नेपाली कांग्रेससहित ८ दल सहभागी गराएर प्रधानमन्त्री पुष्पकममल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिँदैछन्।
सोमबार दिउँसोसम्म मन्त्रिमण्डल टुंगो लगाउने प्रधानमन्त्री प्रचण्डको तयारी छ। तर, अझै एक चरण गठबन्धन दलबीच छ्लफल गर्नुपर्ने भएकोले मंगलबार मात्रै मन्त्रिमण्डल विस्तार हुनसक्ने सम्भावना रहेको सत्ता गठबन्धनका नेताहरू बताउँछन्।
‘मन्त्रिमण्डल विस्तार सकेसम्म भोलि (सोमबार) नत्र पर्सि गरौँला,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक नेताले नेपालखबरसँग भने।
भोलि(सोमबार)का लागि लागि राष्ट्रपति कार्यालयमा पनि प्रधानमन्त्री कार्यालयबाट कुनै कार्यक्रमको जानकारी गराइएको छैन।
मन्त्री नियुक्त भएपछि उनीहरूको शपथको लागि शीतल निवाससँग अगाडि नै समय लिनुपर्ने हुन्छ। तर, यो समाचार तयार पार्दासम्म शीतल निवासमा कार्यक्रमबारे जानकारी गराइएको छैन।
सोही कारण पनि सोमबार नै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना कम रहेको प्रधानमन्त्रीका सल्लाहकार हरिबोल गजुरेलले बताए।
‘भोलि बिहानदेखि दलहरूबीच एकचरण छलफल हुन्छ, अनि भ्याइएछ भने भोलि नै शपथ हुन्छ, नभ्याए पर्सि होला।’ गजुरेलले नेपालखबरसँग भने।
उनका अनुसार आज छलफल हुन नसक्दा भोलिलाई सरेको हो। तर,प्रधानमन्त्री प्रचण्डलाई मन्त्री बन्ने नाम भने दलहरूले उपलब्ध गराइसकेको स्रोतले बतायो।
‘तर दलभित्रको आन्तरिक कारण रोकिएको हो,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘कांग्रेस र एकीकृत समाजवादीभित्र कसलाई मन्त्री बनाएर पठाउने भन्ने टुंगो लागेको छैन।’
७ फुल १ राज्यमन्त्री कांग्रेसलाई
नेपाली कांग्रेसले ७ मन्त्रालय र एक राज्य पाउने अन्तिम समझदारी बनेको छ।
कांग्रेसबाट सरकारको नेतृत्व पूर्णबहादुर खड्काले गर्नेछन्। कुनै कारण फेरबदल नभएमा उनी उपप्रधानमन्त्री र रक्षामन्त्री बन्ने स्रोतले दाबी गरेको छ।
यस्तै, काङ्ग्रेस प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बन्ने निश्चित छ।
कांग्रेसले परराष्ट्र, शिक्षा, स्वास्थ्य मन्त्रालय लिने निश्चित भएको छ।
कांग्रेसबाट प्रचण्ड क्याबिनेटमा तीनजना नयाँ अनुहारका नेताहरूको प्रवेश गराउने तयारी छ।
‘आजको परिस्थिति भोलि फेरिएन भने काङ्ग्रेसमा ३ जना पहिलोपटक मन्त्री बनाउने तयारी छ, शिक्षा र परराष्ट्र कांग्रेसले राख्छ,’ काङ्ग्रेसका एक पदाधिकारी भन्छन्।
नेकपा एकीकृत समाजवादीले एक राज्यसहित ३ मन्त्रालय पाउने छ।
भौतिक पूर्वाधार समाजवादीले पाउन सक्छ। तर प्रधानमन्त्रीले भौतिक आफैँ राख्न खोजेका छन्।
‘माओवादीले पाएको अहिलेको मन्त्रालय रहन्छ बरु मन्त्रीहरुको मन्त्रालय हेरफेर हुनसक्छ,’ उनले थपे, ‘माओवादीको सञ्चारमा रेखा शर्मालाई कायमै राख्ने कुरा छ।’
नागरिक उन्मुक्ति पार्टी पनि प्रचण्ड सरकारमा सहभागी हुनसक्ने सम्भावना छ। अध्यक्ष रञ्जिता श्रेष्ठले सकारात्मक छौँ भन्ने जवाफ दिएकी छन्।
यद्यपि नागरिक उन्मुक्ति सरकारमा सहभागी हुने निश्चित छैन।
जनमत पार्टीले मन्त्रालय हेरफेर गर्न चाहेको छ। उनीहरुको जोड कृषि र उद्योगमा छ। ‘जनमतले मन्त्रालय हेरफेर गर्न चाहेको छ, हुन पनि सक्छ,’ प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरी तिमल्सिनाले भने।
जसपाले सरकारमा सहभागी हुनेको नाम सोमबार प्रधानमन्त्रीलाई दिने तयारीमा छ।
त्यसैगरी एमाले छोडेर स्वतन्त्र चुनाव जितेका प्रभु साह मन्त्री बन्नेछन्। उनलाई मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड सकारात्मक छन्।
यसबाहेक रास्वपालाई समेत सरकारला प्रचण्डको प्रयास छ।
उता माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने छ। हाल भौतिकमा रहेका उनलाई गृह लग्ने तयारी छ।
प्रतिक्रिया