ad ad

राजनीति


एमालेसहितका प्रतिपक्षीको अवरोधले रोकिएको संसद् बैठक सोमबार मात्रै बस्ने

एमालेसहितका प्रतिपक्षीको अवरोधले रोकिएको संसद् बैठक सोमबार मात्रै बस्ने

फाइल तस्बिर


नेपालखबर
जेठ २१, २०८० आइतबार १५:२९, काठमाडौँ

नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुको विरोधका कारण रोकिएको संसद् बैठक अब सोमबार मात्रै बस्ने भएको छ।

संघीय संसद्‍मा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले एक सूचना निकाल्दै अब अर्को बैठक सोमबार बिहान ११ बजे मात्रै बस्ने जानकारी दिएका छन्। 

आइतबार बिहान ११ बजे बसेको संसद् बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीसहितले अवरोध गर्दै नाराबाजी गरेका थिए। 

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक असंवैधानिक बाटोबाट प्रमाणीकरण गरेको भन्दै बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलहरु आन्दोलित भएका थिए। 

सभामुख देवराज घिमिरेले संसद् बैठक सुरु गर्नेबित्तिकै प्रतिपक्षी दलका सांसद्हरु ड्यासबाट उठेर अवरुद्ध गर्न उत्रिएका थिए।

बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले अर्को विधेयक नल्याएसम्म बैठक चल्न नदिने चेतावनी दिएका थिए। 

सरकारको कदमविरुद्ध प्रतिपक्षी दलहरुले मोर्चाबन्दी गरेपछि सभामुख घिमिरेले बैठक एक घण्टाका लागि स्थगित गरेका थिए। तर बैठकका लागि दलहरुबीच सहमति जुट्न नसक्दा संसद् भोलिसम्मलाई स्थगित गरिएको हो।

यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटकसम्म प्रमाणीकरण नगरेपछि निष्क्रिय भएको नागरिकता विधेयक वर्तमान राष्ट्रपति पौडेलले गत जेठ १७ गते प्रमाणीकरण गरिदिएका थिए।

उक्त विधेयक राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जाने दिन नै प्रमाणीकरण गरिदिएका थिए।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणकै क्रममा अतिक्रमित नेपाली भूमि कालापानीसहितसँग पूर्वी नाकाबाट बंगलादेश जाने बाटो लिन सकिने विवादित अभिव्यक्ति दिएका थिए। 

त्यसको विरोधमा पनि प्रतिपक्षीहरुले संसद्‍मा नाराबाजी गरेका थिए। आइबार नै बसेको राष्ट्रियसभाको बैठकमा पनि एमालेले अवरोध गरेपछि साँझसम्मलाई रोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .