस्य रामहरि खतिवडा पनि पार्टीमा सबैलाई समेट्दै जिम्मेवारीमा पठाएर न्याय पद्धतिको विकास हुने बताउँछन्। काम गर्ने अवसर सबैले पाउनुपर्नेमा उनको जोड छ। 

‘कांग्रेसका ८ भन्दा बढी मन्त्री हुने सम्भावना देखिँदैन। सात प्रदेशका १–१ र एक जना महिला भयो भने त्यो संख्या पुग्छ। पार्टीभित्र व्यवस्थापन हुन्छ। पार्टीमा सबैलाई समेटेर जाने न्याय पद्धतिको विकास हुन्छ र सबै पुराना मात्रै हुँदैनन्। नयाँ साथीहरु पनि हुन्छन्। काम गर्ने अवसर सबैले पाउनुपर्छ,’ खतिवडा भन्छन्, ‘काम गर्ने अवसर मात्र होइन, काम गरेको देखिएर जनताका माझ आशा जगाउन सकिएन भने हामी सरकारमा गएको अनुभूति कसैलाई हुने छैन।’

कांग्रेसको सरकारमा जाने टोलीको नेतृत्व कसले गर्ने भन्ने टुंगो अझै लागेको छैन। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालामध्ये एक जनाले नेतृत्व गर्ने चर्चा छ। 

कांग्रेसले अर्थ मन्त्रालय पाउँदा प्रवक्ता डा. प्रकाशशरण महत र उदयशमशेर राणामध्ये एक जनालाई पठाउने बताइन्छ। बागमती प्रदेशबाट सिन्धुपाल्चोकका सांसद मोहनबहादुर बस्नेतको नाम पनि मन्त्री बन्ने सम्भावित नेताको सूचीमा रहेको नेताहरु बताउँछन्। 

कोशी प्रदेशबाट सीता गुरुङ र डिकबहादुर लिम्बु, मधेश प्रदेशबाट रमेश रिजाल, अजय चौरसिया, तेजुलाल चौधरी, गण्डकी प्रदेशबाट उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार, लुम्बिनी प्रदेशबाट सहमहामन्त्री किशोरसिंह राठौर र सुदूरपश्चिमबाट एनपी साउद मन्त्री बन्ने चर्चा चुलिएको छ। 

यस्तै समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाको नाम पनि मन्त्री बन्ने सूचीमा रहेको नेताहरु बताउँछन्। कांग्रेसका एक पदाधिकारी सभापति देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रमुख सचेतक रमेश लेखकबाहेकका सबै सांसदहरु मन्त्रीका आकांक्षी रहेको बताउँछन्।     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .