राजनीति


कार्यकर्ता जोगाउने कांग्रेसको जुक्ति : भागवत गीता र स्वस्थानीको किताब राखेर कसम खुवाइँदै

कार्यकर्ता जोगाउने कांग्रेसको जुक्ति : भागवत गीता र स्वस्थानीको किताब राखेर कसम खुवाइँदै

कांग्रेस कालिका नगरपालिका सभापति कोमल श्रेष्ठ


नेपालखबर
साउन १७, २०८० बुधबार १३:१६, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिकासहितको क्षेत्रमा पछिल्ला दुई चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले जबर्जस्त प्रभाव देखाएको छ।

अघिल्लो वर्ष मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचन र गत वैशाख १० गतेको उपनिर्वाचनमा चितवनमा कांग्रेससहितका दलहरुलाई रास्वपाले बलियो धक्का दिएको छ।

चितवन क्षेत्र नम्बर २ मा पर्ने भरतपुर र कालिका नगर क्षेत्रबाट कांग्रेस, एमाले र माओवादीकै कार्यकर्ताले रवि लामिछानेको पक्षमा भोट ओइराइदिए।

त्यहीकारण आमनिर्वाचनमा भन्दा गत वैशाखमा ठूला दलको अवस्था झन् बेहाल देखियो। यी दुवै चुनावमा लामिछानेले अरुभन्दा तेब्बर बढी मत ल्याएर जितिसकेका छन्। 

स्थापनाको एक वर्षमै थेग्नै नसक्ने गरी रास्वापको प्रभाव चितवनमा बढेपछि एमाले र कांग्रेसलाई आफ्नो शाख जोगाउनै मुस्किल परेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त गत मंसिरको चुनावमै चितवन छाडेर गोरखा पुगिसकेका छन्। उनलाई पनि त्यसबेला रवि आफ्नो क्षेत्रमा आउन सक्ने चिन्ता थियो। 

रास्वापको लहरले चितवनमा आफ्नो पुरानो प्रभाव जोगाउन हम्मे परेका बेला नेपाली कांग्रेसले कार्यकर्ता जोगाउने नयाँ जुक्ति निकाल्न थालेको छ।

क्रियाशील सदस्यले पनि भोट चाहिँ रास्वपालाई दिएपछि भोट अन्तै हालेपछि कांग्रेसका स्थानीय नेताले नयाँ उपाय निकालेकाा हु्न्। 

कांग्रेसले चलाइरहेको सदस्यता नवीकरण अभियानका क्रममा कांग्रेसले ‘भागवत गीता’ र ‘स्वस्थानी ब्रत कथा’ को पुस्तकलाई साक्षी राख्न थालेको छ। 

चितवनस्थित कांग्रेसको कालिका नगरपालिका वडा नम्बर ४ कार्यसमितिले क्रियाशील सदस्यताको नवीकरणमा कार्यकर्तालाई दायाँबायाँ गर्न नदिन उक्त जुक्ति लगाउन थालेको हो। 

कालिका नगरपालिका ४ का कांग्रेस सभापति कोमल श्रेष्ठले सदस्यता नवीकरणमा हिन्दू धर्मका ग्रन्थहरु साक्षीका रुपमा राख्ने जुक्ति निकालेका हुन्। 

‘वडा नम्बर ४ मा रहेका नेपाली कांग्रेसका कृयाशील साथीहरुका लागि ‘भागवत गीता’ र ‘स्वस्थानी ब्रत कथा’को किताबलाई साक्षी राखी कृयाशील सदस्यता नवीकरण गर्ने व्यवस्था गरिएको छ’, सभापति श्रेष्ठले भनेका छन्, ‘नबिराउनु नडाउनू।’

क्रियाशील सदस्यता नवीकरण गर्दा ‘भागवत गीता’ र ‘स्वस्थानी ब्रतकथाको किताब’ साक्षी राखेर कसम खुवाउने गरिएको श्रेष्ठले बताएका छन्। कांग्रेसले कालिका नगरपालिका ४ मा साउन ११ गतेदेखि सदस्यता नवीकरण अभियान चलाएको छ। त्यही बेलादेखि दुई धार्मिक ग्रन्थलाई साक्षी राख्न थालिएको हो। 

सभापति श्रेष्ठका अनुसार सदस्यता नवीकरण गर्दा दुई धार्मिक ग्रन्थ साक्षी राख्न अनिवार्य गरिएको छ। यदि शंका लागेमा नवीकरणका क्रममा सम्बन्धित क्रियाशील सदस्यहरुलाई ती ग्रन्थ छुवाउने गरिएको छ। 

सभापति श्रेष्ठले पार्टीमा आचारसंहिता पालनाको अवस्था दयनीय रहेको बताए। क्रियाशील सदस्यता लिएर पनि पार्टी विधानअनुसार नचल्ने क्रम नेता कार्यकर्तामा बढ्न थालेपछि त्यसलाई रोक्न यस्तो कदम चाल्न बाध्य भएको श्रेष्ठले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .