ad ad

राजनीति


राष्ट्रिय सभा चुनावः एमालेबाट रिक्त हुने ८ सिट गठबन्धनले यसरी गर्दैछ भागबन्डा

राष्ट्रिय सभा चुनावः एमालेबाट रिक्त हुने ८ सिट गठबन्धनले यसरी गर्दैछ भागबन्डा

सागर न्यौपाने
मंसिर १४, २०८० बिहिबार २१:३२, काठमाडौँ

सत्तारुढ गठबन्धनका दलले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा चुनाव मिलेर लड्ने भएका छन्। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुका अनुसार गठबन्धनले साझा उम्मेदवार तय गर्दैछ।

६ वर्षे अवधि पूरा गरेका २० सिट आगामी फागुन २० देखि रिक्त हुँदैछन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सबैभन्दा बढी ८, कांग्रेस ४, माओवादीका ३, एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका १ र एक जना स्वतन्त्र र अर्का एक जना राष्ट्रपतिबाट मनोनित सांसदको कार्यकाल समाप्त हुँदैछ।

गठबन्धनका दलबाट रिक्त हुने सिटमा ती दलले आफ्नै उम्मेदवार उठाउनेछन्।

एमालेबाट रिक्त हुने ८, एक स्वतन्त्र र एकजना राष्ट्रपतिबाट मनोनित गर्ने सिट भने भागबण्डा गर्ने समझदारी शीर्ष तहमा भइसकेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

यसअघि राष्ट्रपतिबाट मनोनित एमालेकी विमला पौड्याल थिइन् भने स्वतन्त्रमा डा. खिमलाल देवकोटाको पनि कार्यकाल सकिँदैछ। 

‘एमालेबाट रिक्त हुने ८ सिटमा मुख्य भागबण्डा गर्छाैँ,’ पाण्डेले नेपालखबरसँग भने, ‘प्रधानमन्त्री यूएईबाट फर्किएपछि यसबारे छलफल हुन्छ। भागबण्डा न्यायोचित आधारमा हुन्छ।’

यसअघि २०७८ माघ ११ गते भएको चुनावमा पनि यही गठबन्धनले साझा उम्मेदवार उठाएको थियो।

त्यसबेला एमालेकै रिक्त ७ सिट बाँडफाँट हुँदा गठबन्धनलाई फाइदा पुगेको थियो। 

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले गठबन्धनको निर्णय अनुसार उम्मेदवार उठाइने बताए।

‘सिट बाँडफाँट गरी गठबन्धन मिलेर चुनावमा जाने सैद्धान्तिक सहमति छ,’ सापकोटाले भने, ‘कसलाई कति भन्ने छिट्टै समझदारी जुटाउँछौँ।’

कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पनि गठबन्धन एक ढिक्का भएर चुनावमा होमिने बताए।

‘राष्ट्रिय सभाको चुनावमा हामी मिलेर उम्मेदवारी दिन्छौँ,’ विश्वकर्माले भने, ‘रिक्त हुन लागेकामध्ये गठबन्धनकै दलहरुले आ–आफ्ना सिट सुरक्षित राखेर बाँकी भागबण्डा गर्छौँ।’ 

कांग्रेसले ४ सिट दाबी गरेको छ। माओवादीले ३ र एकीकृत समाजवादीले २ र जसपाले १ सिट दाबी गरेका छन्। स्वतन्त्र जितेको र राष्ट्रपतिबाट मनोनित हुने एक सिट समेत मिलाएर भागबण्डा हुनेछ। 

‘गठबन्धनमा कोही छुट्दैनन्, जसपा पनि सँगसँगै लिएर जान्छौँ,’ एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले थपे।

सत्ता गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी छ। यस्तै, राष्ट्रिय जनमोर्चाले पनि सरकारलाई समर्थन दिइराखेको छ।

यसबारे पुसको अन्तिमतिर मात्रै निर्णय गर्न सक्छन्। 

‘गठबन्धनका शीर्ष नेतृत्व समझदारी जुटेका कतिपय विषय सार्वजनिक नगरौँ भन्नेमा हुनुहुन्छ,’ एक नेताले नेपालखबरसँग भने, ‘चुनाव हुन अझै ४६ दिन बाँकी नै छ।’

राष्ट्रिय सभाको चुनावमा गठबन्धनको निर्णय अनुसार साझा उम्मेदवार उठाउने सहमति भने भइसकेको कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले दाबी गरे।

यी हुन् पदावधि सकिन लागेका २० जना
एमालेबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, नरपति लुहार, रामचन्द्र राई र राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेकी विमला राई पौड्यालसमेत एमालेका ९ जनाको ६ वर्षे कार्यकाल सकिँदैछ।

यस्तै, कांग्रेसबाट संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ र जितेन्द्रनारायण देव छन्। 

माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरीको पनि ६ वर्षको अवधि सकिएको छ।

एकीकृत समाजवादीबाट भौतिक राज्यमन्त्री नन्दा चपाईं र सिंहबहादुर विश्वकर्माको पदावधि सकिँदैछ। 

जनता समाजवादी पार्टीबाट शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादवको कार्यकाल फागुनमा सकिनेछ।  

होला त गठबन्धनको क्लिनस्विप?
निर्वाचन आयोगले यो चुनावदेखि राष्ट्रिय सभा सदस्यको लागि मतदाताको मतभारमा नयाँ व्यवस्था लागू गरेको छ।

प्रदेश सभा सदस्यको मतभार ५३  र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम भएको छ।

कोशी 
कोशीमा प्रदेश सभा सदस्यको संख्या ९३ छ।

स्थानीय तहको संख्या १३७ छ। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या २७४ हुनेछ। यसरी कोशी प्रदेशको कुन मतदाता ३६७ र कुल मतभार १०, १३५ हुनेछ।

कोशी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन रहेकोले मतभार ५,४७४ छ। जुन जित्नका लागि पर्याप्त हो। 

मधेश प्रदेश
यो प्रदेश सभा सदस्यको संख्या १०७,  स्थानीय तहको संख्या १३६ छ। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष २७२ छन्। जसमा कुल मतदाता ३७९ हुन्छ भने मतभार १०,८३९ छ। 

मधेशमा जसपा, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमत पार्टी र लोसपाबीच गठबन्धन छ। यस्तै संघीय सरकारमा नागरिक उन्मुक्त पार्टी समेत रहेकोले जित्नका लागि पर्याप्त मत ७,९९९ छ। 

बागमती
बागमती प्रदेश सभा सदस्यको संख्या ११० छ। स्थानीय तहको संख्या ११९ छ। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या २३८ छ। दुवै जोड्दा कुल मतदाता ३४८ र कुल मतभार १०,३५२ हुन्छ।

यो प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको गठबन्धन सरकार छ।  तीन पार्टीसँग मात्रै ६,७५१ मत देखिन्छ, जुन प्रष्ट जित्ने आधार हो। 

गण्डकी 
गण्डकी प्रदेश सभामा ६० सांसद छन्।

८५ वटा स्थानीय तहबाट प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या १७० छ। यसआधारमा प्रदेशको कुल मतदाता २३० हुन्छ भने कुल मतभार ६,४१० छ।

कांग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारी रहेको र स्थानीय तहमा प्रतिनिधित्व रहेका राजमो र एकीकृत समाजवादी पनि गठबन्धनमा रहेकाले गण्डकीमा प्रष्ट बहुमत अर्थात् ३,७७४ मतभार उनीहरुसँग छ। 

लुम्बिनी 
यो प्रदेशका सांसद ८७ जना छन्। 

१०९ वटा स्थानीय तहबाट प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या २१८ छ। यसआधारमा प्रदेशको कुल मतदाता ३०५ छ र मतभार ८,७५३ छ।

लुम्बिनीमा कांग्रेस, माओवादी केन्द्र, लोसपा, नागरिक उन्मुक्ति र जसपाबीच सत्ता साझेदारी छ। जनमत पार्टी, जनमोर्चा र एकीकृत समाजवादी केन्द्रमा सँगै रहेका आधारमा गठबन्धनसँग पर्याप्त अर्थात् ५,४७७ मतभार हुन्छ। 

कर्णाली 
कर्णालीका ४० सांसद छन्। यो प्रदेशमा ७९ वटा स्थानीय तह छ। प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १५८ जना छन्। प्रदेशको मतदाता १९८ छ र कुल मतभार ५,१२२ हुन्छ। 

केन्द्रकै गठबन्धन अनुसार माओवादी, कांग्रेस र एकीकृत समाजवादी मिल्दा ३,७०७ मत छ। जुन राष्ट्रिय सभा सदस्य जिताउन पर्याप्त हो।  

सुदूरपश्चिम 
यो प्रदेशमा ५३ सांसद छन्। ८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिममा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १७६ छन्। प्रदेशको कुल मतदाता १९८ हुन्छ भने मतभार ६,१५३ हुन्छ। 

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी मात्रैको ४,५१० मत हुन्छ। केन्द्रकै गठबन्धन जारी रहेकाले सुदूरपश्चिममा पनि जित निश्चित देखिन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .