ad ad

राजनीति


नेता उत्पादनको रास्वपा शैलीः काभ्रेमा बन्दै छ लिडरसिप एकेडेमी, तालिम लिए मात्र उम्मेदवार बन्न पाइने

नेता उत्पादनको रास्वपा शैलीः काभ्रेमा बन्दै छ लिडरसिप एकेडेमी, तालिम लिए मात्र उम्मेदवार बन्न पाइने

सागर न्यौपाने
पुस २, २०८० सोमबार २२:२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेता जन्माउने शिक्षालय (लिडरसिप एकेडेमी) सञ्चालन गर्ने भएको छ। एक वर्षभित्र सञ्चालनमा ल्याउने गरी नेताहरू लागिपरेका छन्। 

वरिष्ठ उपसभापति डोलप्रसाद अर्यालका अनुसार एकेडेमी सञ्चालन प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ। काठमाडौंबाट ५० किलोमिटरको दुरी आसपासको स्थानमा एकेडेमी बन्ने उनले जानकारी दिए।

२०८४ को स्थानीय र केन्द्रीय चुनावका लागि उम्मेदवार छान्न तालिम दिन सकिने गरी एकेडेमी चलाउन लागेको रास्वपाले जनाएको छ।

त्यसका लागि काभ्रेमा झण्डै १५ देखि ३० रोपनी जग्गाको व्यवस्थापन गर्न लागिएको छ। जग्गा लगभग निश्चित भइसकेको र अब त्यसलाई एक–दुई दिनमा नामसारी गरी पार्टीको स्वामित्वमा ल्याउन लागिएको नेताहरूले बताएका छन्।

एक व्यक्तिले चन्दावापत दिएको जग्गाबाट एकेडेमीको भौतिक संरचना व्यवस्थापनको सुरुवात गर्न लागिएको व्यवस्थापनमा खटिएका एक नेताको भनाइ छ।

उपाध्यक्ष अर्यालले भने जग्गा लिएको ठाउँ खुलाएनन्।

‘मैले आफैँ लोकेसन भिजिट गरेर सम्भावित ठाउँबारे पार्टी सभापतिलाई जानकारी गराइसकेको छु,’ अर्यालले भने, ‘जग्गा लिँदा कसैलाई पनि आर्थिक भार पार्दैनौँ। हाम्रै पार्टीभित्रका साथीहरूबाट सहयोग प्राप्त भएमा जग्गा लिन्छौँ।’

अहिले रास्वपाका केही नेताको समूह लिडरसिप एकेडेमी सञ्चालनको कार्यविधि बनाउन लागिपरेको छ।

सांसदसमेत रहेका उपसभापति अर्यालले नेतालाई राज्य, समाज र संगठनसँग सम्बन्धित विषयवस्तुप्रति पूर्ण ज्ञान र सीप सिकाउन आवासीय तालिम दिन लागिएको बताए। 

‘अहिले हामी काम गरिरहेका छौँ, राजनीतिमा नयाँ कुरा दिऊँ, जनतालाई आस जगाउने गरी काम गरौँ भनेर जानेको सीपलाई व्यवहारमा उतार्न एकेडेमी चलाउँदैछौँ,’ अर्यालले नेपालखबरसँग भने, ‘कार्यविधि र पाठ्यक्रमबारे गृहकार्य  गरिरहेका छौँ।’

यस किसिमको अभ्यास चीन लगायतका केही मुलुकमा छ। चिनियाँ कम्युनिस्ट पार्टीले पनि कुनै पदमा नियुक्ति वा मनोनयन हुनका लागि यस खालका प्रशिक्षणलाई अनिवार्य बनाएको छ।

रास्वपाले त्यस्तै अभ्यास नेपालमा भित्र्याउन खोजेको देखिन्छ।

‘नेपाल कसरी बनाउने? खास समस्या के हो? कोसँग के कस्ता क्षमता छन्? यस्ता कुरा पहिचान गरेर त्यहीअनुसार जिम्मेवारी दिन एकेडेमीमै तालिम दिन्छौँ,’ अर्यालले थपे।

सभापति रवि लामिछानेले जलेश्वरमा बसेको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पनि सो कुरा उल्लेख गरेका छन्।

लामिछानेले राजनीति थाल्नुअघि टेलिभिजनमा ‘द लिडर’ रियालिटी सो गर्ने भनेर प्रचार गरेका थिए। त्यसको प्रचार सामग्री र निर्णायकमण्डल सार्वजनिक गरे पनि कार्यक्रम भने सुरु गर्न सकेका थिएनन्। सोही कार्यक्रमका नाममा उनले संकलन गरेको रकमका कारण पार्टी खोलेपछि आलोचनासमेत खेपेका थिए। 

अहिले फेरि उनी आफैँले पार्टीअन्तर्गत रहने गरी नेता उत्पादन गर्न लिडरसिप एकेडेमीको अवधारणालाई पार्टीबाट अनुमोदन गराइसकेका छन्। 

रास्वपा, काभ्रेका नेताहरू जग्गा प्राप्त भइसकेकाले अब भवन निर्माणको काम अघि बढ्ने बताउँछन्। 

एकेडेमीले के गर्छ?
सभापति लामिछानेले आफ्नो प्रतिवेदनमा उल्लेख गरेअनुसार, एकेडेमीले कार्यसम्पादनका लागि नेतालाई तालिम दिन्छ।

विभिन्न पदका लागि पाठ्यक्रम बनाइएको हुन्छ र सोही अनुसार विज्ञले तालिम दिन्छन्। व्यक्तिको क्षमताको आधारमा उम्मेदवार बनाइन्छ।

जुन पदका लागि इच्छुक हो, त्यो हेरेर सूची बनाएपछि तालिम दिइन्छ । यदि तालिममा राम्रो गर्न सक्ने देखिए त्यस्ता नेतालाई आगामी चुनावको लागि उम्मेदवार बनाउने नीति लिइएको छ।

‘रास्वपा आगामी चुनावमा केन्द्रित भइसकेको छ, अबको तीन वर्षपछि हामी हाम्रा नेतालाई सबै कुराले परिपक्व बनाउँछौँ,’ एक पदाधिकारीले भने।

त्यति मात्र होइन, कुनै राजनीतिक नियुक्ति दिनुपरे त्यस्ता व्यक्ति तालिम गरेकाहरूबाटै छान्ने योजना रास्वपाको छ।

रास्वपामा विभिन्न दलबाट मानिसहरू प्रवेश गरिरहेका छन्।

उनीहरूले पुरानै दलको सोच र शैली बोकेर आउन सक्ने भएकादले त्यस्ता व्यक्तिको पुरानो सोच बदल्न अनलर्निङ तालिमसमेत दिने तयारी छ।

‘हामी ८४ को चुनाव केन्द्रित भइसकेका छौँ, अब एकेडेमी सञ्चालन गराएर ०८३ मै सबै पदमा उम्मेदवार छान्छौँ’, ती पदाधिकारीले थपे, ‘स्थानीय र केन्द्रीय चुनाव हुनुभन्दा एक वर्षअघि हामी उम्मेदवार बनाइसक्छौँ। योग्य उम्मेदवार उठाउने हाम्रो चाहना हो।’

एकेडेमीको प्रारम्भिक खाका तयार भइसकेको छ। अब भवन कस्तो बनाउने र त्यहाँ के कस्ता कुराले सजाउने भन्ने विषयमा रास्वपाका नेताहरू छलफलमा छन्।

यसबाहेक एकेडेमी सञ्चालनको लागि आर्थिक व्यवस्थापनमा अहिले पार्टी जुटेको नेताहरू बताउँछन्। सभापति लामिछानेको अहिले बेलायत लगायतका देश भ्रमण पनि लिडरसिप एकेडेमीको आर्थिक स्रोत संकलन नै रहेको पार्टी नेताहरूले बताएका छन्।

लिडरसिप एकेडेमीबारे लामिछाने

सभापति लामिछानेले जलेश्वर बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा लिडरसिप एकेडेमीको आफ्नो अवधारणाबारे यसरी प्रस्ट्याएका छन्-

पुराना दलको प्रवृत्ति पार्टीमा निषेध गर्न र पार्टीभित्र बिनाकारण निषेध गरिएका असल मानिसलाई टिममा ल्याउन मैले दुईवटा अवधारणा राखेको छु-

(१) लिडरसिप एकेडेमी

(२) उम्मेदवार क्लब

हिजो राजनीतिक प्रशिक्षणको विषय र सन्दर्भ फरक थियो। राजनीतिक स्कुलिङ पनि फरक धारको थियो। आज हामी लिडरसिप एकेडेमीबाट प्रशिक्षित गरेर नेता उत्पादन गर्ने अवस्थामा आइपुगेका छौं। लिडरसिप एकेडेमीमार्फत् नेतालाई सबै कुराको प्रशिक्षण दिइनेछ।

लिडरसिप एकेडेमीबाट प्रशिक्षणको प्रमाणीकरण नभएका कुनै पनि व्यक्तिले कुनै पनि तहमा उम्मेदवारी दिन पाउने छैनन्। लिडरसिप एकेडेमी मूलत: अनलर्निङ एकेडेमी हुनेछ। जहाँ पढ्ने मात्रै होइन, सिक्ने र गतल सिकाइलाई बिर्सने कार्य हुनेछ। २०८२ सालको अन्तसम्म लिडरसिप एकेडेमी तयार हुनेछ।

त्यस्तै, पहिलो चरणमा पालिका र वडाबाट उम्मेदवारहरूलाई छान्ने र प्रशिक्षण दिने गरी उम्मेदवार क्लबको अवधारणा ल्याएको छु। हालका लागि देशभरका कुनै पनि वडा र पालिकाबाट उम्मेदवार बन्न चाहने व्यक्तिले उम्मेदवार क्लबमा आवेदन दिन सक्नेछन्।

५ चरणको चयन प्रक्रियामा अहिलेका वडा र पालिका संयोजकहरूले भने केवल चौथो र पाँचौँ चरणमा मात्र प्रतिस्पर्धा गर्ने सुविधा पाउनेछन्। पार्टी बाहिरकाहरूको हकमा सबै चरण पार गर्नुपर्नेछ।

यसो गर्दा योग्य मानिस पनि छुट्दैनन्, पार्टीमा लागिसकेकाहरूको प्राथमिकता पनि सुनिश्चित हुन्छ। तर, प्रतिस्पर्धाचाहिँ अनिवार्य गरिनेछ। उम्मेदवार क्लबको पूर्ण विधि, प्रक्रिया र विवरण छिटै सार्वजनिक हुनेछ। प्रशिक्षण, परीक्षण र आचारणमा केन्द्रित रहेर आगामी चुनावमा यही उम्मेदवार क्लबबाट देश हाँक्ने सहयात्रीहरू छानिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .