राजनीति


अर्थमा वर्षमानको ‘सेकेन्ड इनिङ्स’, गठबन्धनकै औचित्य पुष्टि गर्ने अवसर

अर्थमा वर्षमानको ‘सेकेन्ड इनिङ्स’, गठबन्धनकै औचित्य पुष्टि गर्ने अवसर

सागर न्यौपाने
फागुन २३, २०८० बुधबार २०:६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बनेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सल्लाहकारका भूमिका निर्वाह गरिरहेका पुनलाई एमाले–माओवादी नयाँ गठबन्धन बनेपछि महत्वपूर्ण अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

माओवादीका अब्बल व्यवस्थापकीय क्षमता भएका कूटनीतिक नेताका रुपमा चिनिने पुन दोस्रो पटक अर्थमन्त्ती बनेका हुन्।

यसअघि उनी २०६८ साल भदौ ५ गते बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए। 

त्यतिबेला उनले १८ महिना सिंहदरबारमा बिताए पनि पूर्ण बजेट भने ल्याउन पाएका थिएनन्। उनले दुई पटक पूरक बजेट ल्याएका थिए।

यसपटक भने उनले पूर्ण बजेट ल्याउन सक्नेछन्। नवनिर्मित गठबन्धनमा कुनै गडबड नभए लगभग दुई वर्ष उनी अर्थमन्त्री रहने छन्। 

अघिल्लो पटक अर्थ मन्त्रालयमा राम्रो छाप छाडेका पुनका अघिल्तिर यसपटक चुनौतीको पहाड छ। किनकि, अहिले नेपालको अर्थतन्त्रले विभिन्न समस्या झेलिरहेको छ।

१२ वर्षअघि नेपालको अर्थतन्त्र अलग अवस्थामा थियो। भर्खरै शान्ति प्रक्रिया सुरु भएकाले लगानीको वातावरण बढेको थियो। वैदेशिक लगानी बढेको थियो। निजी क्षेत्रमा अर्थतन्त्रको भविष्यलाई लिएर उत्साह थियो।

अर्थशास्त्रको विज्ञता भएका तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको साथले पनि उनलाई त्यसबेला सफल बन्न सहयोग गर्‍यो। 

तर अहिले उद्योग व्यवसाय खुम्चिएको छ। लगानी भित्रिन सकेको छैन। बैंकमा थुप्रिएको लगानीयोग्य रकम पनि उद्योग व्यवसायमा प्रवाह हुन सकेको छैन। विकास खर्च हुन सकेको छैन। 

निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतसँग प्रधानमन्त्री प्रचण्डको असहज सम्बन्ध रह्यो। कांग्रेस-माओवादी गठबन्धन भत्किनुको एउटा प्रमुख कारण पनि यही मानिएको थियो।

यस्तो प्रतिकूल स्थितिमा नवनियुक्त मन्त्री पुनले अर्थ मन्त्रालयमा आफ्नो दोस्रो पारी सुरुवात गरेका छन्। पार्टीमा पनि प्रचण्डपछि नेतृत्वमा पुग्ने प्रयास गरिरहेका उनका लागि अर्थ मन्त्रालयमा यो कार्यकालको पर्फमेन्स निकै महत्वपूर्ण हुनेछ।

त्यतिमात्र होइन, एमाले-माओवादी गठबन्धनका सूत्रधार समेत मानिएका पुनको प्रदर्शन नयाँ गठबन्धनको औचित्य पुष्टि गर्न समेत निर्णायक हुनेछ।

चौथो पटक मन्त्री 
पुन चौथो पटक मन्त्री बनेका हुन्। यसअघि पहिलो र दोस्रो पटक सरकारमा जाँदा उनले क्रमशः शान्ति तथा पुनर्निर्माण, अर्थ र उर्जामन्त्री भएर काम गरिसकेका छन्। 

२०६४ सालको संविधान सभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट विजयी भएका उनी २०६७ माघ २३ मा झलनाथ खनाल प्रधानमन्त्री हुँदा शान्ति तथा पुनर्निर्माण मन्त्री बने। तर, दुई महिनामै मन्त्रालय छोडे। 

२०६८ साल भदौ ५ गते बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनले अर्थको जिम्मेवारी पाए। 

६ वर्षअघि (२०७४ फागुन) एमाले–माओवादी गठबन्धनबाट उनी उर्जामन्त्री बनेका थिए।

त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओली थिए। ओलीले २०७७ पुस ५ गते संसद् विघटन गरे पनि उनले राजीनामा दिएका थिए।

पुनको राजनीतिक जीवन
पहिलो संविधान सभामा ललितपुर १ बाट जितेका पुन २०७० सालको दोस्रो संविधान सभा चुनावमा मोरङ–९ बाट उठे पनि पराजित भए।२०७४ को प्रतिनिधि सभा निर्वाचनमा गृहजिल्ला रोल्पाबाट निर्वाचित भए। 

माओवादीको २०७८ साल पुसमा सम्पन्न आठौँ महाधिवेशनबाट पुन उपमहासचिव निर्वाचित भएका हुन्। 

पुन रोल्पा नगरपालिका–७ माडीचौरमा २०२८ साल जेठ १८ गते जन्मिएका थिए।  सानै उमेरमा राजनीतिक उचाइ पाएका उनी अध्यक्ष प्रचण्डका निकटस्थ नेता मानिन्छन्।

२०४४ सालमा एलएलसी पास गरेका पुन थप शिक्षा आर्जन गर्न दाङ झरे। २०४५ सालमा दाङको महेन्द्र बहुमुखी क्याम्पसमा आईएल भर्ना भए।

२०४८ सालमा प्रथम श्रेणीमा आईएल पास गरेका उनी २०४९ सालमा काठमाडौँ आए र नेपाल ल क्याम्पसमा बीएल भर्ना भए। युद्धमा होमिएकाले उनले पढाइलाई निरन्तरता दिन सकेनन्।

२०५३ सालमा पुन माओवादीको रोल्पा जिल्ला सचिव भए, त्यसको केही महिनापछि बनेको रोल्पा र प्युठानको संयुक्त जिल्ला समितिमा पनि सचिव चुनिए।

पुन २०५५ सालको चौथो विस्तारित बैठकबाट माओवादीको केन्द्रीय सदस्य बने। २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनले पुनलाई वैकल्पिक पोलिटब्युरो सदस्य चुन्यो।

दुई वर्षपछि २०५९ सालमा भारतको गोवामा बसेको बैठकबाट उनी पोलिटब्युरो सदस्य बन्न सफल भए। पुनलाई २०५९ सालमा माओवादीले पूर्वी कमान्डमा पठायो। उनी जनमुक्ति सेनाको मुख्यालय इन्चार्ज बने।

माओवादीले त्यहीबेला भोजपुर र तनहुँको बन्दीपुरमा आक्रमण गरेको थियो। काठमाडौँको थानकोट, दधीकोट र साँखुको आक्रमण योजना पुनकै थियो। सिन्धुपाल्चोकको चौतारा, काभ्रेको पनौती लगायत आक्रमणमा आफैँ सहभागी थिए।

२०६२ सालको चुनावाङ बैठकपछि पुन जनमुक्ति सेनाको डेपुटी कमान्डर बने। काठमाडौँ उपत्यका र वरिपरिका जिल्ला समेटेर बनाइएको विशेष कमान्डको राजनीतिक इन्चार्ज बने।

२०६२/६३ को शान्ति प्रक्रियापछि माओवादीमा शक्तिशाली १३ सदस्यीय सचिवालय बन्यो। पुन यसको सदस्य भए। त्यसपछि माओवादीको शक्तिशाली सचिवालयमा उनी रहे।

एकीकृत माओवादीको हेटौँडा महाधिवेशनपछि विराटनगरमा राष्ट्रिय सम्मेलन भयो। उक्त सम्मेलनबाट उनी सचिव निर्वाचित भए। पछिल्लो पटक उनी पार्टीको उपमहासचिव छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .