ad ad

राजनीति


एक्लाएक्लै भेटमा मोदीसँग जुटेको त्यो सहमतिले प्रचण्डको मुहारमा फर्कियो खुसी

अन्तिम समयमा जब प्रचण्ड–मोदीको भाषण ‘अपडेट’ गरियो
एक्लाएक्लै भेटमा मोदीसँग जुटेको त्यो सहमतिले प्रचण्डको मुहारमा फर्कियो खुसी

चन्द्रलाल गिरी
जेठ १९, २०८० शुक्रबार ६:४२, नयाँ दिल्ली

चारदिने औपचारिक भ्रमणमा बुधबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बिहानसम्म तनावमै देखिन्थे। तर जब हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक्लाएक्लै भेट भयो, प्रचण्डको मुहारमा फर्कियो खुसी।

छ महिना गठबन्धन सरकारको नेतृत्व गरिसकेपछि दिल्ली आएका प्रचण्डको यो भ्रमणको निर्णायक क्षण नै त्यही थियो। जुन बेला नेपालको आर्थिक विकासमा ऐतिहासिक महत्वको दीर्घकालीन उर्जा सम्झौता गर्ने सहमति भयो।

भारत भ्रमणबाट ठूलै ‘सरप्राइज’ ल्याउने उनले काठमाडौंमै बताइसकेका थिए। यही सेरोफेरोमा गहकिला एजेण्डाहरुकोे भारी बोकेर उनी बुधबार दिल्ली उत्रिए।

दिल्ली उत्रिएको केही घण्टाबाटै प्रचण्डमा बैचैनी सुरु थाल्यो। साँझ ६ बजे होटल आइसीटी मौर्यको ‘ओबामा सुइट’ मा भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल विदेश सचिव विनयमोहन क्वात्रालाई लिएर प्रचण्ड र मोदीबीच हुने छलफलका एजेण्डा तय गर्न आए।

भारतीय अधिकारीहरुले विदेशमन्त्री एस जयशंकर विदेश भ्रमणमा भएकोले डोभाल मात्र प्रचण्डलाई भेटन आउने जनाउ अन्तिम समयमा दिएका थिए। तर डोभालसँगै क्वात्राको आकस्मिक आगमनपछि नेपाली टोली एकाएक अलमलमा प¥यो। यहीबेला मुख्य सचिव शंखरदास बैरागी र विदेश सचिव भरतराज पौडेल पनि प्रचण्डको आसपासमा थिएनन्। कसरी वार्ता गर्ने भनेर छलफल गर्न खोज्दा मुख्य सचिव पनि आफ्नो होटलको कोठामा भेटिएनन्। मुख्य सचिवको फोन समेत नउठेकोले कारगेटसम्म गएर खोज्नु परेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले नेपालखबरलाई बताए।

प्रधानमन्त्री दाहाल भारतसँग २५ वर्ष लामो उर्जा व्यपार सम्झौता गर्ने, भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि थप अतिरिक्त हवाइ रुटको अनुमति लिन पाएमा आफ्नो भ्रमण उपलब्धीमूलक हुनेमा विश्वस्त थिए। त्यतिमात्र होइन, २६ वर्षदेखि थाती रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालगायतका विषयमा भारतसँग छलफल गरी समझदारी गर्ने सोचमा थिए, उनी। तर डोभालसँगको कुराकानीमा उर्जा निर्यात र हवाई रुटको अनुमति दिने कुरामा सहमति जुटन सकेन। यही विन्दुबाट प्रचण्डको मुहारमा तनाब देखिन थाल्यो।

प्रचण्डमा तनाव बढेको कुरा नेपाली दूतवासले उनको सम्मानमा दिएको रात्रीभोजमा पनि झल्किन्थ्यो। दाहालको मलिन चेहरा र हाउभाउ हेरेर डोभाल र प्रचण्डबीचमा कुरा नमिलेको लख दूतावासमा जम्मा भएका प्रवासी नेपालीहरुले समेत अनुमान लगाइसकेका थिए।

प्रचण्डमा केही उतार–चढाव हुनसाथ उनमा आएको परिवर्तन अनुहारमा झल्किहाल्छ। फेरि उनी कुरा लुकाउन पनि सक्दैनन्। यो प्रसंग दाहालले बिहीबार प्रधानमन्त्री मोदी र राष्ट्रपति मुर्मूसँग भेट गरिसकेपछि साँझ इन्डिया नेपाल बिजनेस समीटमा सम्बोधन गर्ने क्रममा खुलाए।

उनले खुलेर भने, ‘आज बिहान राजघाटमा महात्मा गान्धीलाई श्रद्धाञ्जली दिनेक्रममा हल्का पानी प¥यो। त्यसपछि मलाई लाग्यो यो शुभ संकेत हो। अब केही राम्रो हुने छ। नभन्दै मैले भनेजस्तो राम्रो नै भयो, आजको दिन ऐतिहासिक रह्यो।’

भारतीय समकक्षी मोदीसँगको वार्ता अघिसम्म दाहाल कति बेचैन थिए भन्ने कुरा उनको सम्बोधनबाट नै थाहा हुन्छ।

हुनपनि मोदीसँग एक्लाएक्लै भेटवार्ता हुनुअघिसम्म प्रचण्ड ढुक्क हुन सकेका रहेनछन्। मोदीसँगको त्यो भेटघाटपछि मात्र प्रचण्डमा एकाएक खुशी छाएको रहेछ। प्रचण्डको टिमका एक सदस्यका अनुसार जब एक्लाएक्लै भेटवार्तामा १० वर्षमा १० हजार मेगावाट जलविद्युत नेपालबाट किन्न मोदी सहमत भए, त्यसपछि पहिला नै तयार भइसकेको मोदी र प्रचण्डको भाषणलाई संशोधन गरेर विद्युत व्यापारमा भएको सहमति समावेश गरियो।

साँझ प्रचण्डले आफ्नै शैलीमा आफ्नो टिममा सेयर गरे, ‘सुरुमा केही अन्योलजस्तो देखिएपनि पहल लिइयो, विद्युत व्यापारमा ऐतिहासिक सम्झौता भयो।’

प्रधानमन्त्रीको हैसियतमा चौथो पटक दिल्ली भ्रमण गर्दा प्रचण्ड अलि बढी सकसपूर्ण अवस्थामा नै थिए। नेपाली दूतावासको फितलो व्यवस्थापनले भन्दा पनि भारतीय पक्षबाट भनेजसरी समन्वय नभएको अनुभूति सायद उनमा थियो। डोभालको प्रारम्भिक संकेतले प्रचण्डमा तनाव थपियो।

भारतसँग भएका उर्जा व्यापार सम्झौता, पारवहन सन्धिको पुनरावलोकन, भारतको १७ अर्ब अनुदान सहयोगमा दुईवटा प्रेटोलियम पाइपलाइन निर्माण गर्ने सम्झौता, सीमापार रेलमार्ग विस्तार, भन्सार व्यवस्थापनका लागि संयुक्त चेक प्वाइन्ट (आइसीपी) स्थापना, महाकाली नदीमा दुईवटा पुल निर्माण, अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माण, सीमापार डिजिटल पेमेन्टजस्ता विषयहरुमा सम्झौता र समझदारी तथा बंगलादेशसँग पनि उर्जा निर्यातको विषयमा भारत सहमत भएपछि प्रचण्डले भारत भ्रमण सफल भएको अनुभूति गरेका छन्।

भारत नेपाल बिजनेस समीटको सम्बोधनमा प्रचण्डले त्यही खुसीको भाव प्रकट गर्दै भ्रमणबाट सन्तुष्ट भएको जनाउ दिए।
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .