राजनीति


सदाबहार शरतसिंह : ३६ वर्षमा १२ खेप मन्त्री

पञ्चायतदेखि गणतन्त्रसम्म ७ प्रधानमन्त्रीको नेतृत्वमा १० मन्त्रालयको अनुभव
सदाबहार शरतसिंह : ३६ वर्षमा १२ खेप मन्त्री

केशव सावद
चैत १७, २०७९ शुक्रबार १७:२०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० जना मन्त्रीहरुलाई शुक्रबार अपरान्ह शपथग्रहण गराए। शपथग्रहण गर्नेमा नागरिक उन्मुक्ति पार्टीबाट पहिलो पटक मन्त्री बनेकी अध्यक्ष रन्जिता श्रेष्ठदेखि दर्जन पटक मन्त्रीको शपथ खाइसकेका शरदसिंह भण्डारीसम्म छन्। 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता शरतसिंह भण्डारीलाई प्रधानमन्त्री प्रचण्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी दिएर शपथग्रहण गराएका हुन्। 

भण्डारी विगत ३६ वर्षयता फरक–फरक व्यवस्था र दलको नेतृत्वमा गठित मन्त्रिपरिषदमा मन्त्री बन्दै आएका छन्। 

१९ औँ अवसर 
वरिष्ठ पत्रकार भैरव रिसाल र भरतराज पोखरेलले ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तकमा २०७५ सम्म बनेका नेपालका मन्त्रिमण्डलहरुको सूची छ। सो पुस्तकमा समाविष्ट मन्त्रिमण्डलको सूची हेर्न हो भने भण्डारी मन्त्रिमण्डल निर्माण, पुनर्गठन र विस्तारमा गरी १७ पटक मन्त्री बनेको देखिन्छ।

२०७५ यता पनि उनी केपी शर्मा ओली र अहिले प्रचण्ड नेतृत्वको गरी १९ औँ पटक मन्त्री बनिसकेका छन्। 

उनी पहिलो पटक २ असार २०४३ असारमा सहायकमन्त्रीका रुपमा मन्त्री मण्डलमा प्रवेश गरेका थिए। त्यसयता उनले ११ वटा मन्त्रालयको अनुभव बटुलिसकेका छन्।

पञ्चायत तथा स्थानीय विकास सहायक राज्यमन्त्रीबाट सुरु भएको उनको राजकीय यात्रा अहिले १९ औँ पटकसम्म आइपुग्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा पुगेको छ। 

यसबीचमा उनी वाणिज्य राज्यमन्त्री, विनाविभागीय राज्यमन्त्री, युवा खेलकुद तथा संस्कृति, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, रक्षा, उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री बनिसकेका छन्।     

लोसपा नेता भण्डारी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा समेत उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री बनेका थिए। यसअघिको उनको सो कार्यकाल जम्मा १३ दिन रह्यो।  

त्यसअघि २०६८ भदौमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षामन्त्रीको भूमिकामा थिए। 

भण्डारी पञ्चायत, प्रजातन्त्र र गणतन्त्र गरी तीन वटै व्यवस्थामा सरकारमा सहभागी भएका नेतामा पर्छन्। उनी पञ्चायती व्यवस्था अन्तर्गत २ असार २०४३ मा मरिचमान सिंह श्रेष्ठ नेतृत्वको सरकारमा पहिलो पटक पञ्चायत तथा स्थानीय विकास सहायकमन्त्री बनेका थिए। 

प्रधानमन्त्री सिंह नेतृत्वको सरकार पुनर्गठन हुँदा २०४५ कात्तिकमा उनको मन्त्रालय परिवर्तन गरियो। तत्कालीन प्रधानमन्त्री सिंहले पुनर्गठनका क्रममा भण्डारीलाई वाणिज्य राज्यमन्त्री बनाएका थिए। प्रधानमन्त्री सिंहले २०४६ भदौ १४ र चैत १९ मा पनि मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि भण्डारीले वाणिज्य राज्यमन्त्रीकै रुपमा निरन्तरता पाए।  

२०४६ सालको जनआन्दोलनले व्यवस्था परिवर्तन गरेर मुलुकमा प्रजातन्त्र पुनस्र्थापना गरेपछि उनी २०५२ मा फेरि मन्त्री बने। २७ भदौ २०५२ मा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा बिनाविभागीय राज्यमन्त्री नियुक्त भएका थिए। 

देउवा नेतृत्वको उक्त सरकारमा २०५२ मंसिर २७ मा बिनाविभागीय राज्यमन्त्री बनेका उनी २०५३ जेठ ४, जेठ २८ को पुनर्गठनमा पनि यथावत रहे। तर, २४ पुस २०५३ मा भएको पुनर्गठनमा बिनाविभागीय मन्त्रीमा उनको बढुवा भयो।  

उनी २१ असोज २०५४ मा राप्रपा नेता सूर्यबहादुर थापाको नेतृत्वमा सरकार गठन हुँदा युवा खेलकुद तथा संस्कृति मन्त्री बनेका थिए। प्रधानमन्त्री थापाले २०५४ कात्तिक २१ र मंसिर १८ मा मन्त्रिपरिषद् पुनर्गठन गर्दा उनले खेलकुद मन्त्रीका रुपमा निरन्तरता पाए।  

१७ जेठ २०५६ मा कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा सरकार गठन भएको थियो। उक्त सरकारमा पनि भण्डारीले खेलकुद मन्त्रीका रुपमा निरन्तरता पाए। १६ असार २०५६ मा भएको मन्त्रिमण्डल विस्तारमा खेलकुद मन्त्रालय नै पाएका भण्डारीले त्यसै साल २७ फागुनमा भएको पुनर्गठनमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका थिए। 

२०५८ साउन ११ मा देउवा फेरि प्रधानमन्त्री हुँदा भण्डारीले फेरि स्वास्थ्यमन्त्री बन्ने सौभाग्य पाएका थिए। 

२०६६ जेठमा माधवकुमार नेपाल नेतृत्वमा गठित सरकारमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए। त्यसपछि २०६८ भदौमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनले रक्षामन्त्रीको जिम्मेवारी प्राप्त गरे।  

२०७८ असार २९ मा देउवा पाँचौँपल्ट प्रधानमन्त्री बन्नुअघि एमाले अध्यक्ष ओली नेतृत्वको तत्कालीन सरकारमा भण्डारी १३ दिनका लागि उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री थिए। 

सबै व्यवस्थामा मन्त्री 
भण्डारी २०४३ मा पहिलो पटक सहायकमन्त्री बनेका बेला मुलुकमा पञ्चायती व्यवस्था थियो। 

पुख्र्याैली थलो पोखरा रहेका भण्डारी २०३८ र २०४३ मा महोत्तरीबाट राष्ट्रिय पञ्चायत सदस्यमा विजयी भएका थिए।  

२०४६ मा बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएपछि भण्डारीले पञ्चायती प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वमा गठन भएको राप्रपा (थापा) रोजे। र, तत्कालीन महोत्तरी–५ मा सोही पार्टीबाट प्रतिस्पर्धा गरे। 

उक्त निर्वाचनमा उनी ९ हजार ४५९ मतसहित दोस्रो भएका थिए। सो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका बसन्तकुमार गुरुङ १४ हजार ५ सय २८ मतसहित निर्वाचित भएका थिए। 

तर, २०५१ को निर्वाचनसम्म पुग्दा भण्डारीले राप्रपा पनि परित्याग गरिसकेका थिए। २०५१ को मध्यावधि निर्वाचनमा भण्डारीले महोत्तरी–४ बाट स्वतन्त्र उम्मेदवारी दिए। सो निर्वाचनमा ११ हजार ३ सय ९५ मतका साथ विजयी भए। 

उनले २०४८ मा आफूलाई पराजित गर्ने कांग्रेस नेता गुरुङलाई पराजित गरेर २०४८ को हारको बदला लिएका थिए। गुरुङले १० हजार ५ सय ८५ मत प्राप्त गरेका थिए। 

२०४८ मा राप्रपा (थापा) र २०५१ मा स्वतन्त्र उम्मेदवारका रुपमा प्रतिस्पर्धा गरेका उनी २०५१–०५५ को ‘हङ पार्लियामेन्ट’ का बेला नेपाली कांग्रेससँग नजिकिए। र, पार्टी प्रवेश नै गरे। त्यो बेला उनी कांग्रेस नेता कृष्णप्रसाद भट्टराई निकट मानिन्थे। 

कांग्रेस प्रवेश गरेपछि उनले २०५६ मा सोही पार्टीबाट महोत्तरी–३ बाट प्रतिस्पर्धा गरे। उक्त निर्वाचनमा भण्डारी २० हजार ४ सय ८६ मतका साथ सांसद निर्वाचित भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपा उम्मेदवार रामविलास यादवले १२ हजार १ सय ५४ मत ल्याएका थिए। 

दोस्रो जनआन्दोलनलगत्तै मधेशमा मधेशवादी दलहरु शक्तिशाली बने। त्यसैक्रममा नेपाली कांग्रेस परित्याग गरी उनी मधेशी जनअधिकार फोरममा प्रवेश गरे। त्यसयता २०७० बाहेक भण्डारी सदैव मधेशवादी दलहरुबाट संसदमा निर्वाचित हुँदै आएका छन्। 

त्यसमध्ये २०६४ मा उनी तत्कालीन फोरमबाट निर्वाचित भएका थिए। तर, फोरम विभाजित भएपछि विजयकुमार गच्छदार नेतृत्वको फोरम (लोकतान्त्रिक) मा समावेश भए। र, माधव नेपाल एवं डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदका सदस्य बने।

२०७० मा फोरम (लोकतान्त्रिक) को उम्मेदवारका रुपमा महोत्तरीबाट पराजित उनी २०७४ को निर्वाचनमा भने राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए। यसपटकको निर्वाचनमा उनी लोसपाबाट निर्वाचित भएका हुन्। 

विगत ३६ वर्षयता पटक–पटक मन्त्री हुँदै आएका उनले मरिचमानसिंह श्रेष्ठ, शेरबहादुर देउवा, सूर्यबहादुर थापा, कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, केपी शर्मा ओली ७ जना प्रधानमन्त्रीहरुसँग काम गरे। यसपटक पनि मन्त्री बने पनि उनी प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलको समेत सदस्य बनेका छन्। 

३६ वर्षयता बनेका प्रधानमन्त्रीमध्ये लोकेन्द्रबहादुर चन्द, गिरिजाप्रसाद कोइराला, झलनाथ खनाल र सुशील कोइराला नेतृत्वको सरकारमा मात्र उनी मन्त्री बनेनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .