नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बनाएको ७११ सदस्यीय नेविसंघको जम्बो केन्द्रीय समितिबाट एलिजा ढकाल र मुकेश घिमिरेले अलग भएको घोषणा गरेका छन्।
लोकतान्त्रिक मूल्य मान्यतालाई आफ्नो आदर्श मानेर अघि बढिरहेको नेविसंघमा केही वर्षयता मातृ पार्टीको अत्यधिक एवम् अनुचित हस्तक्षेपका कारण लोकतन्त्रको अनुभूति गर्न कठिन भएको जनाउँदै उनीहरुले केन्द्रीय समितिमा नबस्ने घोषणा गरेका हुन्।
दुवैजनाले मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै डेढ वर्षपछि नेविसंघले पूर्णता पाउँदै गर्दा समावेशी समानुपातिक सिद्धान्तलाई नजरअन्दाज गरिएको पनि गुनासो गरेका छन्।
नेताद्वयले महिला सहभागिता एकदमै न्यून हुनुले नेविसंघमा असमानताको अवस्था सिर्जना भएकोमा पनि सभापति दुजाङ शेर्पाको ध्यानाकर्षण गराएका छन्।
मनोनयनका क्रममा संगठनको संरचना वा बनोट निर्माण गर्दा चुस्तता कायम गर्न नसके यसका निर्दिष्ट लक्ष्य हासिल हुन नसक्ने तथा सांगठिक गतिशीलता एवं प्रभावकारिता पनि कायम हुन नसक्ने यथार्थ बोध गर्न नसकेको पनि उनीहरुले बताएका छन्।
नेतृत्व विकासको प्रमुख जगको रुपमा रहेको विद्यार्थी संगठनलाई दुषित पारेर पार्टीको सुन्दर भविष्य भेट्न नसकिने पनि उनीहरुको भनाइ छ।
‘यसले न वर्तमान चुनौतीसँग सामना गर्न सक्छ न थप विद्यार्थीहरू कै आकर्षण गर्न सक्छ’, उनीहरुले भनेका छन्, ‘योगदान, क्षमता, कार्यकौशलता र पृष्ठभूमिको आधारमा भन्दा व्यक्तिगत अनुकम्पामा नेतृत्व चयन गर्ने प्रणाली विकसित हुँदै जाँदा आजको परिप्रेक्ष्यमा विद्यार्थी राजनीति प्रश्नको घेरामा पर्दै प्रतिरक्षाको संघारमा उभिएको छ। नेविसंघलाई यो दुष्चक्रबाट बाहिर ल्याउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको छ।’
दुवैजनाले औपचारिक रुपमा कुनै अमुक पदमै बसिरहनु पर्छ भन्ने अनिवार्य नहुने बताउँदै नेविसंघको सुन्दर भविष्यको कामना गर्दै समितिमा नरहेको घोषणा गरेका हुन्।
Shares

प्रतिक्रिया