राजनीति


मंगलबार दुर्गा प्रसाईंको शक्ति प्रदर्शन, २३ लाखको मञ्च, ७ रुटबाट जुलुस

‘३१ जना तस्कर र भ्रष्टाचारीको नाम सार्वजनिक गर्छौं’
मंगलबार दुर्गा प्रसाईंको शक्ति प्रदर्शन, २३ लाखको मञ्च, ७ रुटबाट जुलुस

नेपालखबर
माघ २९, २०८० सोमबार १९:३३, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाह र उनका केही पारिवारिक सदस्यलाई साक्षी राखेर व्यवसायी दुर्गा प्रसाईंले मेची नदीछेउको काकडभिट्टाबाट सुरु गरेको नागरिक बचाउ अभियानले मंगलबार (फागुन १) वार्षिकोत्सव मनाउँदै छ।

काठमाडौँको टुँडीखेलमा कार्यक्रम गर्न चाहेका प्रसाईँलाई प्रशासनले त्यो ठाउँ त उपलब्ध गराएन। तर, नजिकैको भृकुटीमण्डममा कार्यक्रम गर्न अनुमति दिएको छ।

गत मंसिर ७ को कार्यक्रममा काठमाडौँको चक्रपथभित्र कार्यक्रम गर्न नपाएका प्रसाईंले यसपालि उपत्यकाको मुटु नै मानिने स्थानमा गर्दै छन्। 

कार्यक्रमका लागि उनले यसपालि पनि देशका विभिन्न भागबाट सहभागी बोलाएका छन्। यसअघिको कार्यक्रम प्रदर्शनमा केन्द्रित थियो। अहिलेको कार्यक्रम सभामा केन्द्रित छ।

सभामा आमन्त्रित अतिथिहरूले शुभकामना मन्तव्य पनि दिनेछन्। मुख्य वक्ताका रूपमा भने अभियानका संयोजक दुर्गा प्रसाईं नै रहनेछन्।

सबै दलका नेतालाई निम्तो
प्रसाईंले वार्षिकोत्सव कार्यक्रमका लागि विभिन्न राजनीतिक दलका नेताहरूलाई पनि आमन्त्रण गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतलाई पनि निम्तो बाँडिएको छ।

निम्तो त पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि दिइएको थियो। अझ उनलाई त अभिनन्दन नै गर्ने अभियानको तयारी थियो। तर, पूर्वराजा शाह प्रसाईंको कार्यक्रम छलेर आइतबार नै चितवनतिर लागेका छन्। उनले त्यहाँ १६ दिने बिताउने कार्यक्रम छ।

राप्रपा ‘सकारात्मक’
प्रसाईंको कार्यक्रमप्रति पूर्वपञ्चहरूका दल राप्रपा र राप्रपा नेपालले भने सकारात्मक प्रतिक्रिया दिएका छन्। अभियानका अध्यक्षमण्डलका सदस्य एवं कार्यक्रम विभाग प्रमुख हरि कार्कीका अनुसार, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाले कार्यक्रममा उपस्थित हुने वचन दिएका छन्। 

साथै, उनीहरूले कार्यक्रममा ऐक्यबद्धता पनि जनाउने बताएका छन्। ‘कुनै राजनीतिक दलको झण्डा नबोकी राष्ट्रिय झण्डामुनि गोलबद्ध हुन सैद्धान्तिक सहमति जुटेको छ,’ कार्की भन्छन्, ‘सहकार्यको बाँकी खाका आपसी छलफलबाट तय गरिनेछ।’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि अहिलेको अवस्था (गणतन्त्र)लाई उल्टाउन ‘राष्ट्रवादी शक्तिहरू’ एक ठाउँमा आउनुपर्ने बताएको कार्कीको भनाइ छ।

२३ लाखको मञ्च
प्रसाईं नेतृत्वको अभियानले कार्यक्रमलाई ‘भव्य’ बनाउन भृकुटीमण्डपमा मञ्च सजावट गरिएको छ। भृकुटीमण्डपको ६ सय वर्गफिटमा यो तयारी भइरहेको अभियान सचिवालयले जनाएको छ। यसका लागि २३ लाख रुपैयाँ बजेट लगाइएको कार्कीको भनाइ छ।

मञ्चमा सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिनेछ। 

वार्षिकोत्सव कार्यक्रम भएकाले आमन्त्रित धेरै अतिथि तथा विशिष्ट व्यक्तिहरूलाई मञ्चमै बस्ने व्यवस्था गरिनेछ। 

मण्डपबाहिर पनि साउन्ड सिस्टमदेखि डिजिटल डिस्प्ले बोर्ड आदि राखिने कार्कीले बताएका छन्।

कार्यक्रम ११ः३० मा सुरु गरी ५ बजेभित्र सक्ने योजना छ।

३१ जनाको नाम सार्वजनिक गरिने
प्रसाईंले आफ्नो अभियानका क्रममा व्यापारिक समुदायलक्षित आक्रामक अभिव्यक्ति दिँदै आएका छन्। ‘भ्रष्टाचारी’, ‘तस्कर’ आदि विशेषण दिएर उनले केही व्यक्तिको नाम पनि सार्वजनिक गर्ने योजना बनाएका छन्।

कार्यक्रममा थ्रीडीसहितको प्रस्तुतीकरणको तयारी सचिवालयले गरेको छ। त्यसमा १६ जना व्यापारी र बाँकी राजनीतिक दलका नेताहरू छन्। उनीहरूलाई सार्वजनिकरूपमै ‘तस्कर’ र ‘भ्रष्टाचारी’ घोषणा गरिने सचिवालयले जनाएको छ।

के आधारमा यस्तो घोषणा गर्न लागिएको हो त?

अध्यक्ष मण्डलका सदस्य कार्की भन्छन्, ‘हामीसँग पर्याप्त प्रमाण छन्। ती प्रमाणसहित देखाउनेछौँ।’

७ वटा रुट
अभियानले सहभागीलाई भृकुटीमण्डपसम्म पुग्नका लागि ७ वटा रुट तय गरेको छ। ती सातवटै रुटका लागि नेतृत्व र व्यवस्थापन गर्न अलगअलग टोली खटाइएको छ।

एउटा टोली नारायणगोपाल चोकबाट नाराजुलुससहित लाजिम्पाट हुँदै भृकुटीमण्डप पुग्नेछ।

त्यस्तै अन्य टोलीहरू क्रमशः चाबहिल, कोटेश्वर–बानेश्वर, लगनखेल, बल्खु, कलंकी, कीर्तिपुर, बालाजु–नयाँ बसपार्कमा भेला भएर कार्यक्रमस्थल पुग्ने योजना बनाइएको छ।

आमहडतालसम्मका कार्यक्रम
मंगलबारको कार्यक्रममा अभियानले विभिन्न चरणका प्रदर्शनका कार्यक्रम पनि सार्वजनिक गर्ने बताएको छ।

‘अब हामी निरन्तर आन्दोलन गर्नेछौँ,’ कार्की भन्छन्, ‘आन्दोलन पनि विकेन्द्रित हुनेछ र आमहडतालसम्म गर्न पछि पर्ने छैनौँ।’

पहिलाजस्तो असंगठित अवस्थामा नरहेकाले अबको कार्यक्रम नियन्त्रणबाहिर नजाने प्रसाईं सचिवालयको विश्लेषण छ।

गत मंसिर ७ मा पनि प्रसाईं नेतृत्वको अभियानले काठमाडौँमा शक्ति प्रदर्शन गरेको थियो। त्यतिखेर केही असम्बन्धित व्यक्तिहरूको घुसपैठ भएको र केही संगठनभित्रैका मान्छेहरू बिकेको प्रसाईं सचिवालयको बुझाइ छ।

‘त्यतिखेर संगठन नभएकाले को कस्तो व्यक्ति हो भन्ने चिन्न सकिएको थिएन,’ कार्की भन्छन्, ‘हामी केन्द्रमा २१ जना थियौँ। बाहिर सम्पर्क व्यक्तिका आधारमा मान्छे ल्याएका थियौँ। तर यसपालि १४ अञ्चल र ६४ जिल्ला समिति गठन भई संगठन परिचालन गरिएकाले व्यवस्थित तवरमा कार्यक्रम हुन्छ।’

पार्टी प्यालेसदेखि धर्मशालासम्म
कार्यक्रममा सहभागी बन्न उपत्यका बाहिरबाट आउनेहरूलाई विभिन्न पार्टी प्यालेसदेखि धर्मशालामा बस्ने व्यवस्था मिलाइएको छ। केहीलाई संगठनका सदस्यहरूकै घर र डेरामा पनि बस्न–बसाल्न भनिएको छ।

आइतबार रातिसम्म उपत्यका बाहिरबाट करिब ६ हजार समर्थक भित्रिएको र यो क्रम मंगलबार बिहानसम्म निरन्तर रहने अभियानका नेताहरूको भनाइ छ।

गत मंसिरको कार्यक्रमका लागि करिब ५ करोड रुपैयाँ खर्च भएकामा यसपालि त्योभन्दा कमै हुने आकलन छ। 

‘सकेसम्म आफ्नो खर्च आफै व्यहोर्ने गरी व्यवस्था मिलाउन भनेका छौँ,’ कार्कीको दाबी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .