ad ad

राजनीति


जुनसुकै बेला नयाँ पार्टी खोल्न तयारी अवस्थामा बालेन

जुनसुकै बेला नयाँ पार्टी खोल्न तयारी अवस्थामा बालेन

गत स्थानीय तहको निर्वाचनमा मतदातासँग चुनावी घरदैलोको क्रममा मेयर बालेन्द्र शाह


सागर न्यौपाने
मंसिर ३०, २०८० शनिबार २१:१३, काठमाडौँ

देश बन्छ,
तिमीहरूको ८४ ले बन्दैन,

तिमीहरूको ८४ सक्किएर बन्छ
तिमीहरूलाई सक्काएर बन्छ

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले मंसिर १४ गते सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस हो यो।

पुराना भनिएका केही दलहरू मिसन ०८४ अभियान चलाइरहेका बेला बालेन्द्रले ‘उनीहरूलाई सक्काएर मात्र देश बन्छ’ भन्ने ठोकुवा नै गरेपछि राजनीतिक बजार गर्मायो।

बालेन्द्रले भनेको जस्तो दलहरू कसरी सकिन्छन्? एउटै उपाय हो, चुनावबाट पराजित गर्न सक्नुपर्छ। त्यसका लागि आशा जगाउने नयाँ दल चाहिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी सम्भावना बोकेको दल बनेर उदाइरहेकै बेला बालेन्द्रले रवि लामिछानेसँग पनि विश्वास नगरेको उनको फेसबुक स्टाटसले बताउँछ। किनभने, उनले यो स्टाटस लेख्दा रास्वपाले भर्खरै जलेश्वर बैठकबाट मिसन–८४ अभियानको समीक्षा गर्दै मध्यावधिसम्मको चर्चा गरेको थियो।   

अहिले बालेन्द्र काठमाडौं महानगरपालिकाका प्रमुख मात्र हुन्। उनीसँग कुनै संगठन सञ्जाल छैन। २०७९ को चुनावमा उनले स्वतन्त्र उम्मेदवारी दिएर ठूला र पुराना दल अनि तिनको गठबन्धनलाई समेत पराजित गरेका थिए।  

कुनै कारण नरोकिए आगामी चुनाव ०८४ मा हुन्छ। बालेन्द्रले अहिलेका दलको विकल्प बन्न खोजेका हुन् कि भन्ने उनका राजनीतिक टिप्पणीहरूले देखाउँछन्।

तर, कसरी ?
सामाजिक सञ्जालमा व्यक्त धारणालाई मात्र आधार मानेर विश्लेषण गर्न कठिन छ कि बालेन्द्र के गर्न खोजिरहेका छन्?

महानगर प्रमुख भएकाले दैनिक कार्यसञ्चालनमा व्यस्त भए पनि बेला–बेला सामाजिक सञ्जालमा झुल्किएर दलप्रति असन्तुष्टि पोख्ने क्रम बालेन्द्रले केही समययता बढाइरहेका छन्। 

पछिल्ला केही स्टाटसमार्फत् अहिलेका दलप्रति तीव्र आक्रोश जनाइरहेका उनले खुलेरै दलहरूलाई सिध्याउने घोषणा गर्नसमेत भ्याए, जुन असम्भव र अपत्यारिलो लाग्छ।

सामाजिक सञ्जालमा व्यक्त विचारलाई लिएर उनी आलोचित पनि छन्। पदीय मर्यादा नाघेको, शिष्टताको समेत ख्याल नगरेको र घृणाभाव फैलाउन काम गरेको भनेर टिप्पणी पनि हुन्छ। 

तर, उनी लेख्न छाड्दैनन्। 

मेयर बनेपछिका प्रायः उनका अभिव्यक्तिमा पुराना दलतिर निशाना साँधिएको छ। 

ठूला दललाई चुनौती दिन उनको शक्तिको आधार र स्रोत के हो भन्ने स्पष्ट छैन। उनका फेसबुक टिप्पणी केवल ‘मुडी’ स्वभावको उपज हो या २०७९ मा पाएको लोकप्रिय मतबाट हौसिएर राजनीतिक दल नै खोल्दै छन् त? 

बढेको आत्मविश्वास 
दलका हस्तीलाई हराएर महानगर प्रमुख भएपछि बालेन्द्रमा आत्मविश्वास बढेको अवश्य देखिन्छ।

सत्ता र शक्तिको स्वाद उनले पाइसकेका छन्। उनका निकटस्थहरूका बुझाइमा उनले शक्तिको स्रोत पत्ता लगाएका छन्। जनपरिचालन कसरी गर्ने? दलहरूको कमजोरी के हो? र, दलप्रति जनतामा किन निरासा चुलिएको छ भन्ने कुरा मेयरको कुर्सीमा बसेपछि झन् गहिरो गरी नियालेका छन्। 

परम्परागत दलहरूबाट असन्तुष्ट जनमत आफूतिर आकर्षित भएको देखेर पनि हुन सक्छ, बालेन्द्र आगामी चुनावमा अहिलेका दललाई हराउन सक्छु भन्ने निचोडमा पुगेको उनका सहयोगीहरूको भनाइ छ।

पार्टी खोल्दै छन् बालेन्द्र ?
पदासीन भएको एक वर्ष मात्र भएकाले बालेन्द्रले महानगरमा कति काम गरे? त्यो कामबाट महानगरवासी खुशी छन् कि छैनन्? भनिहाल्न कठिन छ।

यद्यपि, उनको विरोधमा त्यति ठूलो जनमत तयार भइसकेको अहिलेसम्म देखिएको छैन। 

फुटपाथ व्यापार हटाउने निर्णयविरुद्ध ईः ले उभिएर विरोध गर्नुबाहेक ठूलो जनमत उनको विपक्षमा उभिइसकेको छैन। 

त्यसैले पनि बालेन्द्र महानगरमाझैँ पुराना दलहरूलाई देशव्यापी धक्का दिने योजनामा रहेको अनुमान गर्न सकिन्छ। यसबारेमा नेपालखबरले बालेन्द्रको सचिवालय, उनीसँग निरन्तर सम्पर्कमा रहेका केही विज्ञ सल्लाहकार, उनको नजिकको समूहलगायतसँग सम्पर्क गरेको थियो।

सबैको निष्कर्ष छ– बालेन्द्रलाई राजनीतिमा आउन दबाब छ। 

‘बालेन्द्रजी महत्त्वाकांक्षी होइन, काम गर्न खोज्ने व्यक्ति हो,’ उनका एक सहयोगीको भनाइ छ, ‘मेयर बनेको एक वर्षमै उहाँको उचाइ झन् बढ्यो। जनताले रुचाएको देखियो।’

उनका भनाइमा, मंसिरको चुनावमै दल खोल्ने बालेन्द्र र उनको टिमको योजना थियो। तर, त्यसबेला रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेपछि अभियान नै विषयान्तर भयो।

बालेन्द्रलाई मेयर जिताउन खटिएका अभियानकर्ताहरू पनि राजनीतिक दलको विकल्प दिन दल नै खोल्नुपर्ने सुझाव दिएको बताउँछन्।

‘नेपालको मुख्य समस्या के हो भन्ने कुरा उनले एक वर्ष महानगरको मेयर भएर थाहा पाइसकेका छन्,’ ती अभियानकर्मीले थपे, ‘राजनीतिक दलले इमान्दार भएर कुनै काम नगरेकोले यसको विकल्प खोज्नुपर्नेमा उनी पुगेको देखिन्छ।’ 

बालेन्द्रले लौरो चिन्ह लिएर मेयर जितेका हुन्। 

‘त्यसबेला लौरो चिन्ह ३५ नम्बरतिर पुछारमा थियो, तैपनि महानगरबासीले मत दिए, अहिले त उनी पब्लिक भए, महानगरमा देखिने गरी काम गरेका छन्,’ सचिवालयका सदस्यले थपे, ‘उहाँको पक्षमा नपत्याउँदो जनमत देखिन थालेको छ।’

अबको एक–दुई वर्षभित्रै बालेन्द्रले केही नयाँ घोषणा गर्ने सम्भावना रहेको उनको टिम स्वीकार गर्छ। 

‘यति हो, मेयर अब चुपचाप बस्नुहुन्न, उहाँ राजनीतिमा प्रवेश गरिसक्नुभएको छ, अबको लक्ष्य अलि माथिबाटै गर्नुपर्छ भन्ने नै छ,’ सल्लाहकार समूहका एक सदस्यले नेपालखबरसँग भने।

हरेक ठाउँमा दलका नेता र कार्यकर्ताले भाग खोज्दा कामै गर्न नसकेको झोँक उनलाई छ।

त्यसमाथि स्वतन्त्र मेयर भएर निर्वाचन जितेदेखि काठमाडौं महानगरमा नेता र मन्त्रीबाट सहयोग नपाएपछि झन् रुष्ट छन् बालेन्द्र। 

महानगरको काम गर्ने क्रममा दलकै नेता–कार्यकर्ताले अवरोध गरेर दुःख दिएको बालेन्द्रको बुझाइ छ। 

‘मेयर छँदैको अवस्थामा भने उहाँ दल खोल्नुहुन्न,’ बालेन्द्रको सचिवालयका अर्का सदस्यले दाबी गरे, ‘अहिलेको माहोल पार्टी खोल भन्ने छ। तर, यो माहोल तीन वर्षसम्म रहन्छ कि रहँदैन? उहाँले हेरिरहनुभएको छ।’

केही दलले मध्यावधि निर्वाचनको हल्ला चलाएका छन्। यदि त्यसो हुँदा बालेन्द्र पनि चुप नबस्न सक्छन्। 

तत्काल भने महानगरले अघि सारेका महत्त्वाकांक्षी कार्यक्रम सफल बनाउन बालेन्द्र खटिएको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले बताए। एक वर्षे अवधिको स्वर्णिम र ३ वर्षे अवधिको ‘महानगर गौरव’को योजना बालेन्द्रको महत्त्वाकांक्षी कार्यक्रम हो। 

दुईवटै कार्यक्रम सफल पारेर उनी महानगरबाट फड्को मार्न सकिने बुझाइमा छन्। 

‘यी दुईवटै कार्यक्रम नियमितभन्दा फरक छन्, बजेट पनि पाँच अर्ब हाराहारीको रहेकोले यसको सफल कार्यान्वयन गराएर महानगरमा नयाँ नेतृत्वले काम गरेको देखिन्छ,’ बजगाईँले भने, ‘यो कार्यक्रम ब्रान्ड बन्छ।’

बालेन्द्र सचिवालयकै दाबीमा, महानगरले अघि सारेको श्रम बैंकबाट १५ हजारले तालिम र  झण्डै पाँच हजारले प्रत्यक्ष रोजगारी पाउँछन्।

काठमाडौं विश्वविद्यालयसँग एमओयू पनि भइसकेको छ। 

मेयर दोहोरिने कि पार्टी खोल्ने?
त्यसो त बालेन्द्रलाई पार्टी खोल्ने चक्करमा नलागी मेयरकै काम गर्न केहीले सुझाव दिएका छन्। 

तर, उनी दलबाटै झेल्नुपरेको समस्याले आजित छन्।

‘स्थानीय चुनावपछि र संघीय चुनावअघि पार्टी खुल्न सक्छ,’ स्रोतले भन्यो, ‘उहाँका आफ्नै विचार र सिद्धान्त छन्। पार्टीको विधान बनाउने पुरानै टिम छ।’ 

सहकार्य र समन्वयको अभ्यास
गत कात्तिक २५ गते मेयर बालेन्द्रले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई घरमै बोलाएर सँगै खाना खाए। २०६९ फागुन २५ मा उनी नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई भेट्न भक्तपुरको गुण्डु गए र सहकार्य गर्ने बताएर फर्किए। 

महानगरको मेयर जितेपछि २०७९ जेठ १६ गते बालेन्द्रले प्रधानसेनापति प्रभुराम शर्मासँग पहिलो भेट गरेका थिए। 

महानगरको १६ नम्बर वडाका वडाध्यक्ष मुकुन्द रिजालको घरमै पुगेर लञ्च बैठक गरे। जबकि उनीहरूबीच कार्यपालिका बैठकमै चर्काचर्की भएको थियो। त्यसलगत्तै जेठ २८ गते रिजालको बालाजु निवासमै पुगेर माहोल बिग्रनबाट रोकेका थिए।

बालेन्द्रसँग भेटेपछि रिजालले सहयोग गरिरहे।  

सोही वर्षको असार २९ मा बालकोट निवासमै पुगेर उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे।

त्यति मात्र होइन, बालेन्द्रले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको क्षेत्रमा सञ्चालित सामुदायिक स्वास्थ्य केन्द्रजस्तै अरु पनि बनाउन निर्देशन दिएका छन्।

‘मेयरले राजनीतिमा झेल्नुपर्ने समस्या र त्यसको समाधानको लागि सहकार्य र समन्वयको सुरुवात गर्नुको कारण नै भोलिको दलीय राजनीति हो,’ उनका एक सहयोगीले भने, ‘कुनै पनि बेला जोखिम आइपरे त्यसमा दलीय सहमति कसरी लिने? केही अभ्यास उहाँले गरिसक्नुभयो।’

मेयरले खर्च व्यवस्थापनको विषयले दलीय राजनीतिमा चुनौती आउने नदेखेका होइनन्। सोही कारण पनि उनी एक कार्यकाल काठमाडौंकै मेयर दोहोरिन पनि सक्छन्।

तर, गाईजात्राको दिन काठमाडौंमा आफ्नो पक्षमा गरिएको हुटिङले उनलाई अझै अगाडि बढ्न उत्साहित तुल्याएको छ।

‘यही माहोल ०८३ सम्म कायम रहे नेपालमा बालेन्द्रको दल खुल्छ,’ सचिवालय स्रोतको दाबी छ। बालेन्द्रले महानगरमा काम गर्दा पाइलापाइलामा समस्या भोगेका छन्।

काठमाडौंको फोहोर व्यवस्थापन मुख्य समस्या छ। सडक बत्ती बाल्न उनलाई सकस परेको छ। महानगरका धेरै समस्या समाधानमा दलको सहयोग नपाएकाले पनि उनी मुहान सफा गर्ने ठाउँमा पुग्न चाहन्छन्।

‘जुनसुकै अवस्थाका लागि तयारी अवस्थामा राखेर बालेन्द्रजी बस्नुभएको छ,’ महानगरका एक कर्मचारीले भने, ‘दलका नेतालाई गाली गर्ने उहाँले सरकारी कर्मचारीलाई केही भन्नुभएको छैन।’  

मेयरको बुझाइ
पूर्वराजाका समर्थकदेखि अहिलेका नयाँ दलसँग आबद्ध व्यक्तिसँग बालेन्द्र छलफल गर्न थालेका छन्। तर त्यस क्रममा अरुका विचार बढी सुन्ने र आफ्ना कुरा निकै थोरै खोल्ने गरेका छन्। 

देश बन्छ र गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगिसकेका मेयर बालेन्द्र यहाँबाट छलाङ मार्ने दाउमा भने अवश्य छन्। 

मंसिर ८ गते बेलुका पौने ११ बजे उनले लेखेको स्टाटसले पनि त्यही भन्छ।

‘यो देशमा सबैलाई राजा बन्न मन लाग्यो,
राष्ट्रपति बन्न मन लाग्यो,
प्रधानमन्त्री बन्न मन लाग्यो,
नेता बन्न मन लाग्यो ,
देशलाई मान्छे चाहिएको छ,
मान्छे बन्न कसैलाई मन लागेन, 
जसले धर्तीलाई माया गरोस्,
मान्छे बनौँ पहिला, 
अरु त, जनताले बनाइहाल्छन नि।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .