पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी वैशाख १० गतेको उपचुनावमा विचार पुर्याएर भोट हाल्न मतदातालाई अपिल गरेका छन्।
आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा प्रतिनिधिसभा उपनिर्वाचन हुँदै छ।
त्यसका लागि आज तीनै क्षेत्रमा उम्मेदवारी दर्ता गरिँदै छ। सो दिनको बिहान पूर्वप्रधानमन्त्री डा. भट्टराईले चुनावको महत्त्व स्मरण गराएका हुन्।
‘चुनाव केही वर्ष/महिनामा अमूक पार्टी/नेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन, यो जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि/अवसर हो’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हाम्रो लोकतन्त्रमा चुनाव/उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्याङ बन्दै छ, रोकौँ।’
मंसिर ४ को निर्वाचनमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित जसपा अध्यक्ष उपेन्द्र यादव पुन: वैशाख १० गते बारा–२ मा हुने उपचुनाव लड्दै छन्।
गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नागरिकता प्रकरणका सांसद पदबाट बर्खास्त भएपछि रिक्त ती क्षेत्रमा उपनिर्वाचन गरेर पदपूर्ति गर्न लागिएको हो।
Shares

प्रतिक्रिया