चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमालेबाट तीनजना दाबेदार देखिएका छन्।
पार्टीका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, कालिका नगरपालिकाका पूर्वमेयर खुमनारायण (गोपी) श्रेष्ठ र चितवन उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष डा. त्रिचन्द्र भट्टराई चर्चामा छन्।
एमाले नेताहरुका अनुसार पहिलो प्राथमिकतामा जिल्ला अध्यक्ष न्यौपाने नै छन्। उनी उम्मेदवार बन्न नचाहे विकल्पमा श्रेष्ठलाई अघि सार्ने सम्भावना छ।
यसबारे दुई/तीनदिनभित्र निर्णय गर्ने स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश कमिटी इन्चार्ज काशीनाथ अधिकारीले दाबी गरे।
‘हाम्रो पार्टीबाट उम्मेदवार चयनमा कुनै समस्या हुँदैन, २-३ दिनभित्र सर्वसम्मत नाम टुंगो लगाउँछौं,’ उनले नेपालखबरसँग भने, ‘राम्रो व्यक्ति अगाडि सारेर जित्नेगरी चुनावमा जान्छौँ।’
पार्टी कमिटीलाई एक बनाउँदै व्यवस्थित भएर निर्वाचनमा जाँदा जित्ने स्थिति रहेको दाबी पनि उनले गरे।
अवैध नागरिकता प्रकरणका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद गुमेपछि उक्त क्षेत्र १३ माघदेखि रिक्त भएको छ।
त्यस क्षेत्रमा फेरि जित्नका लागि लामिछानेले पूरै पार्टीशक्ति चितवन केन्द्रित गराएका छन्। उनी आफैं पनि चुनावकै शैलीमा अहिले घरघर र टोल टोलमा पुगिरहेका छन्।
पुस १० मा एमालेसँगको सत्ता गठबन्धनमा रहेको रास्वपा अहिले कांग्रेस-माओवादी नेतृत्वको १० दलीय गठबन्धनमा छ।
फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई सघाएको रास्वपाले चैत ६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइसकेको छ। रास्वापले विश्वासको मत दिएसँगै रविविरुद्धको राहदानी मुद्दा अघि नबढाउने निर्णय महान्यायाधिवक्ता दीनमणि पोखरेलले गरिसकेका छन्।
विश्वासको मत दिएपछि आफूविरुद्ध राहदानी दुरुपयोग मुद्दा नचल्ने सन्देश पाएसँगै रवि अहिले फेरि संसद फर्किने योजनासहित चुनावी मैदानमा होमिइसकेका छन्।
तर मंसिर ४ को निर्वाचनमा चितवनमा २ मा तेस्रो भएको एमाले भने अहिले उनलाई रोक्न सबै शक्ति लगाउने योजना निर्माणमा लागेको छ।
‘विगतमा केही कमजोरी भएको हामीले समीक्षा गरेका छौँ, यसपटक त्यो दोहोरिँदैन,’ स्थायी कमिटी सदस्य अधिकारीले थपे, ‘कोही मतदातालाई यताउती नजाने वातावरण बनाउँछौं, सिंगो पार्टी पंक्ति खटिन्छ।’
एमालेले अहिलेसम्म उपनिर्वाचन एक्लै लड्ने योजना बनाएको छ। यद्यपि चुनावको दिनसम्मको अवस्था हेरेर निर्णय गर्ने उनको भनाइ छ।
त्यही भएर यस क्षेत्रमा परिचित र जनमत बलियो भएकै नेतालाई उम्मेदवार बनाउन छलफल भइरहेको नेताहरु बताउँछन्।
चितवन २ मा पर्ने कालिका र इच्छाकामना गाउँपालिका क्षेत्रमा एमाले नेता श्रेष्ठको जनमत राम्रो छ।
त्यही क्षेत्रबाट नगरपालिका प्रमुख भइसकेकाले पनि उनलाई अघि सार्दा राम्रो मत एमालेले पाउने नेताहरुको बुझाइ छ।
‘सहरी क्षेत्रमा एमालेको पकड राम्रै छ, एमालेका शीर्ष नेताहरुले आफ्नो मत मात्रै जोगाउन सहयोग गरे भने श्रेष्ठलाई निकै सजिलो हुन्छ भन्ने साथीहरुको सुझाव छ,’ अधिकारीले थपे, ‘ग्रामीण क्षेत्रबाट उहाँलाई निकै राम्रो मत खस्ने देखिन्छ।’
'एमालेले कांग्रेसबाट उठाउने उम्मेदवारका आधारमा आफ्नोतर्फबाट उठाउने निर्णय गर्न कुरेको छ', एक नेताले भने,
‘रविको लोकप्रियता घट्दै गएको छ।’
‘तर, सामाजिक सञ्जालदेखि सहरी क्षेत्रमा अझै चर्चा छ, यो क्षेत्रका मतदाता स्टन्टमै रमाउने बढी छन्,’ उनले भने।
चितवन एमालेलाई ओलीले पारेको संकट
चितवन एमाले अहिले रवि लामिछानेविरुद्ध खुलेर मत माग्न सक्ने अवस्थामा नभएको एक नेताले बताए।
केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीकै कारण त्यो अवस्था आएको उनको भनाइ छ।
‘लिडरसीपले (केपी) रविको गलत कुरालाई प्रोटेक्सन गर्दियो, संसददेखि बाहिर पनि रविकै पक्षमा खुलेर लाग्नुभयो,’ ती नेताले भने, ‘नागरिकता र राहदानीको विषय गम्भीर थियो, तर, हामीले बाहिर ल्याउनै सकेनौँ।’
‘आममतदाता मात्रै होइन, एमालेमै रहेका केही नेता र भोटरहरुसमेत कन्भिन्स गर्न हामीलाई समस्या भयो, के भनेर मत माग्ने? रविविरुद्ध कसरी प्रस्तुत हुने?’ ती नेताले थपे।
चितवनमा रविको माहोल पहिले जस्तो नभए पनि खासै घटेको छैन। उनले पार्टीको सबै शक्ति त्यहीँ केन्द्रित गरेका छन्।
यही कुराको मेसो पाएको एमालेले रविविरुद्ध उछाल्ने विषयवस्तु खोजिरहेको छ।
त्यही भएर प्रचण्डको पछि लागेको, मन्त्री हुन मरिहत्ते गरेको, पार्टी बनाउन भन्दा सत्तामै टाँसिन खोजेको जस्ता रविविरोधी एजेण्डा एमालेले तयार पार्दैछ।
प्रतिक्रिया