राजनीति


कोठा नम्बर २०८ मा शिवमायाले बनाएको रणनीति, जसले दिलायो सुहाङलाई सहज जित

कोठा नम्बर २०८ मा शिवमायाले बनाएको रणनीति, जसले दिलायो सुहाङलाई सहज जित

रुपक चौलागाईं
बैशाख १८, २०८१ मंगलबार २१:११, काठमाडौँ

इलाम सदरमुकामस्थित ‘चोक बजार’ सबैजसो दलका लागि चुनावी एजेन्डा सुनाउने प्रमुख थलो बन्यो यसपालि। 

चोकबजारनजिकै छ, होटल ग्रिन भ्यु। सोही होटलको छतबाट चोकबजारका लगभग सबै गतिविधि नियाल्न सकिन्छ। 

विगत एक महिनादेखि यो होटलमा चहलपहल अत्यधिक छ। नेकपा एमालेले यही होटललाई आफ्नो चुनावी गतिविधि सञ्चालनको केन्द्र बनायो।

होटलको दोस्रो तलामा छ, कोठा नम्बर २०८। यही कोठामा एमाले नेतृ शिवमाया तुम्बाहाङ्फेले डेरा जमाएकी छन्। जसलाई अध्यक्ष केपी शर्मा ओलीले चुनाव जिताउने जिम्मा दिएर इलाम पठाएका थिए।

उनले यही कोठामा बसेर बनाएको रणनीतिले एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई इलाम २ को उपनिर्वाचन सहज रुपमा जितायो।

चुनावी कमान्डरको जिम्मेवारी लिँदैगर्दा उनलाई अध्यक्ष केपी शर्मा ओलीको स्पष्ट निर्देशन थियो– जसरी पनि चुनाव जित्नेगरी फिल्डमा लाग्नू।

अध्यक्षको निर्देशन बोकेर इलाम पुगेकी उनले सुरुकै दिनदेखि यो पटकको चुनावी माहोललाई नजिकबाट नियालिन्। 

सोही होटलमा बसेर उनले दुर्गा प्रसाईंको नो भोट अभियानदेखि गगन थापा, रवि लामिछानेसम्मका भाषण सुनिन्।

वैशाख ५ गते मंगलबारेको सभालाई सम्बोधन गर्न पुगेका ओली पनि सोही होटलको २१० नम्बर कोठामा बास बसे। जहाँ तुम्बाहाङ्फेले बेलुकी अबेरसम्म इलामको अवस्थाबारे ब्रिफिङ गरिन्।

सुहाङ पनि गाउँका सभा सकिएर भ्याएको दिन त्यहीँ बास बस्न पुग्थे। नयाँ दल र पहिचानवादी मुद्दा पेचिलो बन्दैगर्दा जित्नैपर्ने दबाबमा रहेको एमालेले सुझबुझपूर्ण ढंगले आफ्ना कदम चाल्यो। 

विशेष सभा वा कार्यक्रमभन्दा बाहेक तुम्बाहाङ्फेले होटल छाडिनन्। यही कोठाबाट बुनेको रणनीतिले कमसेकम इलाममा वामपन्थी एक भएको सन्देश गएको उनको बुझाइ छ। 

‘यो (कोठा नम्बर २०८) वामपन्थी आन्दोलनको एकताका लागि भूमिका खेल्ने कोेठा बन्न पुग्यो,’ तुम्बाहाङ्फे सुनाउँछिन्। 

उनले चुनावी अभियानको सुरुदेखि नै अन्य पार्टीविरुद्ध आक्रामक नहुने रणनीति अपनाइन्। इलाममा स्व. सुवास नेम्वाङले २५ वर्षसम्म जित हात पार्नुको मुख्य कारण उनको विनम्रता र मिजासिलो स्वभाव भएको शिवमायाको बुझाइ छ।

त्यसकारण सुवासका छोरा सुहाङलाई पनि उनले बाबुजस्तै तरिकाले प्रस्तुत हुन सुझाइरहिन्। शिवमायाले भनेजस्तै चुनाव प्रचारभर सुहाङले कुनै विवादास्पद अभिव्यक्ति दिएनन्। हरेक इलामे मतदातासामु उनले शिर झुकाएर मत मागे।

‘पार्टीको जस्तो नीति थियो, सोही अनुसार संस्कार बुझेको उम्मेदवार पाउँदा चुनावी रणनीति बनाउन पनि सहज भयो,’ उनले सुनाइन्। 

इलाम इन्चार्जसमेत रहेकी उनी आफैँ पनि कम बोल्ने, धेरै सुन्ने स्वभावकी छिन्। 

त्यसमाथि, आफ्नो उम्मेदवारलाई कुनै विवादमा पर्न नदिन शिवमायाले जथाभावी अन्तर्वार्ता नदिन समेत भनेकी थिइन्। 

त्यस्तै, होटल ग्रिन भ्युलाई कार्यकर्ता परिचालनको थलो पनि उनले बनाइन्। एमाले नेताहरू रवीन्द्र सुवेदी, कृष्ण काफ्ले, उदय राई लगायत चुनावमा खटिएका नेताहरु सकेसम्म बास बस्न त्यहीँ आइपुग्थे। जसका कारण शिवमायाले बनाएको रणनीति विपक्षीसम्म पुग्न पाएन।

फलस्वरुप, २५ वर्षदेखि निरन्तर एमालेले जित्दै आएको यो क्षेत्र जोगाउन तुम्बाहाङ्फे सफल भएकी छन्।

विशेषगरी, पार्टीभित्र टिकट वितरणका बेलामा सुनिएका असन्तुष्टिका आवाजले शिवमायालाई झस्काएको थियो। 

‘केही असन्तुष्टि सुनिन थालेका थिए, मैले ती सबैको रिपोर्टिङ यही कोठामा बसेर गरेँ र समाधान गर्न सफल पनि भएँ,’ उनले भनिन्। 

मंगलबार सुहाङ निर्वाचित भएपछिको चुनावी सभा सकिएपछि पनि उनी अझै पार्टीकै काममा व्यस्त छिन्। 

‘धन्यवाद सभा सकियो, प्रत्येक पालिकामा अब कहिले–कहिले पुग्ने भन्नेबारे सेड्युल बनाउँदैछु,’ मंगलबार दिउँसो तुम्बाहाङ्फेले सुनाइन्। 

गत चैत २२ गते इलाम पुगेकी तुम्बाहाङ्फे अझै केही दिन त्यहीँ बस्ने योजनामा छिन्।

सुहाङबाट प्रभावित शिवमाया
शिवमायाको बुझाइमा सुहाङले बुवाको विरासत मात्रै जोगाएका छैनन्, ०८४ को निर्वाचनमा पूर्वका १४ वटा जिल्लामा जानसक्ने भूकम्प रोक्न पनि सहयोगी भूमिका खेलेका छन्। 

चुनावी अभियानमा लाग्दैगर्दा सुरुदेखि नै केही अप्ठेरा आए। यो उपनिर्वाचनले नयाँ र पुराना दलहरूको काम गर्ने शैलीबारे शिवमायालाई थप ज्ञान मिलेको छ।

‘नयाँ र पुरानाको काम गर्ने शैली फरक थियो,’ उनले सुनाइन्, ‘प्रत्येक व्यक्तिसँग भेट्ने, आफ्ना कुरा राख्ने र सुन्ने परम्परागत शैली नै हामीले अपनायौँ, जुन फाइदाजनक बन्यो।’

तल्ला तहबाट स्पष्ट रिपोर्टिङ लिने र नेतृत्वलाई त्यसको ब्रिफिङ गर्ने काम शिवमायाले गरिन्। जसले सुहाङलाई ५ हजार बढी मतान्तरले चुनाव जिताउन सफल बनाएको छ। 

यो क्रममा सुहाङमा देखिएको ‘संस्कार’ले शिवमायाको मन जितेको छ। 

‘अरुलाई अत्यन्तै सम्मान गर्ने, अन्य पार्टीको उम्मेदवार भेट्दा पनि अत्यन्तै नरम बन्यो,’ उनले सुनाइन्, ‘उसको त्यही शैली हाम्रा लागि सफलताको कसी बन्यो।’

चुनावी सभामा बोल्ने क्रममा भएका कमजोरीबारे शिवमाया तुरुन्तै सुहाङलाई भन्ने गर्थिन्। सुहाङले पनि तुरुन्तै ती कुराहरू सुधार गरिहाल्थे। 

‘सम्झन सक्ने क्षमता पनि कति बलियो हौ, एक पटक भनेपछि तुरुन्तै टिपिहाल्ने,’ शिवमाया सुहाङको प्रशंसा गर्छिन्।

शिवमाया एमालेमा शीर्ष नेतृत्वले रुचाइएकी पात्र हुन्। पूर्व उपसभामुख समेत रहेकी उनी ०७४ सालमा प्रतिनिधि सभातर्फ समानुपातिक सांसदको रुपमा संसद् भवन छिरेकी थिइन्। पछि उनी उपसभामुख, कानुन र भूमि सुधार मन्त्री पनि बनेकी थिइन्।

मोरङको उर्लाबारी नगरपालिका–५ स्कुलडाँडा स्थायी ठेगाना भएकी उनी तेह्रथुमको म्याङलुङ नगरपालिका–१० माझगाउँमा विसं २०२० साल माघ ४ गते जन्मिएकी हुन्।

राजनीतिशास्त्रमा एमएसम्मको अध्ययन गरेकी उनले ‘नेपालमा राजनीतिक महिला आन्दोलन विषयमा’ विसं २०६४ मा विद्यावारिधि गरेकी थिइन्। 

नवौँ महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सदस्य बनेकी तुम्बाहाङ्फेले ०३९ र ०४२ सालमा जेल जीवन पनि बिताएकी थिइन्।

विराटनगरको डिग्री क्याम्पसमा १० वर्ष अध्यापन समेत गराएको अनुभव उनीसँग छ।

उनी कानुन व्यवसायी (अधिवक्ता) पनि हुन्।

अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने उनी एमालेमा रणनीतिक भूमिका खेल्नसक्नेमध्येकी एक नेतृ हुन्। जसको रणनीतिक चालका कारण इलाम–२ मा सुहाङले फराकिलो मतान्तरसहित एमालेको झण्डा पुनः फहराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .