राजनीति


२२ बुँदे निर्णय गर्दै सरकारमाथि खनियो एमाले, माग्यो विवादित मन्त्रीहरूको राजीनामा

भ्रष्टाचारमा मुछिएका आफ्ना नेतालाई अदालतको आडमा चोख्याएको आरोप
२२ बुँदे निर्णय गर्दै सरकारमाथि खनियो एमाले, माग्यो विवादित मन्त्रीहरूको राजीनामा

फाइल तस्बिर


नेपालखबर
फागुन १०, २०८० बिहिबार १९:१८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकबाट बिहीबार २२ बुँदे प्रस्ताव पारित गरेको छ।

च्यासलमा सम्पन्न केन्द्रीय कमिटी बैठकले वर्तमान गठबन्धन सरकारले राष्ट्रिय हितमा गम्भीर आघात पुर्‍याएको निष्कर्ष निकालेको छ।

एमालेले टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी र विवादमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेको छ।

सरकारले तस्करी र भ्रष्टाचारलाई संरक्षण गरेको र शासन सञ्चालनमा द्वैध चरित्र देखाएको आरोप पनि एमालेले लगाएको छ।

'मुलुक तस्करी र भ्रष्टाचारको गहिरो दलदलमा फस्दै गएको छ। सञ्चारमन्त्री टेरामक्स खरिद प्रक्रियाको अनियमिततामा मुछिएका छन्। बालकुमारी घटना छानबिन आयोगले दोषी देखाएका भौतिक पूर्वाधार मन्त्री निर्लज्जतापूर्वक झण्डा हल्लाएर हिँडिरहेका छन्। सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टण्टबाजीमा परिणत भएको छ', एमालेले भनेको छ, 'गठबन्धनमा आबद्ध भएकै कारण ललिता निवास काण्डका मुख्य निर्णयकर्तालाई उन्मुक्ति दिइएको छ। सुन तस्करीमा मुछिएका आफ्नो पार्टीका नेतालाई सफाइ दिइएको छ। विभिन्न काण्डहरूको छानबिनमा व्यवसायीहरूपिच्छे दोहोरो मापदण्ड अपनाइएको छ। आफ्ना मान्छेलाई अपराधबाट उन्मुक्ति दिन न्यायालयलाई प्रभावित र महान्यायाधिवक्ता कार्यालयको दुरूपयोग गरिएको छ। गठबन्धनका मान्छे मुछिएका मुद्दाहरूमा पक्षपातपूर्ण न्यायनिरूपण आमविषय बनेको छ,' एमालेले भनेको छ।

एमालेले सरकारका गलत नीति र भ्रष्ट क्रियाकलापका कारण मुलुकको अर्थतन्त्र मन्दीमा फस्दै गएको आरोप लगाएको छ।

चालु आर्थिक वर्षको ७ महिना बित्दा पुँजीगत खर्च २१ प्रतिशतमा सीमित भएको बताउँदै एमालेले राजस्वले चालू खर्चसमेत धान्न सक्ने अवस्था नरहेको जनाएको छ।

'सरकार आर्थिक वर्षको पहिलो महिनादेखि नै आन्तरिक ऋण उठाइरहेको छ। विकास निर्माणका काम ठप्प छन्। निर्माण व्यवसायीहरूले सम्पन्न भइसकेका कामको भुक्तानी पाउनसकेका छैनन्', एमालेले भनेको छ, 'चर्को ब्याजदर, झन्झटिलो कर प्रशासन र सरकारका दोहनकारी नीतिका कारण व्यवसायीहरू हतोत्साही अवस्थामा छन्। धेरै व्यवसायहरू बन्द भएका छन् र व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका छन्। यो बैठक गहिरिँदो आर्थिक संकट र बिग्रँदो व्यवसायिक वातावरणप्रति गहिरो चिन्ता व्यक्त गर्दछ।'

एमालेले गठबन्धनमा आबद्ध भएकै कारण ललिता निवास काण्डका मुख्य निर्णयकर्तालाई उन्मुक्ति दिइएको जनाएको छ। उसले सुन तस्करीमा मुछिएका आफ्नो पार्टीका नेतालाई सफाइ दिइएको आरोप लगाएको छ।

अन्तर्राष्ट्रिय संस्थाहरूको दृष्टिमा नेपालको विश्वसनीयता र साख खस्किँदै गएको एमालेले जनाएको छ। 'यो बैठक तस्करी र भ्रष्टाचारलाई संरक्षण गर्ने सरकार र शासन सञ्चालनमा उसको द्वैध चरित्रको विरोध गर्दछ। टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विभिन्न विवादमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग गर्दछ’, वक्त्व्यमा भनिएको छ।

एमालेले प्रहरीद्वारा अन्धाधुन्ध बल प्रयोगका कारण ललितपुरको बालकुमारीमा दुई र सर्लाहीको बरहथवामा एक युवाको अनाहकमा ज्यान गएको जनाएको छ।

'उक्त घटनाप्रति खेद व्यक्त गर्दै दोषीहरूलाई कारबाही गर्न, मृतकहरूका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन र नागरिकहरूको जीवनमा यसरी खेलबाड गर्दै नगर्न सरकारलाई चेतावनी दिन्छौँ', एमालेले भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .