राजनीति


जनार्दन शर्माले स्थायी समिति बैठकमा भने : चुनावबाट नेतृत्व छानौं, पार्टीको नाम फेरौं

जनार्दन शर्माले स्थायी समिति बैठकमा भने : चुनावबाट नेतृत्व छानौं, पार्टीको नाम फेरौं

नेपालखबर
माघ २६, २०८० शुक्रबार २०:१२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेतृत्व चयन चुनावबाट गर्नुपर्ने बताएका छन्।

शुक्रबार अपरान्ह बसेको स्थायी समितिको बैठकमा बोल्दै उनले पार्टीलाई चलायमान गराउन सबै तहमा चुनावबाट चुनिने व्यवस्था गर्नुपर्ने बताएका हुन्। उनी माओवादी केन्द्रको विधान मस्यौदा समितिको सदस्य छन्।

मस्यौदा समितिका तर्फबाट बोल्दै उनले सो प्रस्ताव राखेको एक नेताले नेपालखबरलाई जानकारी दिए।

‘पार्टीका सबै निकायमा प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयनको व्यवस्था गरौं,’ शर्माले बैठकमा भने, पार्टीको नाम फेरौं सबै अटाउने बनाऔं।’

‍‍पुस २८ गते बसेको स्थायी समितिको बैठकमा पनि उनले नौ बुँदे पुरक प्रस्ताव पेश गरेका थिए।

जसमा पहिलो थियो– पार्टीको नाम नेकपा समाजवादी राखौं। त्यसो गर्दा माओवादीबाट छुटेर गएका नेता कार्यकर्तालाई मिलाउन र अन्य पार्टीबाट मान्छे भित्र्याउन सजिलो हुन्छ।

यस्तै, दोस्रो, प्रदेश र जिल्लालाई केन्द्रबाट पूर्ण स्वायत्त राखौं। प्रदेशका मन्त्री छान्दा होस् या तल्लो तहमा उम्मेदवार छान्दा केन्द्रबाट हस्तक्षेप गर्दा कार्यकर्तामा ऊर्जा हराउँछ।

तेस्रो प्रस्तावमा सबै पदमा महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित भएर आउनुपर्छ। मनोनयन र चयन बन्द गरौं।

र चौथो हो, जनवर्गीय संगठनहरुलाई पार्टीको वैचारिक बाटो बाहेकका विषयमा आफ्नै योजनामा चल्न दिऔं। उनीहरुले भ्रष्टाचारविरुद्ध बोल्दा होस् या कतिपय गलत प्रवृत्तिहरुविरुद्ध आवाज उठाउन पाउनुपर्छ।

सो प्रस्ताव समेट्न शर्माले शुक्रबारको बैठकमा पनि अध्यक्ष प्रचण्डसहितका नेताको ध्यानाकर्षण गराउन खोजेको नेताहरु बताउँछन्।

माओवादीको स्थायी समिति बैठक शनिबार (भोलि) पनि जारी हुनेछ।

बोल्न बाँकी रहेका नेताहरुले भोलि विधान मस्यौदामाथि धारणा राख्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .