राजनीति


मदनको सालिकअघि स्तब्ध विद्या

मदनको सालिकअघि स्तब्ध विद्या

सरोज नेपाल
जेठ ३, २०८० बुधबार ९:१८, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बिहानै महादेवस्थानस्थित स्मृति वाटिका पुगिन्। मदन भण्डारीको सालिकमा माल्यार्पण गरिन्।

राष्ट्रपतिबाट बाहिरिएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा पुगेकी उनी केही भावुक देखिइन्। 

तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा  रहस्यमयी जीप दुर्घटनामा निधन भएको थियो। दुर्घटनाको कारण आज पनि गर्भमै छ। 

त्रिशूलीमा भएको रहस्यमय जिप दुर्घटनामा अस्वभाविक मृत्युवरण गरेका मदनकी श्रीमती हुन् विद्या।

२०२८ सालमा पुष्पलालसँगको भेटपछि राजनीतिमा लागेका मदनको २०३९ सालमा विद्यासँग बिहे भएको थियो। विद्या पनि कम्युनिष्ट राजनीतिमा सक्रिय थिइन्। २०३७ सालमा महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरको स्ववियू कोषाध्यक्ष निर्वाचित भएकी उनको राजनीतिमा मदनसँग बिहे भएपछि अल्पविराम लाग्यो।

२०५० मा दासढुंगा दुर्घटना भएपछि पुन: राजनीतिमा सक्रिय भएकी थिइन्। २०५४ सालमा नेपालगञ्जमा भएको एमालेको छैटौँ महाधिवेशनदेखि एमालेको केन्द्रीय समितिमा रहेर काम गरेकी विद्या नेपालको पहिलो महिला राष्ट्रपतिसम्म बनिन्।

आज मदन-आश्रितको ३०औं स्मृति दिवस मनाउँदैछ। यसै क्रममा मदनलाई सम्झिन महादेवस्थान पुगेकी विद्याको बोली भने अवाक रह्यो। उनी केही भावुक देखिन्थिन्। सञ्चारकर्मीमाझ बोल्न मानिनन्। माल्यार्पणपछि हिँड्दै गएर उनले मदन भण्डारी स्मृति पुस्तकालयको अवलोकन गरिन्।

त्यहाँबाट उनी खोलाको किनार हुँदै मदन भण्डारी पार्क पुगिन्। त्यहाँ पुगेर उनले वृक्षारोपण गरिन्। त्यसपछि मौन नै रहेर उनी त्यहाँबाट बाहिरिइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .