राजनीति


अशोक राई नेतृत्वको दलले पायो निर्वाचन आयोगको मान्यता

अशोक राई नेतृत्वको दलले पायो निर्वाचन आयोगको मान्यता

आइतबार दल दर्ताका लागि पुगेका अशोक राईलगायत नेताहरू


नेपालखबर
बैशाख २४, २०८१ सोमबार १६:५६, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा गठित जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता प्रदान गरेको छ।
आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले नयाँ दललाई दर्ता गर्ने निर्णय भएको नेपालखबरलाई जानकारी दिए।

राईसहित प्रतिनिधि सभाका ७ जना सांसदले दल दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए।

 राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार नै दलले मान्यता पाएको पाण्डेले बताए।

उनका अनुसार, राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावलीको नियम ५ बमोजिम दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको हो।

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ र प्रचलित संघीय कानुन बमोजिमका प्रावधान पालना गर्ने सर्तमा दल दर्ता गरिएको पाण्डेको भनाइ छ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपधारा (२) मा कुनै दलको केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तीमा ४०
प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाउन सक्ने र त्यसो गर्दा साविकको दलको नियन्त्रण नरहने व्यवस्था छ।

तर, २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएर केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत मात्र सदस्य भएर पनि दल विभाजन गर्न पाउने व्यवस्था गरेको थियो। एमाले र जसपा फुटेपछि उक्त अध्यादेश फिर्ता लिइएको थियो।

अध्यादेश फिर्ता लिइसकेपछि पुरानै व्यवस्था जगाउने वा नयाँ व्यवस्था प्रतिस्थापन गर्नुपर्ने प्रक्रिया भने पूरा गरिएको छैन। 

राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ मा भने नयाँ दल बनाउन सक्ने प्रावधान स्पष्ट छ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने कुनै दलको महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाका बखतको केन्द्रीय समितिको २० प्रतिशत वा सोभन्दा बढी सदस्य वा त्यस्तो दलको संघीय संसदको संसदीय दलको २० प्रतिशत वा सोभन्दा बढी सदस्यले एकैपटक ऐनको दफा ३३ को उपदफा (२) बमोजिम छुट्टै नयाँ दल बनाएमा त्यस्तो दलले मान्यता पाउने नियमावलीमा उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .