राजनीति


मन्त्री फेरबदल रोकिनुका दुई कारण

मन्त्री फेरबदल रोकिनुका दुई कारण

सागर न्यौपाने
फागुन १३, २०८० आइतबार २२:७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेरबदलको प्रयास गरेको दुई महिना पुगिसकेको छ। मन्त्रीहरुको कामबाट असन्तुष्ट उनले पुसदेखि नै फेरबदलको कोसिस गरे पनि सत्ता साझेदार नेपाली कांग्रेसलाई मनाउन नसक्दा रोकिएका थिए।

अहिले पनि प्रधानमन्त्री प्रचण्डनिकट स्रोतहरु कांग्रेसका कारण मन्त्री परिवर्तन रोकिएको दाबी गर्छन्। कांग्रेस तयार भए तत्काल मन्त्री बदलिने उनीहरुको भनाइ छ।

‘कांग्रेस तयार भए भोलि नै हेरफेर हुन्छ,’ प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले भने, ‘गठबन्धनमा फेरि छलफल सुरु भएको छ। अब केही निष्कर्ष निस्केला कि!’

तर, कांग्रेसका नेताहरु भने आफ्नो पार्टी मन्त्री फेर्न अड्चन नबन्ने बताउँछन्। 

‘मन्त्री फेर्न कांग्रेस सकारात्मक छ, तर, केही कुराले रोकिएको छ,’ कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नेपालखबरसँग भने, ‘यसबारे प्रधानमन्त्रीसहित सभापतिहरु छलफलमा हुनुहुन्छ। उहाँहरुबीच एउटा समझदारी  जुट्नेबित्तिकै मन्त्री हेरफेर निर्णय हुन्छ।’

यसअघि कांग्रेसले राष्ट्रिय सभा चुनाव र महासमिति बैठक देखाएर मन्त्री बदल्न चाहेको थिएन। राष्ट्रिय सभा चुनाव (माघ ११) र कांग्रेसको महासमिति बैठक (फागुन ७–१०) दुवै सम्पन्न भइसकेका छन्।

मुख्यगरी दुई कारणले मन्त्री फेर्ने कुरा अड्किएको सत्तारुढ दलका नेताहरु बताउँछन्।

पहिलो, बदलिने मन्त्रीहरुको संख्या। प्रधानमन्त्री प्रचण्ड भएजति सबै मन्त्री बदल्नुपर्ने पक्षमा छन्। 

तर, कांग्रेस केही मन्त्री मात्र फेर्नुपर्ने अडानमा छ।

‘हाम्रो पार्टीबाट सबै हटाउन सम्भव हुँदैन,’ प्रचार विभाग प्रमुख विश्वकर्माले दाबी गरे, ‘एक वर्ष पूरा गरेका र एउटा बजेट ल्याएका मन्त्री हटाउन तयार भए पनि केही मन्त्री हटाउन सम्भव छैन। फागुनको तेस्रो हप्तातिर केहीलाई हटाएर नयाँ पठाउने निर्णय हुनसक्छ।’

सबै मन्त्री नफेरिने भएपछि स्वाभाविक रुपमा कसलाई राख्ने र कसलाई हटाउने भनेर तर्कवितर्क हुने नै भयो। नमिलेको दोस्रो कुरा यही हो। मन्त्री बदल्न स्पष्ट मापदण्ड तयार गर्नुपर्ने कांग्रेससहित अन्य दलका नेताहरुको भनाइ छ।

‘कसरी हटाउने? मन्त्री हेरफेर गर्दाको मापदण्ड के बनाउने? फेर्ने आधार केलाई बनाउने? यो कुरा मिलेको छैन,’ एकीकृत समाजवादीका एक नेताले भने।

उनले ‘पर्फमेन्स’को आधारमा हटाउँदा मन्त्रीहरुलाई ‘अयोग्य’ गरेजस्तो हुने पनि बताए।

कांग्रेसले भने यसपटक मन्त्रालय पनि मिलाउन खोजेको सो पार्टीका एक नेताले बताए। ‘अहिले लिएका मन्त्रालय हेरफेर पनि हुनसक्छ,’ ती नेताले थपे। 

प्रचण्डमाथि बढ्दैछ दबाब
पुसको दोस्रो हप्ताभित्रै प्रधानमन्त्री मन्त्री हेरफेर गर्न चाहन्थे। उनलाई जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीले साथ दिएका पनि थिए। प्रधानमन्त्रीले हटाउने मन्त्रीको नामावली नै तयार पारेका थिए। 

कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएकालाई हटाउने उनको तयारी थियो।

तर, सत्ताको प्रमुख घटक कांग्रेस तयार नभएपछि उनी रोकिएका थिए। कांग्रेसले रोकेपछि माओवादी, एकीकृत समाजवादी र जसपा पनि मन्त्री नफेर्ने निष्कर्षमा पुगेका थिए।

‘कुनै दलका केही मन्त्रीलाई फेर्दा कार्यासम्पादनमा सोझै असर पर्ने देखियो, कर्मचारीले नमान्ने मात्र होइन, मन्त्रीलाई पनि नराम्रो हुने भयो, त्यही भएर रोकिएको हो,’ स्रोतले भन्यो।

अहिले केही मन्त्रीहरु विवादमा परेका छन्। यसले पनि मन्त्री परिवर्तन गर्न प्रधानमन्त्रीमाथि दबाब बढ्दै गएको छ।

एकीकृत समाजवादीका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, कांग्रेसका मोहनबहादुर बस्नेत र माओवादीका सुदन किराती हटाउन सांसदहरुले दबाब बढाएका छन्।

त्यसमध्ये ज्वाला हटाउन प्रधानमन्त्रीलाई चौतर्फी दबाब छ।

पुस १३ गते ललितपुरको बालकुमारीमा ईपीएस कार्यालय आसपास विद्यार्थीले आन्दोलन गर्दा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो।

त्यसबेला आन्दोलनरत विद्यार्थीले मन्त्री ज्वालाको सरकारी गाडी आगो लगाइदिएका थिए।

सो घटना घट्नुमा मन्त्री ज्वालाकै मुख्य कमजोरी रहेको छानबिन समितिले प्रतिवेदन प्रधानमन्त्री प्रचण्डलाई बुझाएको छ।

त्यसबाहेक अन्य मन्त्रीहरुको काम समेत प्रभावकारी नभएकोमा प्रचण्ड असन्तुष्ट छन्।

आआफ्नै पार्टीमा पनि असन्तुष्टि
शनिबार (फागुन १२)  बिहान प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा यसै विषयमा छलफल भएको थियो। 

‘मन्त्रालय र मन्त्री हटाउने विषयले प्रवेश पाएको सूचना पाएका छौँ,’ स्रोतले भन्यो, ‘निष्कर्षमा पुगिसकेको छैन।’

प्रचण्डलाई समर्थन गरेका दलहरुमध्ये चार पार्टीका मन्त्री फेर्न पार्टीभित्रै तीव्र दबाब छ। 

कांग्रेसकै नेता आफ्ना मन्त्रीसँग सन्तुष्ट छैनन्। महासमिति बैठकमा महामन्त्री गगन थापाले मन्त्री हटाउन सभापतिलाई दबाब दिए। 

नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीको कार्यसम्पादन राम्रो नभएकोले फिर्ता बोलाउन अध्यक्ष माधवकुमार नेपाललाई नेताहरुले निरन्तर दबाब बढाएका छन्। 

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केही मन्त्रीको बाहेक अधिकांशको कार्यसम्पादन राम्रो नभएको रिपोर्टिङ भएको विश्वकर्माले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .