ad ad

राजनीति


पूर्णबहादुरको प्रतिवेदनको पृष्ठ २०, जसले प्रचण्डलाई गठबन्धन नटिक्ने निष्कर्षमा पुर्‍यायो

पूर्णबहादुरको प्रतिवेदनको पृष्ठ २०, जसले प्रचण्डलाई गठबन्धन नटिक्ने निष्कर्षमा पुर्‍यायो

सागर न्यौपाने
फागुन २१, २०८० सोमबार १५:७, काठमाडौँ

नेपाली कांग्रेसको फागुन ७ गते ललितपुरको गोदावरीमा  महासमिति बैठक उद्घाटन भयो। ८ गते बिहानैदेखि बन्द सत्र सुरु भयो। उपसभापति पूर्णबहादुर खड्काले नीति प्रतिवेदन प्रस्तुत गरे। महामन्त्री गगनकुमार थापाको सांगठनिक र विश्वप्रकाश शर्माको समसामयिक राजनीति सम्बन्धी प्रतिवेदन हलमा प्रस्तुत भए।  

महासमिति बैठकमा उपस्थित २२ सय नेता/कार्यकर्ताले ती प्रतिवेदनमाथि छलफल गरे र १० गते सर्वसम्मतिले पारित गरे।

प्रतिवेदन बालुवाटारमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातमा पनि पुग्यो। उनले अक्षर–अक्षर केलाएर प्रतिवेदन अध्ययन गरे।

उपासभापति खड्काको प्रतिवेदनको पृष्ठ २० मा पुगेपछि प्रचण्ड रोकिए। 

फेरि पढे। त्यसमा उल्लेख शब्दले प्रचण्डलाई च्वास्स घोच्यो।

अनि सचिवालयका अधिकारीलाई बोलाएर पढ्न लगाए। केही निकट नेतालाई पनि उनले महासमिति बैठकमा पेस भएका सबै प्रतिवेदन पढ्न निर्देशन दिए।

आफ्नै नेतृत्वको सरकारमा उपप्रधान तथा रक्षामन्त्री रहेका खड्काकै प्रतिवेदनको शब्दचयन प्रचण्डले स्वाभाविक मानेनन्। 

प्रधानमन्त्री र माओवादीका नेताले विश्लेषण गरे– ‘कांग्रेस महासमिति प्रतिगमनतिर गयो, ०४७ कै संविधान ब्युँताउन खोजे।’

खड्काको प्रतिवेदनको पृष्ठ २० मा लेखिएको छ :
वि.सं. २०४६ सालको जनआन्दोलनबाट पराजित भएको दक्षिणपन्थी शक्ति र तत्कालीन उग्रवामपन्थीहरूले नेपाली कांग्रेसको नेतृत्वमा भएको आर्थिक विकास तथा उन्नति यात्राको प्रस्थान पटक्कै रुचाएनन्।

अनाहक सशस्त्र हिंसाको राजनीति सुरु भयो। दृश्य र अदृश्य शक्तिको आडमा वि.सं. २०४७ सालको संविधान र संवैधानिक व्यवस्थाविरुद्ध प्रहारहरू भए। सशस्त्र द्वन्द्वका कारण देश फेरि अर्काे दलदलको भासमा फस्न पुग्यो। तत्कालीन राजा संविधानले तोकेको राजनीतिक सीमा उल्लङ्घन गर्नेतर्फ अभिप्रेरित भए। वि.सं. २०५९ पछि त तत्कालीन राजाले निरङ्कुश शासनको अभ्यास सुरु गरे। विकास र समुन्नतिको यात्रा अवरुद्ध भयो। विकासका संरचना भत्किए। लोकतन्त्रमाथि प्रहार भयो। नागरिकमा फेरि निराशा, हतासा र आक्रोश थपियो। आम नागरिकले नेपाली कांग्रेसकै नेतृत्वलाई आशाको नजरले हेर्न थाले। नागरिकको त्यो आशा, विश्वास र अपेक्षालाई सम्मान गर्दै नेपाली कांग्रेसले तात्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा वि.सं. २०६२/०६३ को जनआन्दोलन सफल गरी सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गयो।

प्रतिवेदनको यही अंशले कांग्रेससँग लामो समय सहकार्य हुन नसक्ने निचोडमा प्रचण्डलाई पुगेको उनी निकट नेताहरू दाबी गर्छन्।

‘गठबन्धन टुट्नुको मुख्य कारण कांग्रेस महासमिति बैठक हो। त्यसले ०४७ सालकै संविधान ठीक थियो, माओवादीले विध्वंस मच्चायो। उग्रपन्थीजस्ता कुरा राखेर पूर्णबहादुर खड्काले जुन प्रतिवेदन लेखे, त्यसले प्रधानमन्त्रीलाई गहिरोगरी छोयो,’ एक नेताले नेपालखबरसँग भने, ‘संविधान संशोधन गरौँ पनि भने। कतिपय संविधानका प्रावधानविरुद्ध र ०४७ कै संविधान ठीक थियो भन्ने कुरा कांग्रेस नेताबाट व्यक्त भए। उग्रपन्थीहरूले गर्दाखेरी तहसनहस भयो भन्ने कुरा राखेर जसरी उनले प्रतिवेदन लेखे, त्यो हेरिसकेपछि त नीतिगत रुपमै एक ठाउँ बस्नु हुँदैन भन्ने प्रधानमन्त्रीलाई लाग्यो।’

त्यसलाई अझै बल गगन थापाको प्रतिवेदनले दिएको ती नेताले दाबी गरे। 

‘गठबन्धनका कारण भोट घट्यो भन्ने कुरा गगनले गरेर झन् बिच्काउने काम गरे,’ उनले थपे, ‘झन् गठबन्धनकै कारण ठूलो दल बनेकोमा धन्यवाद भन्छन् भनेको त उल्टै गठबन्धनमाथि पो प्रहार गर्न थाले, त्यसले परिस्थिति निकै बिगार्दै लग्यो।’

त्यसअघि राष्ट्रिय सभाको चुनावमा आफ्नै उम्मेदवार पराजित भएकोले प्रचण्ड गठबन्धन फेर्नुपर्ने दबाबमा थिए। कोसीका नेताहरूले पटकपटकको धोकाबाट नचेतेको भनेर प्रचण्डप्रति असन्तुष्टि जनाइरहेका थिए। 

कोसीमा मुख्यमन्त्री चयनदेखि बिग्रेको सम्बन्धलाई झन् बिगार्ने काम राष्ट्रिय सभा चुनावले गर्‍यो।

त्यसमाथि फागुन ७–१० मा बसेको महासमिति बैठकका निर्णयले गठबन्धन फेर्ने निष्कर्षमा प्रचण्ड पुगे। आइतबार (फागुन २०) बेलुका एमाले, रास्वपा, जसपासहित मिलाएर नयाँ गठबन्धन गर्ने निर्णायक समझदारी जुटाएको छ। 

मन्त्रीको अटेर, देउवाको अडान
माओवादीबाट मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय विपरीत कोसीमा कांग्रेसका शेखर कोइराला पक्षीय केदार कोइरालाले एमालेसँग मिलेर मुख्यमन्त्री बने। यसले माओवादी बिच्किएको थियो। 

‘कोसीमा हामीलाई धोका दिनेलाई कांग्रेसले कारबाही पनि गरेन र स्पष्टीकरण पनि सोधेन,’ कांग्रेससँग माओवादी दूरी बढ्नुको अर्काे कारणबारे प्रचण्ड सचिवालयका एक अधिकारीले नेपालखबरसँग भने।

र, अर्काे कारण हो मन्त्री हटाउन देउवाको आनाकानी। प्रचण्डले पुस १० मै मन्त्री परिवर्तनको तयारी गरे पनि कांग्रेसकै कारण रोकिएका थिए।उनले कांग्रेसलाई ७० दिन कुरे।

‘प्रधामन्त्रीले मन्त्रीहरूको राजीनामा माग्नुभएको थियो। तर, राजीनामा माग्दा देखाइदिन्छौँ, दिन्नौँ भनेर कांग्रेसले भन्न थाल्यो,’ ती अधिकारीले दाबी गर्दै थपे, ‘खासगरी मोहन बस्नेतको राजीनामा, प्रकाश ज्वालालाई मार्गप्रशस्त गर्नुस् भन्दा देउवाले रोक्नुभयो। हुँदैन भन्नुभयो।’

प्रचण्डले मन्त्री नफेर्ने हो भने सरकार छोड्न तयार रहेको समेत देउवालाई बताइसकेका थिए। 

‘मन्त्रीले नटेर्ने, हट्न पनि नमान्ने हो भने हातखुट्टा बाँधेर काम गर्न सक्दिनँ, बरु म छोडिदिन्छु भनेर देउवालाई नै भन्नुभयो, त्यसपछि यो गठबन्धनमा सहज हुँदै भएन,’ उनले भने।

प्रचण्डले आफ्ना मन्त्रीलाई देउवाले बुढानीकण्ठबाट चलाएको महसुस गरेको पनि उनको दाबी छ।

‘मन्त्रीहरूलाई प्रधानमन्त्रीले काम लगाउँदा पनि हाम्रो सभापतिलाई सोध्नुस्, सोध्छौँ भनेर सीधासीधा भन्ने, नटेर्ने गर्न थालेका थिए। मोहन बस्नेत, प्रकाशशरण महत पनि त्यसै भन्ने। हुँदाहुँदै धनराजले पनि समस्या पार्न थालेपछि नछोडी नहुने निष्कर्षमा उहाँ पुग्नुभएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .