ad ad

राजनीति


घृणा र भ्रम फैलाई भयको रजाइँ गर्नेहरूको डटेर प्रतिवाद गरौँ : नागरिक आन्दोलन

घृणा र भ्रम फैलाई भयको रजाइँ गर्नेहरूको डटेर प्रतिवाद गरौँ : नागरिक आन्दोलन

कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया


नेपालखबर
जेठ १३, २०८१ आइतबार २३:५६, काठमाडौँ

सरकारले प्रेस र आलोचकप्रति अनुदार रवैया अपनाएकोमा बृहत् नागरिक आन्दोलनले आपत्ति प्रकट गरेको छ। 

संसदलाई मुठभेडको थलो बनाएको, प्रेसलाई अवाञ्छित दबाब र त्रासमा पार्न शक्तिको दुरुपयोग गरी प्रतिशोधपूर्ण गिरफ्तारीमा उत्रिएको र सामाजिक सञ्जालमा संगठितरूपमा घृणा र भ्रम फैलाई भयको रजाइँ गरिएको भन्दै त्यसको डटेर प्रतिवाद गर्न पनि आन्दोलनले आग्रह गरेको छ। 

‘प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार भने सहकारीकै बचत अपचलनको आक्षेप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गर्नुपर्ने विपक्षीको मागलाई आलटाल गर्दै संसद्लाई संवादभन्दा मुठभेडको थलो बनाउन उद्यत हुनु आपत्तिजनक छ,’ बृहत् नागरिक आन्दोलनका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय मुद्दाहरू सम्बोधन गर्नबाट संसद्लाई विमुख गर्ने, यसलाई अक्षम र अवरोधक बनाउने कुनै पनि गतिविधिप्रति सावधान रहन सत्ता पक्ष र विपक्ष सबैलाई हामी सचेत बनाउन चाहन्छौं।’ 

यही अवस्थामा आफ्नो भूमिकाप्रति निरन्तर प्रश्न गर्दै आएको कान्तिपुरका प्रकाशकलाई मन्त्री लामिछानेले प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको विज्ञप्तिमा लेखिएको छ। ‘पहिले समात अनि प्रमाण जुटाऊ शैलीमा गरेको गिरफ्तारीबाट प्रतिशोध साँध्न सरकारी शक्ति दुरुपयोग गरेको प्रस्ट हुन्छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘प्रेसलाई अवाञ्छित दबाब र त्रासमा पार्न प्रकाशक कैलाश सिरोहियामाथि प्रहरी कारबाही भएको भन्ने राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकारवालाहरूको ध्यानाकर्षणप्रति सरकारको उदासीनताले हाम्रो सन्देह बढाएको छ। साथसाथै, सामाजिक सञ्जालमार्फत व्यक्ति र संस्थाहरूविरुद्ध संगठित तवरले जारी घृणा र भ्रम फैलाई भयको रजाइँ गर्नेहरुबाट निरुत्साहित नभै, बरु त्यस्ता चेष्टालाई उदाङ्ग पार्दै, सही, तथ्यपूर्ण र खोज पत्रकारिताको बढ्दो सान्दर्भिकताबीच थप कर्तव्यनिष्ठ हुन समुदायसँग हामी हार्दिक आव्हान गर्दछौं।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .