ad ad

राजनीति


प्रधानमन्त्रीको सम्बोधनको सन्देश : वर्ष दिन पुर्‍याएँ, अझै बाधा नगर

प्रधानमन्त्रीको सम्बोधनको सन्देश : वर्ष दिन पुर्‍याएँ, अझै बाधा नगर

सागर न्यौपाने
पुस १०, २०८० मंगलबार २०:४०, काठमाडौँ

तेस्रो कार्यकालको प्रधानमन्त्री बन्दै गर्दा पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो सरकार एक वर्ष टिक्छ भन्नेमा विश्वास थिएन। किनकि पहिलो र दोस्रो कार्यकालमा पनि उनी नौ महिनाभन्दा बढी सरकारमा टिकेका थिएनन्।

तेस्रो पटक प्रधानमन्त्री बन्दा त उनी अझ कमजोर अवस्थामा थिए। संसदमा उनको पार्टी माओवादी केन्द्रको सिट संख्या मात्र ३२ थियो।

कुनै दलको पनि बहुमत नआएकोले गठबन्धन बनाउनुपर्ने बाध्यतामा राजनीतिक दलहरु थिए। तेस्रो दल भए पनि प्रचण्डले यसैलाई अवसर देखे र सुरुको  प्रधानमन्त्री आफैँ हुनुपर्ने अड्डी छोडेनन्। जसका कारण कांग्रेससँग गठबन्धन टुट्यो।

त्यसपछि एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको समर्थन लिएर उनी प्रधानमन्त्री बने। एमाले अध्यक्ष केपी शर्मा ओलीबाट ०७६–७७ मा धोका पाइसकेका उनी एमालेकै समर्थनमा लामो समय रहनेमा विश्वस्त थिएनन्। 

पुस २६ मा विश्वासको मत लिँदा कांग्रेस, एमाले, रास्वपा, एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्तिसहितको अभूतपूर्व समर्थन प्राप्त गर्दा समेत सरकार लामो समय टिक्नेमा धुकचुक बाँकी थियो।

एमाले, रास्वपा र राप्रपा सत्ताबाट बाहिरिए पनि अन्य दलको समर्थन उनलाई कायम रह्यो। संसदको सबभन्दा ठूलो दल कांग्रेसले अड्को नथाप्दा प्रचण्ड नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ।

आफ्नो सरकारले वर्षदिन पूरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारका उपलब्धिहरुको फेहरिस्त सुनाए। तर, सो फेहरिस्तमा उनले सुनाउन चाहेको जस्तो ठूला सफलता भने समावेश थिएन। 

बरु, गत एक वर्षमा ठूलो तानातानी, अस्थिरता र अराजकता हुने अवस्था नभएको भन्दै उनले सन्तोष व्यक्त गरे। सरकारको वर्षदिनको सबैभन्दा ठूलो सफलता नै स्थिरता भएको संकेत उनको भनाइमा देखिन्छ।

‘म गठबन्धनका सबै घटक र नेतृत्वप्रति आभारी छु किनकि अहिले न स्थायित्वमा कुनै प्रश्न छ, न सरकारमा कुनै तानातानी,’ प्रचण्डले भने, ‘यो एक वर्षको साथका लागि सरकारका सबै मन्त्री, कर्मचारी प्रशासन, नागरिक समाज, सञ्चारजगत र जनसमुदायमा म कृतज्ञता ज्ञापन गर्दछु।’ 

जनमानसमा हीनता विस्तार गरिएको भन्दै उनले आपत्ति व्यक्त गरे।

‘अहिले म नेपाली समाजमा अत्यन्त चिन्ताजनक, चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेको देखिरहेको छु। ‘सकिँदैन’, ‘बन्दैन’ र ‘हुँदैन’ भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मरिरहेको छ। एकथरि तत्त्वले त नियोजितरूपले नै यो मानसिकतालाई मलजल गरिरहेका छन्,’ उनले भने।

काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाउने भन्दै उनले आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन जरुरी नरहेको बताए। 

नेकपा माओवादी केन्द्रका सचिव राम कार्की प्रचण्डले अब नतिजा देखाउने गरी काम गर्न चाहेको बताए।

‘अहिलेको स्थितिमा नराम्रो भएन, अब राम्रो गर्छु भन्ने सन्देश दिनुभयो। आगामी दिनमा उहाँले चाल्ने कदमले आज उहाँले प्रस्तुत गर्नुभएको केही योजना सफल हुन्छन् कि हुँदैनन् भन्ने देखाउँछ।’ 

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एक वर्षमा सरकारले सम्झनलायक काम गर्न नसकेको टिप्पणी गरे।

‘उहाँले आत्मप्रशंसा गर्नु त ठिकै हो। तर, तथ्यहरुले त्यसो भनिरहेको छैन। यो एक वर्षको बीचमा संसदले कानुन बनाउन सकेन, अर्थतन्त्र संकुचनको अवस्थामा छ, विदेश पढ्ने जाने प्रवृत्ति घटेको छैन। पुँजीगत खर्च झन् कमजोर छ,’ उनले भने, ‘बिजुली निर्यात र पर्यटक संख्या चाहिँ बढेको छ।’

प्रचण्डले सरकारको आयु लम्ब्याउन चाहे पनि त्यो उनको हातमा नरहेको पाण्डेको भनाइ छ।

‘उहाँ टिकिरहने भनेको भूराजनीति, नेपाली कांग्रेसको आशीर्वादकै कारण हो। किनभने उहाँसँग एक्लै टिक्ने संख्या पनि छैन, सामर्थ्य पनि छैन,’ पाण्डेले भने, ‘तर कांग्रेसले सहुञ्जेल उहाँ प्रधानमन्त्री रहनुहुन्छ।’

सम्बोधनका क्रममा प्रचण्डले केही योजना पनि सार्वजनिक गरे। मन्त्रीहरु, सचिवहरु र सचिवालयका टोलीलाई साथमा राखेर ५० मिनेट सम्बोधन गर्दा उनले ठूला नेताहरुलाई नै भ्रष्टाचार काण्डमा जेल पठाउनु चानचुने कुरा नभएको बताए।

कार्यक्षमता नभएका मन्त्रीहरु हटाउने बताउँदै प्रचण्डले आफूले पनि गम्भीर आत्मसमीक्षा गर्ने बताए।

यी प्रचण्डको सम्बोधनका मुख्य बुँदा :

शासकीय सुधार आयोग बनाउने
प्रशासन लगायतका समग्र शासकीय पक्षमा सुधार गर्न प्रधानमन्त्रीकै अध्यक्षतामा शासकीय सुधार आयोग बनाउने उनले उद्घोष गरे। 

फागुनमै बजेट निर्माण 
पुँजीगत खर्चका कारण देशको विकास प्रक्रिया नै प्रभावित भएको भन्दै उनले जनप्रतिनिधि र आम जनताको सुझाव लिने र त्यसका अधारमा बजेट निर्माण गर्ने प्रणालीको विकास गर्ने बताए।

‘बजेटका सिद्धान्त र प्राथमिकता फागुनमै प्रस्तुत गर्ने र त्यसमा आएका सुझावका आधारमा सरकारका नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने प्रणाली विकास गर्नेछौँ,’ उनले भने।

विमानस्थल सञ्चालन पीपीपी मोडेलमा
प्रधानमन्त्री प्रचण्डले तीन ठूला विमानस्थलको सञ्चालन सार्वजनिक–निजी साझेदारी मोडेलमै गर्न चाहेको बताए। 

‘निजगढ विमानस्थलको समेत निर्माण सुनिश्चित गरी काठमाडौं, भैरहवा र पोखरा विमानस्थलको विस्तार तथा सञ्चालन पनि सार्वजनिक–निजी साझेदारी मोडेलमा अघि बढाउने विकल्पमा छलफल भएको छ,’ उनले भने, ‘पोखरा र भैरहवा विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी मुलुकका नजिकका विमानस्थलसम्म कम उचाइमा उडान गर्ने साना विमान सञ्चालनको पहल भइरहेको छ।’ 

भैरहवा र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र अवतरण गर्ने विमानहरूलाई इन्धन, टर्मिनल, ग्राउन्ड ह्यान्डलिङ र अन्य सेवा शुल्कमा सहुलियत दिएर प्रोत्साहन गरिने उनको भनाइ छ।

पर्यटक दोब्बर बनाउने 
प्रधानमन्त्री प्रचण्डले आगामी वर्ष दोब्बर पर्यटक भित्र्याउने घोषणा गरे। त्यसका लागि क्षेत्रगत तयारी र योजना बनाउने उनको भनाइ छ। 

लुम्बिनी वरपरको ८ वर्गकिलोमिटरको ग्रेटर लुम्बिनी परियोजना अगाडि बढ्दै गरेको भन्दै प्रचण्डले ग्रेटर लुम्बिनी अन्तर्गत रामग्राम र कपिलवस्तुको गुरुयोजना अगाडि बढिरहेको जानकारी दिए।

यस वर्ष पर्यटकको संख्या लगभग रेकर्डकै रूपमा वृद्धि भएको उनको दाबी छ। 

विश्वविद्यालयमा राजनीति हुन नदिने 
विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा हुन नदिने भन्दै उनले यसका लागि शीर्ष तहमा छलफल गर्नुपर्ने बताए।

‘संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमानदार खाकासहित उपकुलपतिमा दाबी गर्न सक्नेछन्,’ प्रधानमन्त्रीले सम्बोधनमा भने, ‘अब मेरिटोक्रेसी सुरु हुनेछ। त्रिभुवन विश्वविद्यालय त्यसको प्रस्थानबिन्दु हुनेछ।’

आत्मसमीक्षा गर्ने, कार्यशैली बदल्ने
प्रचण्ड एकैदिन धेरै कार्यक्रममा सहभागी भए। केही उद्घाटन र शिलान्यास पनि थिए। तर, परिणाम नदेखिने खालका त्यस्ता कार्यक्रममा नजाने उनले बताएका छन्। 

बनिसकेको पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्ता लिने उनको भनाइ छ। 

‘यही चिन्ता र आत्मसमीक्षाका साथ सार्वजनिक घोषणा गर्छु, अब सरकारको कार्यशैली बदलिनेछ,’ उनले भने। 

विद्युत् बिक्री
प्रचण्डले विद्युत् बेचेर विदेशी मुद्रा आर्जन गर्न सफल हुनु निकै ठूलो उपलब्धि भएको बताए।         

‘वर्षायाममा पनि विद्युत आयात गर्नुपर्ने अवस्थाबाट आज देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको छ। विगत एक वर्षमा ७०० मेगावाटसम्म विद्युत् निर्यात गरी १५ अर्ब २७ करोड बराबरको विदेशी मुद्रा आर्जन गरिएको छ,’ उनले भने, ‘जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.२८ प्रतिशतले बढी हो। पाँच वर्षअघि यो अवस्थाको धेरैबाट कल्पना पनि गरिएको थिएन।’

राजदूत र मन्त्री हेरफेर 
प्रधानमन्त्री प्रचण्डले कार्यक्षमता राम्रो नभएका राजदूत र मन्त्री हटाउने बताए। सार्वजनिक कार्यक्रममा बोल्दै आएका प्रचण्डले एक वर्षको समीक्षा सम्बोधनमा पनि सो कुरा उल्लेख गरे। 

उनी केही मुलुकका राजदूतको कार्य सम्पादनमा सन्तुष्ट नभएको देखिन्छ। 

मुलुकको आर्थिक विकास र पर्यटन क्षेत्रलाई सफल बनाउने कुरामा राजदूत असफल रहेको प्रचण्डको विश्लेषण छ। 

‘म सबै आर्थिक र कूटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि प्रतिबद्ध छु,’ उनले भने  ‘कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरू फिर्ता बोलाइनेछ।’

‘म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु,–हामीलाई असफल हुने छुट छैन। कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन। हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ। कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ।’ 

उनले थपे, ‘यो मैले अरूलाई दिएको उपदेश मात्र होइन, आफैँसँग गरेको वाचा पनि हो। देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .