राजनीति


३० असोजमा सुरु हुने तेस्रो बेल्ट एन्ड रोड फोरममा नेपाललाई चीनको निम्तो

३० असोजमा सुरु हुने तेस्रो बेल्ट एन्ड रोड फोरममा नेपाललाई चीनको निम्तो

नेपालखबर
असोज १८, २०८० बिहिबार १७:५८, काठमाडौँ

चीनले आयोजना गर्न लागेको तेस्रो बेल्ट एन्ड रोड फोरम (बीआरएफ) को आगामी १७–१८ अक्टोबर (३० असोज–१ कात्तिक) मा चीनको राजधानी बेइजिङमा हुने भएको छ।  

अक्टोबरमा हुने घोषणा गरिएको फोरमको मिति चीनले औपचारिक तवरले अझै पनि सार्वजनिक गरेको छैन। तर, कार्यक्रममा सहभागिताका लागि चिनियाँ पक्षबाट नेपाली पक्षलाई पठाइएका औपचारिक पत्रहरुमा बेल्ट एन्ड रोड फोरम ३० असोजमा हुने उल्लेख गरिएको छ। 

चिनियाँ विदेश मन्त्रालयले अघिल्लो महिना बीआरएफ अक्टोबरमा हुने उल्लेख गरेको थियो। 

सन् २०१३ मा राष्ट्रपति निर्वाचित भएको केही समयपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘बीआरआई’ घोषणा गरेका थिए। पुरानो सिल्क रोड सम्बन्धी अवधारणालाई ब्युँताउने उदेश्यले कजाकस्तानमा आयोजित कार्यक्रममा उनले घोषणा गरेको वन बेल्ट वन रोड (ओबीओआर) नै अहिलेको ‘बीआरआई’ हो। 

बीआरआईका दुई पहिलो र दोस्रो संस्करणका फोरमहरु सन् २०१७ र २०१९ मा सम्पन्न भइसकेका छन्। यसमध्ये दोस्रो फोरममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रतिनिधित्व गरेकी थिइन्।  

नेपालले सन् २०१७ मा बीआरआई सम्झौतामा हस्ताक्षर गरेको थियो। त्यसयता नेपाल यसको सदस्य रहँदै आएको छ। 

बीआरआई घोषणाको दसौँ वार्षिकोत्सव भएकाले यस पटकको फोरमलाई चीनले निकै महत्व दिएको छ। तर, बीआरएफमा यसपटक नेपालको तर्फबाट कसले भाग लिने भन्ने निर्णय सरकारले गरिसकेको छैन। 

चीनले भने बीआरएफमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई नै निमन्त्रणा दिएको थियो। तर, हाङ्जाओमा जारी एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन सत्रमा सहभागी हुने गरी अघिल्लो हप्ता नै चीन भ्रमण गरिसकेकाले सरकार प्रमुखको तहबाट बीआरएफमा सहभागिता हुने सम्भावना छैन।

स्रोतका भनाइमा बीआरएफमा सहभागी हुने गरी राष्ट्रपति रामचन्द्र पौडेलले चीन भ्रमणको निम्तो पाएका छैनन्। त्यसैले, राष्ट्राध्यक्षको तहबाट पनि बीआरएफमा सहभागिता रहने सम्भावना शून्यप्राय छ। 

तर, राष्ट्रपति पौडेल बीआरएफमा सहभागी हुने गरी चीन भ्रमणमा निम्त्याइए भने चाहिँ त्यो निकै महत्वपूर्ण हुनेछ। किनकि गणतन्त्र स्थापनापछि बेइजिङ जाने अवसर प्राप्त गर्ने पौडेल दोस्रो राष्ट्रपति हुने थिए। 

आफ्नो सात वर्षे कार्यकालमा प्रथम राष्ट्रपति डा. रामवरण यादवले दुई पटक चीन भ्रमण गरे पनि राजधानी बेइजिङ भने पुगेका थिएनन्। १२–१५ चैत २०७१ मा चीनको बोआओमा सम्पन्न ‘एसियाका लागि बोआओ मञ्च’ को वार्षिक सम्मेलनका लागि हाइनान प्रान्त पुगेका उनी त्यहीँबाट स्वदेश फर्केका थिए। 

त्यसअघि उनी चीनको सांघाईमा भएको ‘सांघाई एक्स्पो’ को समापन समारोहमा भाग लिन २०६७ कात्तिक दोस्रो साता सांघाई पुगेका थिए। त्यसबेला पनि उनले बेइजिङ जाने अवसर प्राप्त गरेनन्। 

यसपटकको बीआरएफ राजधानीमा आयोजना गरिएकाले निम्तो पाएको भए बेइजिङमा स्वागत–सम्मान प्राप्त गर्ने अवसर राष्ट्रपति पौडेललाई प्राप्त हुने थियो। 

यसबाहेक भारतभन्दा पहिले चीन भ्रमण गर्ने पहिलो नेपाली राष्ट्रपतिको रेकर्ड पनि उनले बनाउन पाउने थिए। तर, निम्तो प्राप्त नभएकाले यस्तो रेकर्डको सम्भावना अब कम देखिन्छ।

दसौँ वार्षिकोत्सव भएकालेमात्र होइन, कोभिड महामारीपछि चीनले आयोजना गरेको सबैभन्दा ठूलो विश्व सम्मेलन भएकाले पनि यसपटकको ‘बीआरएफ’ लाई निकै महत्वका साथ हेरिएको छ। 

चीनले यसपटकको तेस्रो बीआरएफको नारा ‘उच्चस्तरको बेल्ट एन्ड रोड सहकार्यः साझा विकास र विकासका लागि सँगसँगै’ तय गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad