ad ad

राजनीति


माओवादीको जस्तो तीव्र पतनबाट बच्न रास्वपाले रोज्यो प्रतिपक्ष बेन्च

माओवादीको जस्तो तीव्र पतनबाट बच्न रास्वपाले रोज्यो प्रतिपक्ष बेन्च

सागर न्यौपाने
बैशाख २५, २०८० सोमबार २१:६, काठमाडौँ

अधिकांश पार्टी र तिनका नेतालाई लागेको थियो, राष्ट्रिय स्वतन्त्र पार्टी सत्ताका लागि मरिमेट्छ। त्यसैले उपचुनावलगत्तै सभापति रवि लामिछाने मन्त्री भएर सरकारमा सहभागी हुन्छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि यही सोच्थे। रास्वपाले समर्थन फिर्ता लिने त प्रचण्डले कल्पनै गरेका थिएनन्।

तर, ती अनुमान र विश्वासलाई गलत सावित गर्दै रास्वपाले प्रतिपक्षमा बस्ने निर्णय गर्‍यो। वैशाख २२ मा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट उसले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्‍यो। वैशाख २४ देखि रास्वपा प्रतिपक्ष बेन्चमा बसेको छ।

नागरिकता प्रकरणपछि सांसद नरहँदा पनि मन्त्री पद जोगाउन जोडबल लगाएका रवि लामिछानेले अहिले प्रतिपक्षमा बस्ने निर्णय किन गरे त? 

कांग्रेस–माओवादीसहितको गठबन्धनमा मागेजस्तो मन्त्रालय पाउने सम्भावना नभएपछि उसले बाटो मोडेको सत्तापक्षीय नेताहरुको भनाइ छ। 

तर, रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल यो कुरा मान्न तयार छैनन्। रास्वपाले मागेकै मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्ड तयार भएको उनले दाबी गरे। उसो भए रास्वपा सरकारमा किन गएन त?

डा. ढकालका अनुसार माओवादीको पतनलाई हेरेर पनि रास्वपा प्रतिपक्षमा बसेको हो। २०६४ मा बलियो शक्ति बनेको माओवादी ६ वर्षमै कसरी पतन भयो भन्नेबारे गहिरो अध्ययन र विश्लेषण गरेर त्यसबाट पाठ सिकेको उनको भनाइ छ।

‘युद्धबाट उदाएको माओवादी कसरी सकियो? पार्टीभित्र अनेकखालका व्यक्तिहरुको प्रवेश र घुसपैठ भए, त्यो रोक्न सकेन,’ प्रवक्ता ढकालले भने, ‘पार्टी निर्माणको यही चुनौती हामीले बुझेका छौँ।’

पहिलो संविधान सभामा प्रत्यक्षतर्फ १२१ सिट जितेको माओवादी तत्कालीन कांग्रेस र एमालेभन्दा निकै ठूलो दल बनेको थियो। तर, संविधान बनाउन नसक्दै संविधान सभा भंग भयो।

२०७० मा भएको दोस्रो चुनावमा माओवादी तेस्रो दलमा खुम्चिन पुग्यो। त्यसबेलादेखि एकाधबाहेक माओवादी निरन्तर सत्तामै छ। तर, माओवादी खिइने क्रम रोकिएको छैन।

‘हाम्रो पार्टीभित्र पनि प्रवेश गर्न खोज्नेहरुको लहर चलेको छ, विचार र पार्टी जोगाउन, घुसपैठ रोक्न प्रतिपक्षमा बसेर देश दौडाहा गर्न चाहेका हौँ,’ ढकालले भने।

अहिले प्रतिपक्षमा बस्दा अर्को चुनावमा एकल बहुमत प्राप्त हुनसक्ने सम्भावना पनि रहने उनले बताए।

‘प्रतिपक्षमा बसेपछि जनतासँग कनेक्सन बढाउन सकिने रहेछ, सरकारमा हुँदा साक्षात्कार गर्न पाइएन, काममै व्यस्त भइयो,’ डा. ढकालले नेपालखबरसँग भने, ‘भोलि सरकारमा गएर काम गर्ने तयारी पनि हो।’

प्रतिपक्षी दलसँग कार्यकारी अधिकार नहुने भएकाले संसदमा प्रस्तुत हुँदाको रणनीति बनाउन, एजेन्डा तय गर्न सांसदलाई गृहकार्य दिइएको छ। रास्वपाका सांसदहरुले अहिले धमाधम रिपोर्ट कार्ड बनाउनुको कारण यही हो।  

‘प्रतिपक्षमा हाम्रो क्रियाकलाप र भूमिका हेरेरै जनताले एकल बहुमत वा एकमना सरकार बनाउन मत दिन्छन् भन्नेमा आत्मविश्वासी छौँ,’ उनले थपे।

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार भने जनताले प्रतिपक्षमा बस्ने जनमत दिएको र सरकारमा जाँदा पनि केही गर्न नसकिने स्थिति रहेकाले प्रतिपक्षमा बसेको बताउँछन्।

‘प्रतिपक्षमै बस्ने मत आयो। जनमतले सरकारमा नजाऊ भन्यो,’ उनले भने, ‘पहिला सरकार निर्माण गर्न गठबन्धनको अवस्था प्रष्ट नभएकोले हामीले लिएको पहलकदमीले सरकार बन्यो, अहिले त्यो अवस्था छैन। अहिलेको सरकारमा बसेर जनतालाई डेलिभरी दिन सकिँदैन, सरकारको उपलब्धि देखिँदैन। परम्परावादी दलले गरेको काम गर्ने छुट हामीलाई छैन, नयाँ काम गरिहाल्ने अवस्था छैन।’

रास्वपाका सांसदहरु अपजस पाउने बेलामा सरकारमा बस्न नहुने पक्षमा थिए। वैशाख २२ मा बसेको केन्द्रीय र संसदीय दलको बैठकमा पनि सरकारकै आयु प्रष्ट नभएको बेला सरकारमा जान नहुने पक्षमा अधिकांश सांसद उभिएका थिए। 

यद्यपि, परियारका अनुसार रास्वपा सरकारमा जाँदै नजाने गरी प्रतिपक्षमा बसेको भने होइन। 

‘अहिलेसम्म हामी नहुँदा सरकार अप्ठेरोमा पर्दैन,’ उनले नेपालखबरसँग भने, ‘तर, व्यवस्थालाई अप्ठेरो परे, शान्ति प्रक्रियामा समस्या देखिए हामी जोडिने बाटो खुला राखेका छौँ।’ 

महामन्त्री ढकाल पनि सरकारमा सहभागी हुने सम्भावना देख्छन्। 

‘भोलि सरकार अल्पमतमा पर्‍यो भने, सरकारलाई समर्थन मात्र दिएर भएपनि जोगाउँछौँ,’ महामन्त्री ढकालले भने, ‘सदन स्थिर हुनुपर्छ। बीचमै मध्यावधि हुन दिन्नौँ।’

पछिल्लो समय रास्वपा पार्टी निर्माण प्रक्रियामा लागेको छ। वडा, पालिका र क्षेत्रीय समिति निर्माण थालेको उसले देशभर कार्यकर्ता बनाउँदैछ। 

असार ७ गते स्थापना भएको रास्वपामा सुरुवाती दिनमा ६/७ जना मात्र नेता थिए। अहिले विस्तार हुँदै ४० केन्द्रीय सदस्य पुगिसकेका छन्। २१ जना सांसद छन्। 

कांग्रेस, एमालेका कतिपय नेताहरु रास्वपामा जाने तयारीमा छन्। 

‘मास बेस्डबाट अघि बढेका हामी अब संगठन निर्माण, भातृ संगठन संरचना बनाउनुपर्ने हुनसक्छ,’ प्रवक्ता डा. ढकाल भन्छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .