ad ad

राजनीति


कांग्रेस महासमितिको निष्कर्ष : सात दलीय गठबन्धनलाई निरन्तरता दिने

कांग्रेस महासमितिको निष्कर्ष : सात दलीय गठबन्धनलाई निरन्तरता दिने

तस्बिर : नेपालखबर


नेपालखबर
फागुन १०, २०८० बिहिबार १८:३७, काठमाडौँ

नेपाली कांग्रेसले वर्तमान सात दलीय गठबन्धनलाई निरन्तरता दिने भएको छ। 

चार दिनदेखि ललितपुरको गोदावरीमा चलेको महासमितिको बैठकले उक्त निष्कर्ष निकालेको हो। 

महासमितिको बैठकपछि पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले ११ बुँदे वक्तव्य जारी गर्दै नेकपा माओवादी केन्द्रसहितको गठबन्धनलाई निरन्तरता दिने जनाएका छन्। 

‘नेपाली कांग्रेसको महत्वपूर्ण उपस्थितिसहित निर्माण भएको गठबन्धनलाई निरन्तरता दिई वर्तमान सरकारमार्फत भ्रष्टाचार, बेथिति र विसंगतिविरुद्ध वैधानिक रुपमै अभियान संचालन गरि सुशासन र राष्ट्रिय सदाचार पद्धति स्थापित गर्न सम्पूर्ण रुपले कृतसंकल्पित रहने अठोट गर्दै, अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतीहरूलाई समाधान गर्ने जिम्मेवारी बोध गर्दै...’, विश्वकर्माले विज्ञप्तिमा भनेका छन्। 

यस्ता छन् महासमितिका निर्णय
१. नेपाली राजनीतिको महत्वपूर्ण ऐतिहासिक दिन फागुन ७ अर्थात प्रजातन्त्र दिवसको अवसर पारेर २०८० फागुन ७ गते ललितपुरको गोदावरीमा पार्टी सभापती श्री शेरबहादुर देउवाले समुद्घाटन गरी १० गते सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकले,

२. नेपालको राष्ट्रिय स्वाधीनता र नागरिक स्वतन्त्रताका लागि पटक–पटकका क्रान्ति, संघर्ष र आन्दोलनमा सहादत प्राप्त गर्ने वीर सहिदहरूप्रति हार्दिक श्रद्धा सुमन अर्पण एवं सम्पूर्ण अग्रज नेताहरू तथा देश, लोकतन्त्र र कांग्रेसकालागि जीवन अर्पीत गर्ने सबै पार्टी सदस्य प्रति उच्च सम्मान प्रकट गर्दै,
३.  नेपाली जनताले गरेको पटक पटकको क्रान्ति, संर्घष र आन्दोलनवाट प्राप्त उपलव्धी एवं हरूको रक्षा गर्दै संस्थागत विकास एवं संविधानले निर्दिष्ठ गरेका विषयलाई आत्मसाथ गरि,
४. नेपालको संविधानको रक्षा, संघीय समावेसी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयन आजको राष्ट्रिय दायित्व भएको तथ्य हृदयङ्गमसाथ नागरिकको अवस्था रुपान्तरण गर्ने प्रण गर्दै
५ . शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकालिन न्यायका विषय चाँडै टुङ्याउँने प्रतिवद्धता जाहेर गर्दै,
६. नेपाली कांग्रेसको महत्वपूर्ण उपस्थितिसहित निर्माण भएको गठवन्धनलाई निरन्तरता दिई वर्तमान सरकार मार्फत भ्रष्ट्राचार, बेथिती र विसंगतिविरुद्ध वैधानिकरुपमै अभियान संचालन गरि सुशासन र राष्ट्रिय सदाचार पद्धति स्थापित गर्न सम्पूर्ण रुपले कृतसंकल्पित रहने अठोट गर्दै, अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतीहरूलाई समाधान गर्ने जिम्मेवारी बोध गर्दै,
७. मुलुकमा विद्यमान सवैखाले सामाजिक एवं जातीय क्षेत्रीय तथा लैङ्गिक विभेद र हिंसा विरुद्ध कार्यक्रमिक अभियान संचालन गर्ने प्रतिवद्धता गर्दै,
८. तीनै तहका सरकार संचालनमा देखिएका समस्याहरूलाई समाधानका लागि नेतृत्वदायी भूमिका प्रति सचेत रहँदै,
९. किसान, सहकारी बचतकर्ता, मिटरव्याज र लघुबित्त पीडितहरूले भोग्दै आएका पीडालाई अबिलम्व समाधान गरि पीडितलाई न्याय दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै,

१०. महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएको नीति प्रस्ताव, महामन्त्री गगन कुमार थापाले प्रस्तुत गर्नु भएका सांगठानिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको समसामयिक राजनीतिक प्रस्ताव नेपाली कांग्रेसको नीति, सांगठानिक कार्ययोजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्किोण निर्माण गरेको छ। बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यहरूबाट अत्यन्तै महत्वपूर्ण सुझावहरू प्राप्त भएका छन्। प्राप्त सुझावहरूका आधारमा केन्द्रीय कार्यसमितले परिमार्जनसहित अन्तिम रुप दिने गरि तीनवटै प्रस्ताव महासमितिको यो बैठक सर्वसम्मतिले पारित गर्दछ। नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थ मन्त्री डा. प्रकाशसरण महतले प्रसतुत गर्नुभएको आर्थिक प्रतिवेदन सुझावसहित ग्रहण गर्नुका साथै लेखा समितिका संयोजक श्याम प्रसाद घिमिरेले प्रस्तुत गर्नुभएको लेखा परिक्षण प्रतिवेदन बैठकले अनुमोदन गरेको छ।

११. राजनीतिक स्थायित्व, रुपान्तरण नविनता। स्वतन्त्रता, न्याय र समानता। नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता। उद्घोषका साथ प्रारम्भ भई उत्साहकासाथ सम्पन्न यो बैठकबाट हासिल नवीन ऊर्जालाई सम्पूर्ण एकताका साथ संगठन निर्माण र विस्तारमा जुट्दै  नेपाल र नेपालीको उज्यालो भविष्यका लागि समर्पित हुने साझा प्रतिवद्धताका साथ यो ऐतिहासिक महासमितिको बैठक सम्पन्न भएको छ। 

यो एतिहासिक महासमितिको बैठकका सहभागि केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, जिल्ला सभापतिहरू, महासमिति सदस्यहरू, बैठक सफल पार्न विभिन्न उपसमितिमा रही अहोरात्र कार्य गर्नुहुने साथिहरू, भातृ तथा शुभेच्छुक संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू, सुरक्षाकर्मीहरू, यातायात व्यवसायिहरू, नेपाली कांग्रेस ललितपुरका सभापति सहित विभिन्न तहमा रही काममा संलग्न स्थानीय साथीहरू, जनप्रतिनिधिहरू र विशेष भुमिकामा रही अविछिन्न समाचार संकलन तथा संप्रेषणमा योगदान गर्नुहुने सम्पूर्ण संचार माध्यम तथा संचारकर्मी साथीहरूमा नेपाली कांग्रेस केन्द्रीय कार्य समिति तथा प्रचार प्रसार उपसमितिको तर्फबाट हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .