राजनीति


यौन सम्बन्धबारे त्यो टेप–चर्चा, जसले ओली निकटका ऐन महरलाई राजीनामा दिन बाध्य पार्‍यो

यौन सम्बन्धबारे त्यो टेप–चर्चा, जसले ओली निकटका ऐन महरलाई राजीनामा दिन बाध्य पार्‍यो

फाइल तस्बिर


नेपालखबर
फागुन ४, २०८० शुक्रबार २०:१९, काठमाडौँ

गत मंसिर १४ गते बिहान प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैतडीको झुलाघाटबाट ‘मध्यपहाडी लोकमार्ग विशेष अभियान’ सुरु गर्दै थियो।

उक्त अभियानको उद्घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सयभन्दा धेरै नेता-कार्यकर्ता काठमाडौँ र धनगढीबाट त्यहाँ पुगिसकेका थिए। 

तर, त्यहीबेला एमालेका एकजना पुरूष केन्द्रीय सदस्यले एक युवतीसँग गरेको भनिएको २ घण्टाभन्दा लामो वार्तालापको श्रव्यदृश्य पार्टीवृत्तमा भाइरल भइसकेको थियो।

उक्त संवादको सामग्री पार्टी कार्यकर्ता हुँदै एमाले केन्द्रीय कार्यालयसम्म पुग्यो।

ती केन्द्रीय सदस्य थिए, ऐन महर। 

महर १० औँ महाधिवेशनपछि २०७८ मंसिरमा मनोनित १० प्रतिशत केन्द्रीय सदस्यमध्येका एक हुन्। 

बझाङ घर भएका महरको उक्त अडिओलाई लिएर मेची-महाकाली अभियानमा जुटेका शीर्ष नेताहरूबीच त्यहीबेला मुखामुख हुन थाल्यो। महरसमेत उक्त अभियानमा जोडिन बझाङबाट जोडिएका थिए।

तर, अध्यक्ष केपी शर्मा ओलीनिकट रहेका महरबारे लामो समय पार्टी नेतृत्व मौन रह्यो। एमाले र माओवादी एकताका बेला अनेरास्ववियुका अध्यक्ष बनेका उनी त्यसपछि पार्टीको मूल राजनीतिमा प्रवेश गरेका थिए।

अध्यक्ष ओलीले नजिकबाट चिन्ने र माया गर्ने पछिल्लो पुस्ताका कार्यकर्तामध्ये एकमा पर्थे उनी। त्यहीकारण एमालेले २०७९ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा उनलाई बझाङमा टिकट पनि दियो। तर एमाले छाडेर एकीकृत समाजवादीमा गएका भानुभक्त जोशीसँग महर झिनो मतले पराजित भए।

२०७९ मंसिरको चुनावअघिसम्म उनले बझाङमा पार्टी निर्माणलाई तीव्र बनाएका थिए। त्यहीकारण उनी एमालेका पुराना नेता जोशीलाई कडा टक्कर दिन सक्षम भए। भलै त्यसबेला उनी ९९८ मतको झिनो अन्तरले पराजित भए।

युवा उमेरमै पार्टी नेतृत्वको विश्वास जितेर संसदीय निर्वाचन भिडेका उनी अनेरास्ववियुमै हुँदादेखि नै कयौँ विवादमा मुछिएका थिए। महरमाथि गुन्डागर्दी गरेको, मिटर ब्याज चलाएकोसहित अनेक आरोप अनेरास्ववियुमै हुँदा पनि लागेका थिए। तैपनि, एमाले नेतृत्वको छत्रछाया भएकै कारण उनीमाथि पार्टीले कहिल्यै छानबिनको पहल गरेन।

बझाङमा प्रतिनिधि सभा निर्वाचन लडेको ठ्याक्कै एक वर्षपछि भने पार्टी नेतृत्व पनि उनलाई जोगाउनै नसक्ने अवस्थामा पुग्यो। उनको विवाहेतर सम्बन्ध देखाउने उक्त सामग्रीमा यौन सम्बन्धदेखि लेनदेनसम्मका अनेक कुरा थिए। जसले गर्दा पार्टी नेतृत्व महरप्रति नकारात्मक हुने बिन्दुमा पुग्यो।

एमाले अध्यक्ष ओलीले विश्वास गर्ने पछिल्लो पुस्ताका नवीना लामा, सुनिता बरालसँगै महर पनि पर्थे। नवीना सांसद भएर बिदा भइसकेकी छन् भने बराल अहिले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद छिन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग महर (बायातर्फ)
एमालेको अभियान चलेकै बेला बाहिरिएको उक्त विवादित अडिओले पार्टी राजनीतिमा उचाइ लिइरहेका महरलाई नराम्रो झट्का दिएको छ। 

उक्त अडिओपछि सुदूरपश्चिम क्षेत्रमा अर्को भिडिओ पनि भाइरल हुन पुग्यो। एकजना नेतृसँगको भनिएको उक्त भिडिओका पात्र को थिए भन्ने आधिकारिक पुष्टि अहिलेसम्म भएको छैन। तर भिडिओका पुरुष पात्र पनि उनै महर भएको रिपोर्टिङ एमाले केन्द्रमा पुगेको एकजना नेताले बताएका छन्।

अडिओ महरकै भए पनि उक्त भिडिओ उनकै हो भन्ने यकीन नभएको तर त्यसलाई लिएर पनि एमाले नेताहरूबीच छलफल भएको स्रोतको भनाइ छ। 

बिहीबार च्यासलमा एमाले सचिवालय बैठक बसेको थियो। जहाँ उनै विवादित पृष्ठभूमिका महर र सिराज अहमद फारूकीको राजीनामा स्वीकृत गरेको छ।

तर एमालेले महरको राजीनामाको कारणबारे मौनता साँधेको छ। दुवैजनाले राजीनामा दिएको पुष्टि गरेका एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले कारण भने खुलाउन चाहेनन्।

‘महर र फारुकीको राजीनामा पार्टी बैठकले स्वीकृत गरेको छ’, उनले भने, ‘राजीनामाको कारणबारे अहिले केही नभनौँ। व्यक्तिगत कारणले उहाँहरूले राजीनामा दिएको जानकारी हामीकहाँ आएको छ।’ 

किन राजीनामा?
यौन विचलनको गम्भीर आरोप लागेपछि महरलाई यसअघि नै कारबाहीको चर्चा एमालेमा भएको थियो। तर अध्यक्ष ओलीसहित एमाले केन्द्रका नेताहरूको बलियो साथ पाएका महरमाथि कारबाही अघि बढेन।

‘पार्टीले कारबाही गर्नुभन्दा विकल्पका रूपमा तत्काललाई राजीनामाको विकल्प खोजेर ‘सेफ ल्यान्डिङ’ गराइएको हो’, एक नेताले भने, ‘पार्टीले कारबाही गर्दा अप्ठेरो हुने कुरा उहाँलाई भनिएको हो। पार्टी विधानको दफाअनुसार कारबाही भोग्नुभन्दा राजीनामा दिनु उचित हुन्छ भन्ने नेतृत्वकै सल्लाहमा राजीनामा दिन लगाएर स्वीकृत गरिएको हो।’

महरले के भनेका थिए?
एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएका महर अहिले गृहजिल्ला बझाङमै छन्। उनका निकटस्थहरूका अनुसार अहिले पनि उनी पार्टी काममै सक्रिय छन्। 

गत मंसिरमा एउटा अडिओ बाहिरिएपछि महरले आफ्नो आवाज नभएको जिकिर गरेका थिए। आफ्नो नाम जोडेर आएको अडिओलाई फेक भनेका उनले कानुनी उपचार खोज्ने पनि बताएका थिए।

अडिओ बाहिरिँदै गर्दा उनी मेची-महाकाली अभियानमा पनि जोडिएका थिए। उनी अभियानमै जोडिएर त्यसबेला झुलाघाटबाट डडेल्धुरा हुँदै केही जिल्ला पुगेर फर्किएका थिए।  

त्यसबेला उक्त अडिओमा महरसँग सम्बन्धमा रहेकी भनिएकी ती महिलाले ‘बर्बाद पार्छु’सम्म भनेकी थिइन्। त्यसपछि पुरुष आवाजले सम्बन्ध भएको स्वीकार्दै अब परिवारसँग मिलेर बस्न सुझाएका थिए। ती महिलालाई उनले सम्बन्ध विच्छेदमा नजान पनि भनेका थिए। 

उक्त अडिओमा शारीरिक सम्पर्कपछि आवश्यक औषधि किनिदिन उनले आनाकानी गरेको भन्दै रोष पोखेकी थिइन्। ती महिलाले सम्बन्ध राखेपछि आफूलाई बेवास्ता गरेको भन्दै अडिओसहित घटना विवरण सार्वजनिक गर्ने धम्की नै दिएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .