नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले हालै गरेको चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन सफल भएको बताएका छन्।
चीनको दश दिने भ्रमण सकेर हालै फिर्ता भएका महासचिव गुरुङ बुधबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै थिए।
चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा गरेको भ्रमणमा चीन नेपालको शान्ति, समृद्धि र राजनीतिक स्थायित्वको लागि सधै तत्पर रहेको बताउँदै गुरुङले भने, ‘चिनियाँ उच्च अधिकारीहरुसँगको भेटले हामी उत्साहित भयौं कि चीन सधैं नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताको लागि सहयोग गर्न तयार छ।’
महासचिव गुरुङको नेतृत्वमा ३० जनाले दश दिनसम्म चिनियाँ कम्युनिस्ट पार्टी र सरकारका उच्च अधिकारीसँग भेटवार्ता गरेको बताउँदै भने, ‘उहाँहरुले नेपालमा स्थिर सरकार हेर्न चाहनुभएको छ। कम्युनिस्ट पार्टीहरुबीच सहकार्य होस् भन्ने चाहना राख्नुभएको छ।’
भ्रमणले चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धलाई जनस्तरमा पुर्याउन समेत सहयोग पुग्ने विश्वास गुरुङले गरे। भ्रमणको क्रममा चीन सरकारका अन्तर्राष्ट्रिय विभागका मन्त्री, स्कूल विभागका प्रमुखलगायत उच्च तहमा भेट भएको पनि जानकारी दिए।
एक अर्को प्रसंगमा गुरुङले अहिलेको सरकार संसदको कार्यकालसम्मै जाने दाबी गरे।
उनले भने, ‘संसदको बाँकी समयसम्म यही समीकरण जान्छ। यसमा विभिन्न खेल हुन पनि सक्छन्। तर, अहिलेको समीकरण यो संसदको बाँकी समयसम्म जान्छ।’
महासचिव गुरुङले हालै सकिएको तेस्रो लगानी सम्मेलन सफल भएको बताए। उनले देश विकासको लागि मुख्य आन्तरिक पुँजी भएपनि बाह्य पुँजी भित्र्याएर अगाडि बढ्नु पर्ने बताए।
कार्यक्रममा भ्रमण टोली सदस्य तथा माओवादी केन्द्रका युवा नेता डा. दीपेन्द्र रोकायाले नेपालको विकासको लागि चीनबाट शिक्षा लिन सकिने बताए।
Shares

प्रतिक्रिया