राजनीति


कांग्रेसले उपनिर्वाचनबाट गर्दैछ महामन्त्री थापा र शर्माको शक्ति परीक्षण

कांग्रेसले उपनिर्वाचनबाट गर्दैछ महामन्त्री थापा र शर्माको शक्ति परीक्षण

केशव सावद
चैत २१, २०७९ मंगलबार ८:५३, काठमाडौँ

देशका तीन वटा क्षेत्रमा हुन लागेको उपनिर्वाचनलाई नेपाली कांग्रेसका नेता कार्यकर्ताले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको शक्ति परीक्षणका रुपमा हेर्न थालेका छन्। 

कांग्रेस छाडेर अर्थविद् डा. स्वर्णिम वाग्ले तनहुँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेका छन् भने चितवन–१ मा रास्वपाकै सभापति रवि लामिछाने खडा भएका छन्। यी दुवै बलिया उम्मेदवारसँग भिड्न सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार खडा भएका छन्, जसलाई साथ दिन मैदानमै खटिएका छन् महामन्त्री थापा र शर्मा।  

प्रतिनिधिसभा सदस्य चयनका लागि वैशाख १० मा चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुँदै छ। मंसिर ४ को निर्वाचनमा चितवन–२ बाट विजयी उम्मेदवारको पद खारेज र तनहुँ–१ तथा बारा–२ बाट विजयी उम्मेदवारहरू राष्ट्रपति र उपराष्ट्रपति भएपछि ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।  

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले खारेज भएको नागरिकता प्रयोग गरेको प्रमाणित भएपछि सांसद पद गुमाएका कारण निर्वाचन आयोगले वैशाख १० का लागि चितवन–२ मा उपनिर्वाचनको मिति घोषणा गरेको थियो। 

यस्तै तनहुँ–१ बाट विजयी प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट विजयी रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा विजयी भएपछि सोही मितिमा उपनिर्वाचन हुन लागेको हो। 

उपनिर्वाचन हुने ३ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले तनहुँ–१ र चितवन–२ मा आफ्ना उम्मेदवारहरूको मनोनयन दर्ता गरेको छ भने बारा–२ मा सत्ता साझेदार जनता समाजवादी पार्टी (जसापा) लाई सघाएको छ। 

प्रतिनिधिसभाको ठूलो दल कांग्रेसले तनहुँ–१ र चितवन–२ मा हुने उपनिर्वाचनमा महामन्त्रीहरूलाई ‘कमान्डर’का रूपमा तैनाथ गरेको छ। यद्यपि, यसबारे औपचारिक निर्णय भने कांग्रेसले गरेको छैन। 

कांग्रेसले औपचारिक निर्णयबिना नै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई क्रमशः चितवन–२ र तनहुँ–१ मा सोमबार उम्मेदवारी दर्ता कार्यक्रममा पठाएको छ। 

थापा तनहुँ–१ का उम्मेदवार केन्द्रीय सदस्य गोविन्द भट्टराई र शर्मा चितवन–२ का उम्मेदवार पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठको उम्मेदवारी मनोनयनमा सहभागी भएका छन्। 

तनहुँ–१ मा भट्टराईविरुद्ध भर्खरै कांग्रेस छाडेका अर्थविद् डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका र चितवन–१ मा श्रेष्ठविरुद्ध रास्वपाकै  सभापति रवि लामिछाने उम्मेदवार रहेकाले उपनिर्वाचन कांग्रेसका लागि चुनौतीपूर्ण देखिएको छ। 

दुवै जिल्लामा हुन लागेको उपनिर्वाचन महामन्त्रीद्वय थापा र शर्माको परीक्षणका रूपमा रहेको चर्चा पनि कांग्रेसवृत्तमा सुनिन थालेको छ। कांग्रेसमा सबैभन्दा बढी रुचाइएका र जनताले अपेक्षा गरेका नेता भएका कारण उपनिर्वाचन उनीहरूको परीक्षणका रूपमा लिइएको हो।

‘पार्टीभित्र धेरै रुचाएका, जनताले सुन्न खोजेका, जान्न खोजेका र पार्टीका लागि धारणा निर्माता (ओपनियन मेकर) मानिने महामन्त्रीका लागि यो उपनिर्वाचन थप चुनौती हो’, नेपाली कांग्रेसमा महामन्त्री थापा निकट नेता शंकर तिवारी भन्छन्। 

कांग्रेसले उपचुनावलाई चुनौतीका रूपमा लिएको विश्लेषण गर्दै तिवारीले त्यो चुनौती सामना गर्न महामन्त्रीद्वय थापा र शर्मालाई पार्टीले ‘बलियो हतियार’का रूपमा मैदानमा उतारेको बताए।

‘उपचुनाव पार्टीका लागि त चुनौती हो नै, महामन्त्रीहरूका लागि झनै चुनौती हो,’ उनले भने, ‘त्यो सामना गर्न कांग्रेसले उनै महामन्त्रीहरू खटाएको हो। उहाँहरूले आन्तरिक विवाद मिलाउन सक्नुहुन्छ भन्ने होला।’

उपनिर्वाचनले राष्ट्रिय राजनीतिमा केही फरक नपर्ने भए पनि मंसिर ४ मा देखिएको चुनावी लहर कायम छ कि छैन भनेर यसको परिणामबाट देखिने उनको भनाइ छ। 

स्वर्णिमले कांग्रेस छाडेपछि सकसमा गगन
अर्थविद् डा. स्वर्णिम वाग्लेले कांग्रेस दाइ–भाउजू, साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेको आरोप लगाउँदै पार्टी परित्याग गरेपछि महामन्त्री थापा सकसमा छन्। चैत १६ गते आफूसँगै रहेका वाग्लेले अचानक सामाजिक सञ्जालमार्फत कांग्रेस छाडेपछि उनी सकसमा परेका हुन्। 

‘जसका लागि गगनजीले निर्वाचन क्षेत्र नै छाड्न तयार हुनुहुन्थ्यो, उही मान्छे एकाएक अर्को पार्टीमा गएपछि के बित्यो होला,’ कांग्रेसका एक नेता भन्छन्।

महामन्त्री थापानिकट मानिने अर्का एक युवा नेता भने वाग्लेले पार्टी छाड्दैमा ठूलै असर नपर्ने दाबी गर्छन्। 

‘स्वर्णिम वाग्लेको प्रतिभा उपयोग गर्नुपर्छ भन्ने थियो। तर, गगनको प्रोजेक्ट गभर्नमेन्टमा उहाँको सहभागिता थिएन,’ ती नेताले नेपालखबरसँग भने, ‘दोस्ती हो, उहाँलाई पार्टीमा स्पेस दिनुपर्छ भन्ने धारणा गगन दाइमा थियो। मंसिर ४ का लागि टिकट दिलाउन प्रयास गर्नुभएको सबैलाई थाहा छ।’ 

आक्रोशित सुनिन्छन् गगन
तनहुँ–१ मा उम्मेदवारी दर्ताअघि आयोजित कार्यक्रममा महामन्त्री थापा अर्थविद् वाग्लेप्रति आक्रोशित सुनिए। उनले वाग्लेको नाम नलिए पनि पार्टी परित्याग गरिएकोप्रति आक्रोश पोखे।

‘हामी नेपाली कांग्रेस बदल्न चाहन्छौँ। कांग्रेसभित्र जे भइरहेको छ, सब ठीक भइरहेको त छैन। कांग्रेसभित्र धेरै कुरा बदल्नु पर्नेछ। तर कांग्रेसलाई लात हानेर बाहिर गएर खराब भनेर, ढुंगा हानेर, झ्याल फुटाएर कांग्रेस बदलिन्छ?’, थापाले भने, ‘कांग्रेस बदल्न त्यहीँभित्र बसेर लड्नुपर्छ। यहीँभित्र बसेर संघर्ष गर्नुपर्छ। त्यो संघर्ष गर्ने हो। गोविन्द भट्टराईले पनि गर्ने हो, हामीले पनि गर्ने हो।’ 

उनले वाग्लेको नाम नलिएरै ‘टुरिस्ट उम्मेदवार’को संज्ञा दिए।

‘यहाँ घुम्दैघुम्दै आएका टुरिस्ट उम्मेदवारलाई तपाईंले भन्नुपर्छ– यहाँको कांग्रेस चोकमा राखेको मादलजस्तो होइन, जल्ले आयो तेल्ले बजाउँदै हिंड्ने होइन’, कार्यक्रममा थापाले भने।

विश्वप्रकाश पनि रुष्ट 
कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि अर्थविद् वाग्लेप्रति रुष्ट देखिन्छन्। चितवन–२ मा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको मनोनयन दर्ताअघि आयोजित कार्यक्रममा उनले वाग्लेमा राजनीतिक संस्कार नै नभएको टिप्पणी गरे। 

‘कांग्रेसले उहाँलाई मञ्च दियो। कविता भन्न जान्दछु भन्दा कविता भन्न दियो। गीत गाउन जान्दछु भन्दा गीत गाउन दियो’, शर्माले भने, ‘नाच्न पनि जान्दछु भन्दा पख्नु न पालो आउँछ बिस्तारै भन्यौँ। त्यसोभन्दा उहाँले कांग्रेसमाथि नै प्रश्न गर्नुभयो। यसबाट थाहा हुन्छ उहाँ कति सुसंस्कृत हुनुहुँदो रहेछ!’

सभापति शेरबहादुर देउवाको आलोचना गर्न पाइने भए पनि कांग्रेसले नै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएको मान्छेले कांग्रेसमा अवसर पाइनँ भनेर आलोचना गर्न नसुहाउने उनको तर्क छ।  

तनहुँ–१ 
तनहुँ–१ मा कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ। कांग्रेसलाई सत्तारुढ दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थन छ। 

यहाँ नेकपा एमालेका तर्फबाट पूर्व आईजीपी सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अर्थविद् स्वर्णिम वाग्लेको उम्मेदवारी परेका छन्। तनहुँ–१ मा यी तीन जनाबीच प्रतिस्पर्धा हुने देखिन्छ। 

गत मंसिर ४ मा सम्पन्न निर्वाचनको समानुपातिकतर्फको मत परिणामअनुसार तनहुँ–१ मा कांग्रेसका पक्षमा २८ हजार ४३२ मत छ। जसमा कांग्रेस एक्लैको २० हजार १५८, माओवादीको ७ हजार ३२६ र एकीकृत समाजवादीको ९५० मत छन्। यहाँ समानुपातिकतर्फ एमालेले १६ हजार ६८३ र राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार ६३२ मत पाएका थिए। 

निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसबाट तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल २५ हजार ३६१ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एकबहादुर रानामगरले १९ हजार ९८१ प्राप्त गरेका थिए। 

स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी ६ हजार ८८६ मत ल्याएर तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देल ६ हजार ४४ मतका साथ चौथो भएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार विनोदकुमार घर्तीले २ हजार ४८४ मत पाएका थिए। 

चितवन–२ 
चितवन–२ मा कांग्रेसका तर्फबाट पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। यहाँ एमालेका तर्फबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवार छन्। 

गत मंसिर ४ मा सम्पन्न निर्वाचनको समानुपातिकतर्फको मत परिणामअनुसार चितवन–२ मा कांग्रेसका पक्षमा २१ हजार १५५ मत छ। जसमा कांग्रेस एक्लैको १२ हजार १३२, माओवादी केन्द्रको ८ हजार ७ र एकीकृत समाजवादीको ६१६ मत छन्। 

यहाँ समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ३५ हजार ९४५ मत पाउँदा एमालेका पक्षमा १६ हजार ७८४ मत खसेको निर्वाचन आयोगले जनाएको छ। चितवन–२ मा प्रत्यक्षतर्फ ४९ हजार ३ सय मतका साथ लामिछाने विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता उमेश श्रेष्ठले १४ हजार ९८८ र एमाले नेता कृष्णभक्त श्रेष्ठले १४ हजार ६५२ मत पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .