राजनीति


मिडियाले ‘मिस्टिरियस’ बनायो, राज्यले देशद्रोही : सिके राउत

मिडियाले ‘मिस्टिरियस’ बनायो, राज्यले देशद्रोही : सिके राउत

वाशुदेव मिश्र
फागुन ६, २०८० आइतबार १९:५६, पोखरा

छवि भन्ने कुराले धेरै अर्थ राख्छ। नेपालमा बस्दासम्म आफ्नो प्रोफेसनभन्दा बाहिर अरुले चिन्ने कुरा पनि भएन। अमेरिकाबाट फर्किएर राजनीतिमा होमिइसकेपछि पनि प्रत्यक्ष जनताले भेट्ने, हेर्ने मौका पाएका थिएनन्। त्योबेला मेरो एउटा छवि बनाइयो, एक हिसाबले मिडियाले नै त्यो बनाइदिएको हो।
भन्छन् नि ‘मिस्टिरियस’ छवि!

मान्छेलाई जब केही निषेधित हुन्छ, त्यसप्रति झन आकर्षण बढ्छ। घरबाटै सरकारले निस्किन नदिएपछि अरुले त ‘यो कस्तो खतरनाक मान्छे हो’ भनेर सोचिहाल्छन्। लोकतन्त्र आइसक्दा पनि किन बाहिर जान नदिएको होला? भनेर लागिहाल्छ।

त्यसमाथि ‘मिसाइल इन्जिनियर’को छवि बनाइदिँदा नेपालमा क्षेप्यास्त्र नै हान्न आएको हो कि? भन्ने अरुलाई लाग्थ्यो।

पटकपटक पक्राउ पर्थें। २ दजर्नचोटि त पहिले नै थियो। अस्ति भर्खर सांसद भइसकेपछि पनि धोती लगाउँदा पक्राउ परें। कतै बोल्न जाँदा पनि हातमा माइक समात्नेत्तिकै पक्राउ परिहाल्थें। यसले मान्छेहरुलाई स्वभाविक रुपमा जिज्ञासा लाग्ने भयो, ‘सिकेले के बोल्दो रैछ? मुखबाट आगो निकाल्छ क्याहो?’
त्यतिबेला मिडियाले मेरो अन्तर्वार्ता लिएको भन्दै एउटा मिडियालाई स्पष्टिकरण नै सोधियो। सायद कारबाही पनि गरियो होला!

मेरो त्यो रहस्यमयी पात्रको छवि कतै न कतै मिडिया नै बनाइदिएको हो। तर, त्यसमा मेरो कुनै दुखेसोचाहिँ छैन। क्रमिक रुपमा मिडियाले नै अहिले स्पेस दिँदै आएको छ। अरुले पनि सुन्न पाएका छन्। हामीसँग भएका जिज्ञासाहरु क्रमिक रुपमा स्पष्ट पार्दै गइराखेका छौं।

म झन्डै २०११ मा नेपाल फर्किएँ। अमेरिकामा एउटा राम्रो वैज्ञानिकको जागिर छाडेर आउँदा त्यतिबेला स्वभाविक रुपमा प्रश्न उठ्थ्यो। ‘यो मान्छे किन नेपाल आयो? अरु मान्छे अमेरिका जान आफ्नो किड्नी बेच्न पनि तयार हुन्छन्, पक्कै पनि केही रहस्य होला! मिसाइल बोकेर आएको छ कि?’ भनेर पनि प्रश्न उठ्थ्यो।
अमेरिकाबाट किन नेपाल फर्किएको प्रश्न १३ वर्षअगाडि पनि सोधिन्थ्यो। अहिले पनि त्यही सोधिन्छ। लाग्दैछ–यो प्रश्नको आयू धेरै लामो रहेछ। जबसम्म कोही पत्रकार आफैंले त्यो प्रश्न सोध्दैनन्, अरुलाई दिएको जवाफबाट सन्तुष्ट हुनुहुन्न।

मेरो जन्म सप्तरीको गाउँमा भयो। त्यतिबेला त्यहाँ प्राथमिक विद्यालयमात्रै थियो। अहिले पनि लगभग त्यस्तै छ। मैले त्यहीं पढें। पछि अर्को गाउँमा १० कक्षासम्मको पढाइ सकें। त्यसपछिमात्रै बस चढेर काठमाडौं गएको हुँ। पुल्चोकमा ओभसियर गरें, इन्जिनियरिङमा ब्याचलर गरें। त्यसपछिमात्रै जापान, क्याम्ब्रिज युनिभर्सिटी हुँदै जागिर गरें।

सुरुदेखि नै गरिब पृष्ठभूमिमा हुर्किएको भएता पनि मेरो बुवा शिक्षक हुनुहुन्थ्यो। दाइहरु कलेजसम्म पढ्न भ्याउनुभएको थियो। त्यहीभएर पनि  बच्चैदेखि मेरो मानसिकता इन्जिनियर बन्छु भन्ने थियो।

त्यतिबेला हजार रुपैयाँ लिएर इन्जिनियर पढ्न आएँ। काठमाडौं आउनुभन्दा अगाडि पहाड कस्तो हुन्छ भन्ने पनि हेरेको थिइनँ। एकचोटि अलि टाढाबाट हेरेको थिएँ, त्योभन्दा अगाडि पहाड कस्तो हुन्छ भन्ने मलाई थाहा थिएन। कक्षामा नेपाली पढाइ भए पनि नेपाली खासै बोल्न आउँदैन थियो। लेख्न आए पनि बोल्न आउँदैनथियो।

काठमाडौं आउने बस पनि कि विराटनगर कि काँकडभित्ताबाट आउँथ्यो। त्यही बसमा हामी आयौं। त्यतिबेला टिकट नदिएर मुडामा बसालिन्थ्यो। त्योबला अरुले दशथरि गाली गरेको छ, लात्ताले हानेको छ। अहो! यो कस्तो व्यवहार रहेछ भन्ने बस चढ्नेबित्तिकै विभेदको जुन महसुस हुन्छ, त्यहाँबाट आउन थाल्यो। कहिले ‘सामान फाल्दिन्छु भैया’ भन्ने, कहिले के भन्ने, त्यो मलाई बडो विरक्त लाग्यो। गान्धीसँग घटेका घटनाहरु तुलना हुन्थ्यो, त्यतिबेला पनि।

काठमाडौं आइसकेपछि नेपाली बोल्न आउँदैनथ्यो। तर, कक्षामा बसेको छु। परिचय दिन मुख खोल्नेबित्तिकै मधेशी टोन त आइहाल्छ नि! ग्रामेटिकल्ली शुद्ध भए पनि बोल्नेबित्तिकै गल्ल हाँस्थे। त्यो ‘ह्यारेस’ भएर कक्षामा बस्नै मन नलाग्ने हुन्थ्यो। त्यसपछि बाहिर निस्केर हनुमान ढोका जान्थें, म्युजियम जान्थें। कक्षामा जान अलिकति असहज महसुस हुन्थ्यो। पहिलो वर्ष रिजल्ट पनि खासै राम्रो आएन।

दोस्रो वर्षमा बुवाले नतिजा राम्रो आएन भनेपछि केही उत्तरदायित्व सम्झिएर गम्भीर भएर यिनीहरुले जति हेपे पनि हेपून्, इग्नोर गर्छु भनेर लागें। त्यो एउटा ट्रान्जिसन थियो। अर्को सेमेस्टर टप गरें। त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन। टप गर्न थालेपछि सबैले विस्तारै माया पनि गर्न थाले। पछि इन्जिजियरमा भर्ना भएर त्यसमा राम्रै भएर निस्किएँ।

त्योबला म पनि अलि राष्ट्रवादी खालको थिएँ। गोर्खाली कविताहरु लेख्थें। प्रतियोगिताहरुमा भाग पनि लिन्थें। यतिसम्म कि पढाइको पहिलो वर्षमा एकचोटि ‘तराई–मधेश नवजागरण’ भन्ने एउटा संस्था थियो। त्यो संस्थाको सदस्य बन्नुपर्‍यो भनेर आउँदा किन सदस्यता लिनुपर्‍यो भनेर आउँदा ‘मधेशी–पहाडी केही पनि हुँदैन’ भनेर हप्काएर पठाइदिएको थिएँ।

त्यतिबेला म विद्यार्थी थिएँ। राजनीतिमा कुनै चासो थिएन। चुनावमा भोट गर्न पनि जादिन थिएँ, खाली पढाइमामात्रै ध्यान थियो।

पछिपछि एउटा अपवाफ फैलियो। हृत्तिक रोशनले नेपालललाई घृणा गर्‍यो है भनेर कतै छापियो। त्यो फैलिँदैफैलिँदै काठमाडौंसम्म आइपुग्यो। त्यहीबेला सायद गोली लागेर पनि राजबिराजमा एकजना मारिनुभएको पनि थियो।

त्यहीबेला काठमाडौंमा मधेशविरोध कार्य भए। काठमाडौंका मधेशीमाथि आक्रमण गर्ने, पसलमा आगो लगाउनेलगायतका त्रासपूर्ण वातावरण बन्यो। काठमाडौंमा कर्फ्यूको वातावरण बन्यो। त्यतिबेला विन्टर भ्याकेसन थियो। अरु साथीहरु फर्किसकेका थिए। मभने पढन्ते भएको हुनाले काठमाडौंमै ल्याबमा पढ्न बसेको थिएँ।
विभेदको नांगो रुप त्यतिबेलै हो देखेको।

मलाई नै एउटा पुलमा समातेर ‘यसलाई फाल है’ भनियो। त्यो घटनामा आर्टिटेक्चरका एकवजा नेवारी साथीले गर्दा जोगिएँ। ‘यो मधेशी होइन, कालोकालो नेवारी हो’ भनेर भनिदिएपछि बाँचें।  

त्यतिबेला काठमाडौंका मजदुरसँग नेपाली हो भने नागरिकता खोई भनिन्थ्यो। नागरिकता देखायो भने खोसेर झोसिदिन्थे, त्यो मैले भोगेको छु। पहिले त सबै साथीहरुले एकदम सम्मान गर्थे। तर, त्यो घटनापछि होस्टल आउँदा पनि गाली गर्न थाले। अर्कै नजरले हेर्न थाले। त्यसपछि मेरो के अपराध भयो? भनेर सोच्न बाध्य भएँ।

त्यतिबेला काठमाडौंमा यस्तोसम्म वातावरण बन्यो कि मधेशीलाई भाडामा दिएकाहरु पनि बाहिरबाट ताला लगाएर यहाँ कोही छैन भनेर भन्नुपर्ने स्थिति बन्यो। त्यसले पनि मलाई ‘यदि म यो देशको राष्ट्रियताप्रति समर्पित नागरिक हुँ भने किन आक्रमण भइरहेको छ त? आखिर म को हुँ?’ भन्ने प्रश्न गर्न बाध्य बनायो।

भारतकै कोही कलाकारले केही बोल्यो भन्दैमा म माथि किन आक्रमण भइरहेको छ? मेरो राष्ट्रियता के हो? मेरो पहिचान के हो? मेरो अधिकार के हो त यो देशमा? त्यतिबेला मैले सोच्नैपर्ने बाध्यता भयो।

त्यतिबेलादेखि नै राजनीतिमा मेरो अलिकति चासो बढ्न थाल्यो। इतिहासहरु खोतल्न थालें। मेरो रुट, मेरो पहिचान के हो? भनेर खोज्न थालें। त्यहीबेला जापानमा स्कलरसिप पाएर गएँ। बाहिर पनि विभेद भोग्नैपर्यो। तर, त्यहाँ म आफैं फेस गर्नुपर्छ भन्ने लागेको थिएन। म आफैं पनि अध्यात्मिक भएकाले मानवताका बारेमा सोच्नुपर्ने, सत्य खोज्नुपर्ने, किन सानो कुरामा अल्झिराख्ने भनेर आफू कहिल्यै पनि फेस गर्न खोजिनँ।

‘नेपालमा जति हेपे पनि हेपून्, विदेश गइदिम्ला नि त!’ ढुक्क भएर बसेको थिएँ। जापान जाँदा प्लेन चढ्दै गर्दा आफैंलाई प्रमिस गरेको थिएँ, ‘नेपालमा जेजस्तो भयो। सबै कुरा यहीं बिर्सिन्छु। त्यहाँ मैले फ्रेस लाइफ स्टार्ट गर्छु।’

तर, जापान पुग्दा पनि उस्तै विभेद पाएँ। नेपालीको कार्यक्रम भनेको छ, हामीलाई नै जान दिइएको छैन। नेपालीको रेस्टुरेन्ट जान्छु, त्यहाँ तपाईं नेपाली होइन भनिदिन्थे। नागरिकता बोकेको छु भनेर भन्नुपर्ने। सहपाठी र प्रोफेसरका अगाडि तँ नेपाली होइन भनेर भनिदिँदा साह्रै अप्ठेरो महसुस हुन्थ्यो।

त्यतिबेला मधेश आन्दोलन पनि भयो। त्यतिबेला संघीयता भन्ने शब्द उतिसारो प्रयोगमा आइसकेको थिएन, राज्य पुनर्संरचना धेरै भनिन्थ्यो। त्यहीबेला राज्य पुनर्संरचनाले मात्रै हामीलाई पूरा अधिकार दिन सक्दैन भन्ने लागेको थियो। अधिकार, पहिचान र स्वायत्तताको कुरा गर्न सक्दैन भन्ने लाग्थ्यो। तर, त्यतिबेलासम्म पनि खुलेर आइसकेको थिएन।

मलाई त्यतिबेलासम्म पनि म जोगी बन्ने हो भन्ने थियो। पहिले नेपाललाई जापानजस्तो बनाउनुपर्छ भन्ने सोच्थें। तर, जापान गइसकेपछि त्यहाँको लाइफस्टाइल देखेर ‘यहाँ जीवन नै छैन। ठूलाठूला भवन छन्, मान्छेमा जीवन छैन। खाना खाने फुर्सद छैन।  दुनियाँको तीव्र गतिको रेल छ, तर, मान्छेहरु हातमा बर्गर लिएर दौडिराखेका छन्, मान्छेलाई बच्चा जन्माउने फुर्सद छैन’ यस्तो पनि जीवन हुन्छ? भनेर तुरुन्तै सोचें।

भौतिक सुखसुविधा धेरै पाउँदा पनि मान्छे खुुसी छैन। ट्रेनमा निदाएर बस्नुपरेको छ। आँखामा खुसीको चमक कतै देखिनँ। यो त हुँदै भएन भनेर बुवालाई पत्र लेखें, ‘बुवा यता राम्रो छैन।’
०००

अमेरिका बोस्टनमा एउटा राम्रो खालको नेपाली कम्युनिटी छ। त्यहाँ म पुगेको त्यस्तै ३, ४ महिनाजत्ति भएको होला! उहाँहरुले बोलाउनु भएको थियो। त्यसमा नेपालबाट संविधान सभाको सदस्यहरु पनि जानु भएको थियो। त्यसमा एकजना धोती लगाउने पनि जानुभएको थियो। तर, धोती लगाएकै कारण उहाँलाई कार्यक्रममा वञ्चित गरियो। धोती नेपालीको पहिचान नभएको भन्दै पस्न दिइएन।

म त अमेरिकामा भर्खर पुगेको थिएँ। मलाई फोन आयो, हामीलाई यस्तो दुर्व्यवहार गरियो। हामीलाई स्वागत नगर्ने? भन्नु भयो। उहाँहरुलाई म र एकजना साथी मिलेर डिनर स्वागत गर्यौं। त्यतिबेलासम्म नेतालाई मनै पराउँदिनथिएँ। उहाँहरुले मधेश पहिलेभन्दा धेरै विकसित भएको तर्क गर्नुभयो। त्यसको एक महिनापछि नेपाल फर्किएँ।

मधेश कतिको बनेको रैछ? भनेर मेचीमहाकाली यात्रा त्यहीबेला गरेको हुँ। कमैया, बेरोजगार, किसान, भूमिहीन सबैसँग कुरा गरें। कञ्चनपुरबाट फर्किनेबला थारुहरुको विस्थापित बस्तीमा छिरें, त्यो बस्तीमा छिर्दा त बुज्रुकहरु खुट्टा समातेर रुन थाले। उनीहरु घर,जग्गा बनाउने ठाउँ दिनुपर्यो, प्रहरी आएर कुटेको कुट्यै गरे भनेर भन्नुभयो।

न म सरकारी कर्मचारी हुँ न म सीडीओ न प्रहरी हँ। त्यहाँ पनि यहाँ कञ्जनपुरको आदिवासी समुदायले त्यसरी खुट्टा समाथेर रुन थालेपछि कि समाजप्रति मेरो उत्तरदायित्व छ भन्ने बोध भयो।

अमेरिका त विकसित छ, त्यहाँको रकेट त अरुले नै बनाइदेलान्। यहाँको म आफैं गर्नुपर्छ भन्ने बोध भयो।

गाउँमा कोही नेता आयो भने ‘तपाईंहरुलाई के चाहिन्छ?’ भनेर सोधिन्छ मैले पनि सोधें। उनीहरुले बाटोघाटो मागेनन्। खेतमा बोरिङको व्यवस्था गरिदिनुपर्‍यो बाबु’ भनेर भने। ‘खेतमा बाली र पेटमा अन्न पर्‍यो भने घोडासम्म त के छातीसम्म हिलो भए पनि हिँड्न तयार छन्’ भनेर भने।

उनीहरुले मागेको ठिकै थियो। त्यसपछि म बोरिङको लागि कोशिस गरें। लाहानको कार्यालयमा सम्पर्क गरें। अझ अमेरिकाबाट आएको भनेर बढाइचढाइ पनि गरें। तर, नेपालको सिस्टमले एउटा पनि बोरिङ ल्याउन सकिनँ।

अमेरिकामा ठूलो वैज्ञानिक हुँला, सबैभन्दा पढेको हूँला। तर, एउटा बोरिङसम्म आफ्नो गाउँलेका लागि ल्याइदिने मेरो हैसियत रैनछ भन्ने थाहा भयो। त्यसपछि नै मैले यो तबसम्म बद्लिँदैन जबसम्म म राजनीतिमा आउँदिनँ भन्ने बोध भयो।

अब म फर्केर यो समस्या समाधान गर्छु भनेर आफैंसँग वाचा गरें। त्यसको करिब १ वर्षैपछि नेपाल फर्किएको हुँ।

नेपाल फर्केर एउटा खुलामञ्चमा भाषण गरें। तर, भाषण गर्नेबित्तिकै सबै त्रसित भए। अमेरिकाबाट फर्कियो, हाइप्रोफाइल किन नेपाल आयो भनेर वाचलिस्टमा राखे। जहाँ जाँदा पनि जासुस लागिरह्यो। पछि विचार राख्ने क्रममा धरपकड हुन थालेपछि चर्चाको विषय बन्दै गयो। यहीबीचमा कसरी विभेद भइराखेको छ भन्ने लेखें।

हामी कर्णाली सबैभन्दा पिछडिएको भन्छौं। थियो, कुनैबेला, छ। पक्कै पनि कर्णाली, सुदूरपश्चिम विकसित हुनुपर्छ। तर, आजको दिनमा महोत्तरी जिल्ला, जुम्लाभन्दा पनि पछाडि छ। २०७८ कै पनि तथ्यांक हेर्दा साक्षरता दर जुम्लाभन्दा करिब २० प्रतिशत कम छ। समग्र मधेशको झन्डै  ६३ प्रतिशत छ, कर्णालीको ७६ प्रतिशत छ।

यही कुरा बोल्दै गएपछि सरकारलाई असह्य भएको हो। धरपकड हुन थाल्यो। यतिसम्म सरकारले दियो फ्रि डा सिके राउत भन्दा पनि समातेर जन्मकैद हुनुपर्छ भन्न थालियो। फोटोकपी पेपरमा फ्रि डा सिके राउत भनेर उभिँदा पनि जन्मकैदको मुद्दा लाग्ने कस्तो खालको लोकतन्त्र हो? भन्ने लाग्थ्यो। अदालत तारिख लिन जाँदा कसैले सिके राउत जिन्दावाद भन्दा पनि जन्मकैद ठोकिदिन्थ्यो।

अन्तिममा यतिसम्म भयो कि राजनीतिक कुरा गर्न नदेला भनेर जनकपुरमा विवाह पञ्चमीमा पानी खुवाउन पानी राख्दा पनि पानी खुवाउने मान्छेलाई पनि समातेर मुद्दा लगाइदिए। भनेपछि तीर्थालुलाई खुवाउन नदिनेसम्मको दमन गरियो।

हामीलाई बोल्न पनि नदिने, लेखपढ गर्न पनि नदिने, तीर्थालुलाई पानीसमेत खुवाउन नपाउने भएपछि हामीले यही तरिकाले अगाडि जान सकिँदैन भन्ने निष्कर्ष निकाल्यौं। अब मूलधारमै आएर जति गर्न सकिन्छ, गरौं भनेर संविधानभित्रै बसेर केही गरौं भनेर आएको हो।

म जतिबेला फर्किएँ त्यतिबेला यहाँ संविधान बनिसकेको थिएन, संघीयता आइसकेको थिएन। तर, २०७५ सालसम्म आइपुग्दा संविधान आएर पनि स्थानीय तहमा अधिकार गइसकेको थियो। राजनीतिक परिवर्तन पनि केही सकारात्मक ढंगले अगाडि बढिसकेको थियो। म अमेरिकाबाट फर्किंदा र ०७५ सालको राजनीतिक अवस्था एउटै थिएन। त्यहीबेला सरकारले वार्ता टोली गठन गरेर अगाडि बढिसकेका थियौं। यो जेल जानुभन्दा अगाडिको कुरा हो।

पछि राममनोहर घटना घट्यो। उहाँको हिरासतमा मृत्यु भयो। हामी त्यसलाई हत्या भन्छौं। त्यो पनि लोकतन्त्रको कालोधब्बा हो। उहाँमाथि कुनै मन्त्रीज्युलाई कालोझन्डा देखाउनु भयो भनेर आरोप लगाइयो। पछि समातेर उहाँको मृत्यु भयो, हत्या भयो।

त्यसपछि यो संविधानले जति अधिकार दिएको छ, त्यो अधिकार दिएको छैन भनेर कालो दिवस मनायौं। त्यसको प्रतिसोध राख्न छापा मारेर मलाई जेलसम्म पुर्‍याइदिए। जेल बस्दा वार्ता अगाडि बढ्न सकेन। पछि धेरै गृहकार्यपछिमात्रै वार्ता सफल भयो।

पछि पार्टी गठन गर्‍यौं। लगत्तै कोरोना महामारी सुरु भयो।  मूलधारको राजनीतिमा हामी परिवर्तन गर्न सकिन्छ भनेरे आएका हौं। योभन्दा अगाडि संसदमा संसदमा पुगिसिकेपछि धेरै कुरा गर्न सकिन्छ भन्ने थियो।

तर, त्यहाँ गइसकेपछि बोल्न पनि पाइँदैन भनेर थाहा पाएँ। त्यहाँ को कहिले बोल्ने पालो हुन्छ। अर्को, संसदमा कोसँग कति राम्रो र महत्वपूर्ण विषय छ भनेर महत्व राख्दैन। त्यहाँ कसले कति बोल्ने भन्ने उनीहरुको सिट संख्याका आधारमा हुने रहेछ।

(पोखरामा जारी ११ औं नेपाल लिटरेचर फेस्टिभलमा डा सिके राउतले ‘मधेश मन्थन’ विषयक सेसनमा राखेको विचारको सम्पादित अंश। उक्त सत्र खगेन्द्र संग्रौलाले सहजीकरण गरेका थिए।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .