राजनीति


कांग्रेस युवा नेताहरूको अलग्गै भेला : महासमितिलाई कर्मकाण्डी मात्रै नबनाउन दबाब

कांग्रेस युवा नेताहरूको अलग्गै भेला : महासमितिलाई कर्मकाण्डी मात्रै नबनाउन दबाब

तस्बिर : नेपालखबर


नेपालखबर
फागुन ४, २०८० शुक्रबार १७:४५, काठमाडौँ

यही फागुन ७ गतेदेखि हुने महासमिति बैठकलाई लिएर नेपाली कांग्रेसभित्र विभिन्न समूहले आन्तरिक छलफल र भेला तीव्र पारेका छन्।

शुक्रबार मात्रै बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको एक भेलामा सहभागीहरूले महासमितिलाई कांग्रेससहित राष्ट्रका समेत समस्या समाधानको माध्यम बनाउनुपर्नेमा जोड दिएका छन्। 

महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाबारे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित भेलामा सहभागी युवा नेताहरूले पार्टीका आन्तरिक समस्या, राष्ट्रिय समस्या र जनजीविकाका सवलामा महासमिति बैठकमा गम्भीर रुपमा बहस गर्नुपर्ने बताएका छन्।

भेलामा सहभागी नेता-कार्यकर्ताहरूले गोदावरीमा हुने महासमिति बैठकलाई कर्मकाण्डी मात्रै नबनाउन पनि नेतृत्वलाई दबाब दिएका छन्।

भेलामा युवा नेता भूपेन्द्रजंग शाहीले कांग्रेस अब पुरानै तरिकाले चल्न नसक्ने निष्कर्ष सुनाए। उनले महासमितिलाई परिणाममुखी बनाउनै पर्नेमा पनि जोड दिएका छन्। 

‘महासमिति बैठक परिणाममुखी र उपलब्धिमूलक हुनुपर्छ। पार्टीमा कसैलाई काखा र कसैलाई पाखा गर्नु हुँदैन। नेतानजिक भएको आधारमा नभई कामको आधारमा मूल्यांकन गरिनुपर्छ। त्यही आधारमा जिम्मेवारी विभाजन हुनुपर्छ', उनले भने, 'निर्वाचन प्रणालीमा हेरफेर, समान र न्यायोचित अवसर वितरण हुनु पर्छ।' 

उनले एउटा व्यक्ति बाराम्बार सांसद र मन्त्री हुन नपाइने बताउँदै अब पार्टीका सबै नेता कार्यकर्तालाई बराबर अवसर दिनुपर्नेमा पनि जोड दिएका छन्। 

कार्यक्रमका सहभागीहरूले संसदीय निर्वाचनको २ वर्षअघि महाधिवेशन गर्न माग गरेका छन्। त्यो भनेको २०८२ साल हो। 

आमचुनावको दुई वर्षअघि अनिवार्य महाधिवेशन गर्ने गरी विधानमै व्यवस्था गरिनुपर्ने, महासमिति बैठकबाट महाधिवेशन कार्यतालिका घोषणा गर्नुपर्ने माग पनि उनीहरूले गरेका छन्। भेलाका सहभागीले पार्टी केन्द्रीय सदस्य पनि अबदेखि वडाबाटै छानिएर आउनुपर्ने व्यवस्था गर्न माग गरे।

भेलाका सहभागीले पञ्चायतदेखि गणतन्त्रसम्म सार्वजनिक पद पुगेका कर्मचारीदेखि नेताकोसमेत सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्ने बताएका छन्।

उनीहरूले युवाको विदेश पलायन, बेरोजागारी, आर्थिक अवस्था, जनताको दुःख पीडा सम्बोधन गर्ने गरी जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चुन्नुपर्ने पनि बताएका छन्।

त्यसैगरी दुई–दुई वर्षमा पार्टीको वडा अधिवेशन, जातीय-धार्मिक विवादबाट अलग रहने, चुनावी गठबन्धन गर्न नहुने, भ्रातृ संस्थालाई प्रभावकारी बनाउनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .