ad ad

राजनीति


प्रचण्डसँग बुलेटप्रुफ ‘ओबामा स्वीट’ मा नदेखिएका जयशंकरले जब केपटाउनबाट गरे ट्विट

प्रचण्डसँग बुलेटप्रुफ ‘ओबामा स्वीट’ मा नदेखिएका जयशंकरले जब केपटाउनबाट गरे ट्विट

दिल्लीस्थित होटल मौर्यको बुलेटप्रुफ ‘ओबामा स्वीट’ मा प्रचण्डसँग भेट्दै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनय मोहन क्वात्रा (रासस)


नेपालखबर
जेठ १८, २०८० बिहिबार २१:३२, नयाँ दिल्ली

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा आउनु अघिल्लो दिन मंगलबार नै विदेशमन्त्री एस जयशंकरले उनीसँग भेटवार्ता नगर्ने चर्चा दिल्लीमा चल्यो। 

कम्तिमा दिल्लीस्थित नेपाली दूतावासका अधिकारी आफ्नो प्रधानमन्त्रीको औपचारिक भ्रमणका बेला परम्परा विपरित भारतका विदेशमन्त्री सहरमा हुने छैनन् भन्ने बारे जानकार थिए। तर नेपाली पक्षलाई विदेशमन्त्री जयशंकर प्रधानमन्त्री प्रचण्डसँग भेट्न उपलब्ध हुने छैनन् भन्ने प्रष्ट जानकारी चाहिँ दिइएको थिएन्। जसरी प्रचण्डलाई विमानस्थलमा कसले ‘रिसिभ’ गर्नेछ भन्ने पनि प्रष्ट जानकारी दिइएको थिएन्। 

सञ्चारकर्मी र कुटनीतिक क्षेत्रका विज्ञहरूका लागि चाहिँ प्रधानमन्त्रीको भ्रमणमा ‘होस्ट कन्ट्री’ का विदेशमन्त्री नै नहुने कुरा पत्याउन कठिन थियो, जबकी ‘नेवरहुड फस्ट’ नीति लिएका एस जयशंकर नेपाल मामिलामा झन् बढी जोडिएका व्यक्ति हुन्। जयशंकर ब्रिक्स बैठकमा सहभागी हुन दक्षिण अफ्रिका वा प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणको तयारीका लागि अमेरिका जाने चर्चा दिल्लीमा दुई दिन चल्यो, तथापी केही उच्च स्रोतहरू प्रचण्डलाई दिल्लीमा स्वागत गरेपछि मात्रै उनी विदेशिने बताइरहेका थिए।  

तेस्रो पटक प्रधानमन्त्री भएलगत्तै ‘पहिलो विदेश भ्रमण भारत गर्छु’ भनेर बोलकबोल गरेका प्रचण्डले दिल्ली आउन करिब छ महिना पर्खनु पर्यो। यसबीचमा कहिले प्रधानमन्त्री मोदीको समय नमिल्दा त कहिले नेपालकै आन्तरिक राजनीतिक बाहनाले भ्रमण ढिलो भइरह्यो।  

जब प्रचण्ड भारत भ्रमणमा आउने तय भयो दिल्लीले हार्दिकता साथ स्वागत गर्नेमा काठमाडौं आश्वस्त थियो। विमानस्थलदेखि सहरका चोकचोकमा प्रचण्ड–मोदीका फोटो–बोर्ड राखेर दिल्लीले स्वागतको हात पनि फैलायो। मंगलबारसम्म कम्बोडियाका राजाको तस्बिर रहेका सहरका होर्डिङ बोर्डमा बुधबार दिउँसोबाट दौरा सुरुवाल र टोपी पहिरिएका प्रचण्ड देखिन थाले। 

विमानस्थलमा सांस्कृतिक झाँकीसहित राज्यमन्त्रीले प्रचण्डलाई गरेको स्वागत यसअघि भन्दा कम थिएन्। विमानस्थलबाट सहरको मौर्य होटलसम्म पुग्दा आफूलाई स्वागत गरिएको बोर्ड देखेर सायद प्रचण्ड पुलकित पनि भए।

तर होटल आइपुगेपछि भने नेपालले प्राथमिकतामा राखेका केही एजेण्डामा दिल्ली लचिलो नभएको संकेत र विदेशमन्त्री जयशंकर सहरमा नरहेको पुष्टिले सायद दिल्लीले प्रचण्डलाई हार्दिकता साथ स्वागत गरेको महशुस नेपाली पक्षले गर्न सकेन।

जब मौर्य होटलको १४औं तलामा आफू बसेको बुलेटप्रुफ ‘ओबामा स्वीट’ मा स्वागत गर्न भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल विदेश सचिव विनय मोहन क्वात्रासहित देखापरे प्रचण्डको टिम केहीबेर अलमलमा पर्यो। किनकी यसअघि डोभाल र सचिव क्वात्रा सँगै भेट्न आउने सूचना नेपाली पक्षलाई दिइएको थिएन्। उनीहरूसँग छुट्टाछुट्टै भेट गर्ने तयारी प्रधानमन्त्रीको टिमको थियो। सहमति गर्ने तयारी गरिएका कतिपय एजेण्डामा कुरा नमिलेकाले नेपाली पक्षलाई गलाउन अन्तिम समयमा डोभाल र क्वात्रा सँगै आएको अनुभूति भयो।  

डोभालले नेपालको माग अनुसार भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सहज हुने गरी अतिरिक्त एयर रुट दिन नसकिने, २६ वर्षदेखि अड्किएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना तत्काल अघि बढाउन नसकिने मात्रै होइन उर्जा व्यापार सम्झौता पनि टार्ने आसयका कुरा प्रचण्डसँग राखे। तर अन्तिम समयमा प्रचण्डले अडान लिए– उर्जा व्यापार सम्झौता नहुने भए भारतले लगानी गर्ने तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत सम्झौता पनि नगर्ने।

एकले अर्कोलाई गलाउने दुवै पक्षको रणनीतिक टक्करले एक रातमा अग्राख पलायो। बिहीबार प्रधानमन्त्री प्रचण्ड र मोदीबीचको औपचारिक वार्ता पहिले नै १० वर्षका लागि उर्जा व्यापार सम्झौता गर्न दिल्ली राजी भएको जानकारी नेपाली पक्षले पायो। जसले अन्तिम समयमा दुई प्रधानमन्त्री बीचको वार्तालाई केही सहज बनायो। हवाई रुट दिन र तत्काल पञ्चेश्वर परियोजना अगाडि बढाउन दिल्ली तयार नभए पनि उर्जा व्यापार सम्झौता हुने भएपछि सट्टामा तल्लो अरुण र फुकोट कार्णाली भारतलाई दिन प्रचण्ड राजी भए। 

अघिल्लो रात एक अर्कालाई गलाउन लागि परेका दुवै पक्ष बिहीबार बिहान ११ बजे हैदराबाद हाउसको वार्ता–टेबलमा आइपुग्दा केही लचिलो भइसकेका थिए। जसले चीनको निम्तो पन्छाएर पहिला भारत भ्रमणमा आएका प्रचण्डलाई मिश्रित परिणाम लिएर काठमाडौं फर्कने आत्मबल दिलायो भने नेपालको जलविद्युतमा वर्चश्व कायम गर्ने आकांक्षामा भारत थप माथि चढ्यो।      

भयो के भने केही दिन पहिलेदेखि अनुमान र चर्चा गरिएजस्तो विदेशमन्त्री एस जयशंकर ‘ओबामा स्वीट’ मा देखै परेनन्। उनी दिल्लीमै रहेर प्रचण्डलाई भेट्न होटल पुगेको वा हैदराबाद हाउसमा सहभागी भएको भए सायद दुई पक्षीय वार्ताले अर्कै सहज मोड लिन पनि सक्थ्यो। उनले थप कडा अडान लिएको अवस्थामा प्रचण्डको यो दिल्ली यात्रा ‘सद्भावना भ्रमण’ मै सिमित हुन पनि सक्थ्यो।

केपटाउनमा बिहीबार दक्षिण अफ्रिकी विदेशमन्त्रीसँग भेट्दै भारतीय विदेशमन्त्री एस जयशंकर

भारतमा मोदी कालका चतुर कुटनीतिज्ञ जयशंकर करिब एक दशकदेखि नेपालसँग जोडिँदै आएका छन्, जतिबेलादेखि उनी भारतको विदेश सचिव बने। 

संविधान जारी गर्ने तयारी भइरहेका बेला करिब सात वर्ष पहिले जयशंकर भारतको परराष्ट्र सचिव थिए, जुनबेला उनी प्रधानमन्त्री मोदीको विशेष दूतका रुपमा नेपाल आएका थिए। संविधान जारी हुनबाट रोक्न उनले दिएको दबाब दलहरूले नमानेपछि संभवतः उनकै प्रस्तावमा भारतले नेपालमाथि आर्थिक नाकाबन्दी लगाएको थियो त्यसबेला। पछिल्लो समय उनीप्रतिको विश्वास पुनआर्जन हुँदै गएपनि काठमाडौंको नागरिक तहमा जयशंकरप्रतिको आशंका र आक्रोश हटिसकेको छैन। 

विदेशमन्त्री जयशंकरको अनुपस्थितिमै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण गराउने तयारी दिल्लीको साउथ ब्लकले किन गर्यो भन्ने पर्दा खुलिसकेको छैन। जब जयशंकरले बिहीबार दिउँसो केपटाउनबाट ट्विट गर्दै आफू ब्रिक्स साइडलाइन बैठकमा सहभागी भएको जनाउ दिए उनी दक्षिण अफ्रिका पुगेको खुल्यो।

लगत्तै मोदीको ट्विट रिट्विट गर्दै जयशंकरले आफ्नो अनुपस्थितिमा हैदराबाद हाउसमा भएको नेपाल–भारत सहमति–सम्झौता आफ्नो तर्फबाट अनुमोदन गरेको जनाउ पनि दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .